काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

पर्वतारोहण

आरोहीलाई सकुशल चुचुरो पुर्‍याउने र फर्काउने चुनौतीपूर्ण व्यवसाय पर्वतारोहणमा नेपाली कम्पनीको वर्चश्व

२८ बैशाख २०८३
एभरेस्ट बेस क्याम्प। तस्बिर : बिक्रम राई
अ+
अ-

आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गरेका पहिलो नेपाली हुन्, मिङ्मा शेर्पा (४७)। डेढ दशकयता उनी संसारभरका आरोहीहरूलाई हिमाल चढाउने काम गरिरहेका छन्। चार दाजुभाइ मिलेर मिङ्माले सन् २००९ मा स्थापना गरेको सेभेन समिट ट्रेक्स कम्पनीले नेपाल मात्र नभएर पाकिस्तान र तिब्बत (चीन)मा समेत पर्वतारोहणअन्तर्गत गाइडिङदेखि बन्दोबस्तीको व्यवस्था र आरोहीको सुरक्षासम्मका सम्पूर्ण प्याकेजको काम गर्छ।

यो चुनौतीपूर्ण र साहसिक काममा मिङ्माको कम्पनीलाई भ्याइनभ्याइ हुन्छ। “हिमाल चढ्ने धेरै मानिस पहिले विदेशी कम्पनीको सम्पर्क पुग्थे, अहिले सिधै हामीसँग आउँछन्,” उनी भन्छन्, “विदेशी कम्पनीको सम्पर्कबाट पनि आउनेहरू नभएका होइनन्, तर त्यो संख्या सानो छ।”

२०२६ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न २४ वैशाखसम्म ४९२ जनाले अनुमति लिएका छन्। तीमध्ये ८५ जना सेभेन समिटमार्फत आरोहण गर्दै छन्।

सेभेन समिट मात्रै होइन, एसियन ट्रेकिङ, फोट्टिन पिक, एट्-के, इलाइट, पायोनियरलगायत नेपाली कम्पनीहरू पर्वतारोहणमा प्रमुख मानिन्छन्। नेपालमा हिमालको व्यावसायिक आरोहण सुरु भएको सन् १९९० को दशकदेखि २०१० सम्म भने पर्वतारोहणमा विदेशी कम्पनीहरूको वर्चस्व थियो। जसमा न्युजिल्यान्डको एड्भेन्चर कन्सल्टेन्ट्स र हिमालयन एक्सपेरियन्स (हिमेक्स), अमेरिकाको एल्पाइन एसेन्ट्स इन्टरनेसनल, इन्टरनेसनल माउन्टेन गाइड्स र बेलायतको ज्याग्ड ग्लोब प्रमुख थिए। त्यस बखत नेपालीहरू ती कम्पनीको कर्मचारी भएर काम गर्थे।

एभरेस्ट बेस क्याम्प। तस्बिर : बिक्रम राई

एक दशकअघि विदेशी कम्पनीको नियन्त्रणमा रहेको सगरमाथा आरोहण अर्थतन्त्र अहिले नेपाली कम्पनीहरूको हातमा पुगेको छ। पर्वतारोहणका लागि नेपाली कम्पनीहरूसँगको समन्वय कानुनले अनिवार्य गरे पनि व्यवहारमा भने विदेशी कम्पनीको वर्चस्व थियो। विदेशी कम्पनीहरूले पर्वतारोहणको योजना बनाउँथे, अभियान चलाउँथे र निर्णय लिन्थे। “अहिले सगरमाथा चढ्ने आएकामध्ये १०० जति विदेशी कम्पनीको सम्पर्कबाट आएका होलान्। अन्य भने नेपाली कम्पनीको सिधै सम्पर्कबाट आएका हुन्,” मिङ्मा भन्छन्।

पहिले नेपाली कम्पनीहरूको भूमिका बस्दोबस्तीदेखि शिखरसम्म पुर्‍याइदिने भरियाका रूपमा हुन्थ्यो। पर्वतारोही विदेशी कम्पनीकै सम्पर्कमा पुग्थे। त्यस समयमा नेपालमा ठूला कम्पनीहरू स्थापना भएका थिएनन् र त्यसअनुसारको जनशक्ति पनि थिएन।

हिमाल र शेर्पाहरूको बारेमा अध्ययन गरेकी मेधावी गुलाटी सगरमाथा आरोहण अर्थतन्त्रको ९० प्रतिशत हिस्सा नेपाली कम्पनीहरूको नियन्त्रणमा रहेको बताउँछिन्। “एक दशकअघिको तुलनामा अहिले सगरमाथाको पर्वतारोहण अर्थतन्त्रको ८० देखि ९० प्रतिशत हिस्सा नेपाली कम्पनीहरूको नियन्त्रणमा छ,” गुलाटी भन्छिन्, “विगतमा अन्तर्राष्ट्रिय सञ्चालकहरूको वर्चस्व रहेको यस क्षेत्रमा अहिले नेपाली सञ्चालकहरूले महत्त्वपूर्ण आर्थिक शक्ति प्राप्त गरेका छन् र विदेशी कम्पनीहरू बिस्तारै बाहिरिँदै गएका छन्।”

पर्वतारोहीको अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनीहरूलाई प्रवेश गराउने काम भने एसियन ट्रेकिङले गरेको हो। यस कम्पनीको स्थापना नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले सन् २००६ मा गरेका थिए।

भरिया, सरदार हुँदै व्यवसायी

२०औँ शताब्दीको सुरुकै दशकबाट आठ हजार मिटर अग्ला हिमाल आरोहणको प्रयास भए पनि सफल हुन भने तीन दशकभन्दा बढी लाग्यो। पहिलो हिमाल आरोहणलाई राष्ट्रिय प्रतिष्ठानको विषयका रूपमा लिइन्थ्यो। त्यसैगरी, व्यक्तिभन्दा पनि देशको सहभागिता हुन्थ्यो। नेपालले पनि एउटा सिजनमा एउटा रूटबाट एउटा मात्रै टोलीलाई आरोहणको अनुमति दिन्थ्यो। सन् १९९० को दशकको सुरुमा नेपालले पर्वतारोहणसम्बन्धी उदार नीति लियो। त्यसपछि व्यावसायिक कम्पनीहरू आरोहण गराउन सुरु गरे।

विल ककरेलको सगरमाथाको व्यावसायिक आरोहणसम्बन्धी पुस्तक एभरेस्ट, इन्कका अनुसार व्यावसायिक आरोहणको बीजारोपण सन् १९८५ मा अमेरिकी व्यवसायी डिक बासको सफलताबाट भएको थियो। ५५ वर्षको उमेरमा सगरमाथा चढेर सातवटै महादेशका अग्ला हिमाल (सेभेन समिट) चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएपछि बासले व्यावसायिक सहयोग भएमा एक ‘साधारण व्यक्ति’ ले पनि संसारको सर्वोच्च शिखर चढ्न सक्छ भनेर प्रमाणित गरे। ‘यसले गर्दा धनाढ्य र साहसी व्यक्तिहरूमा सगरमाथा चढ्ने ठूलो चाहना जाग्यो र गाइडहरूका लागि व्यवसायको नयाँ ढोका खुल्यो,’ ककरेलको पुस्तकमा उल्लेख छ।

यसैगरी, ३० वैशाख २०४९ दुई कम्पनीले इतिहास रचे। ‘एडभेन्चर कन्सल्टेन्ट्सले आफ्ना ६ जना ग्राहकलाई शिखरमा पुर्‍यायो … केही मिनेटपछि एल्पाइन एसेन्ट्स इन्टरनेसनल (एएआई)का हर्नर, बोवेन र तेजसले शिखरमा पाइला टेके। व्यावसायिक रूपमा निर्देशित सगरमाथा आरोहणका यी पहिलो दुई सफल अभियान एकैसाथ भएका थिए,’ पुस्तकमा लेखिएको छ। एडभेन्चर कन्सल्टेन्ट्स न्युजिल्यान्डको र एएआई अमेरिकाको कम्पनी थियो।

एभरेस्ट बेस क्याम्प। तस्बिर : बिक्रम राई

सन् १९९६ मा सगरमाथामा ठूलो दुर्घटना भयो। उक्त वर्षको ११ मेमा आरोहणका क्रममा हिमपहिरो खस्दा प्रसिद्ध गाइडहरू रोब हल र स्कट फिसरसहित आठ जनाको मृत्यु भएको थियो। सो घटनापछि धेरैले सगरमाथा आरोहणको आकर्षण घट्ने अनुमान गरेका थिए, तर यथार्थमा उल्टो भयो। दुर्घटनाको खबर र त्यसपछि आएका पुस्तकहरूले गर्दा सगरमाथा आरोहणको व्यवसाय अस्वाभाविक विस्तार भयो। जोखिमको सम्भावनाले नै मानिसहरूलाई आरोहणतर्फ झन् आकर्षित गर्‍यो। सन् १९९६ लाई सगरमाथाको इतिहासकै सबैभन्दा ठूलो मार्केटिङ मानिन्छ, जसले गर्दा गाइड कम्पनीहरूको बुकिङ ह्वात्तै बढ्यो। ‘वर्ष १९९६ सगरमाथाको मार्केटिङमध्ये सबैभन्दा उत्कृष्ट भयो,’ पुस्तकमा लेखिएको छ।

दुर्घटनापछि शेर्पाहरूले गर्ने जोखिमपूर्ण काम र उनीहरूको योगदानबारे विश्वव्यापी बहस सुरु भयो। पश्चिमाहरूका लागि ‘हिरोइज्म’ को विषय बनेको आरोहण शेर्पाहरूका लागि ज्यान जोखिममा राखेर गरिने रोजगारी हो भन्ने यथार्थले बिस्तारै प्राथमिकता पाउन थाल्यो। उनीहरूको जोखिमबारे चर्चा भएपछि भूमिका पनि निकै बढ्यो।

सन् १९५३ मा सगरमाथामा पहिलो पटक मानव पाइला परेपछि (एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा) सन् १९९२ सम्मको चार दशकमा ३९४ जनाले गैरव्यावसायिक तवरमा सर्वोच्च शिखरको आरोहण गरेका थिए। सन् १९९२ मा मात्रै नेपालका हिमालमा व्यावसायिक पर्वतारोहण सुरु भएको थियो। हिमालयन डेटाबेसका अनुसार अहिलेसम्म सगरमाथा आरोहण गर्नेको कुल संख्या १३ हजार ७५२ छ, जसमध्ये नेपालबाट नौ हजार ८९० जनाले आरोहण गरेका हुन् भने बाँकीले चीनतर्फबाट चढेका हुन्। सगरमाथा आरोहण गर्ने ९० प्रतिशत आरोही व्यावसायिक कम्पनीमार्फत पुगेका हुन्।

पछिल्लो समय सगरमाथा आरोहण एउटा ठूलो व्यापार बन्न पुगेको छ। केही नेपाली कम्पनीले १७ हजारदेखि २५ हजार अमेरिकी डलरमा सगरमाथा आरोहण गराउँछन् भने स्थापित पश्चिमा र नेपाली कम्पनीहरूले ५० हजारदेखि एक लाख डलरसम्म शुल्क लिन्छन्। सेभेन समिट ट्रेक्स जस्ता कम्पनीहरूले तीन लाख डलर (करिब चार करोड नेपाली रुपैयाँ) सम्मका महँगा प्याकेज उपलब्ध गराउँछन्।

पर्वतारोहण व्यवसायको त्यो घुम्ती

सन् २०१३ को ‘एभरेस्ट फाइट’ र सन् २०१४ को हिमपहिरोपछिको हडतालले शेर्पाहरू आफ्नो अधिकारका लागि लड्न सक्षम छन् भन्ने सन्देश दियो। हिमालमा डोरी टाँग्नेदेखि लिएर सम्पूर्ण बन्दोबस्ती ओसार्ने काममा अहिले शेर्पाहरूको पूर्ण नियन्त्रण छ र पश्चिमा गाइडहरूसमेत उनीहरूले गर्ने निर्णयमा निर्भर हुनुपर्ने अवस्था छ। “पछिल्लो समयमा धेरै शेर्पाले पर्वतारोहणलाई व्यवसाय बनाएका छन्, यसमा उनीहरूकै प्रभाव छ,” शेर्पा पुस्तकका सहलेखक अंकितबाबु अधिकारी भन्छन्, “हिमाली क्षेत्रमा जाँदा अन्य शेर्पाहरू पनि फलानो शेर्पाको कम्पनीमा काम गर्छु भनेर गर्वका साथ भन्छन्।”

सन् २०१३ को ‘एभरेस्ट फाइट’ सगरमाथाको विवादको घटना थियो। क्याम्प टुमा तीन जना युरोपेली आरोही र शेर्पा डोरी टाँस्ने टोलीबीच भएको थियो। व्यावसायिक आरोहण कम्पनीहरूका लागि काम गर्ने शेर्पाहरूको टोली लोत्से फेसमा ‘फिक्स्ड रोप’ (डोरी) टाँस्ने काम गरिरहेको थियो। त्यही समयमा युरोपका तीन आरोही त्यही बाटो भएर माथि जाँदै थिए। शेर्पाहरूले उनीहरूलाई माथि नजान आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै उनीहरू चढे। त्यस क्रममा बरफ खसेर शेर्पाहरूलाई लाग्यो। त्यही विषयमा दुवै पक्षबीच भनाभन भएको थियो। युरोपेली आरोहीले दुर्वचन प्रयोग गरेपछि शेर्पाहरूले उनीहरूको टेन्टमा आक्रमण गरेका थिए।

एभरेस्ट, इन्क पुस्तकमा लेखिएको छ, ‘यो झगडा एउटा गाली वा डोरी टाँस्ने विवाद मात्र थिएन। त्यो समयसम्म शेर्पाहरूले सगरमाथा आरोहण उद्योगमा आफ्नो स्वामित्व र नियन्त्रण बढिरहेको महसुस गरिरहेका थिए। उनीहरू आफूलाई विदेशी आरोहीहरूले हेप्ने गरेको महसुस गर्थे र यो घटना उनीहरूले आफ्नो आत्मसम्मान र अधिकारका लागि गरेको एउटा ठूलो विद्रोह जस्तो थियो।’

घटनापछि एउटा लिखित सम्झौता भयो र युरोपेली आरोहीहरू आफ्नो आरोहण रद्द गरेर फर्किए। ‘यस घटनाले सगरमाथामा पश्चिमा आरोही र स्थानीय शेर्पाहरूबीचको शक्ति सन्तुलन परिवर्तन भइरहेको संकेत गरेको थियो,’ पुस्तकमा भनिएको छ।सुरुआती समय (१९२०–१९९० को दशक)मा शेर्पाहरूलाई पश्चिमा आरोहीहरूले ‘भरिया’ वा ‘कुक बोई’ जस्ता अपमानजनक शब्दले सम्बोधन गर्थे। शेर्पाहरू आरोहीहरूको निर्देशन मान्थे, तर समयसँगै उनीहरू भारी बोक्ने काममा मात्र सीमित रहेनन्। सन् १९९० को दशकमा व्यावसायिक आरोहणको सुरुआतसँगै शेर्पाहरू ‘सरदार’ जस्तो व्यवस्थापकीय पदमा पुगे र पश्चिमा गाइडहरूसँगै टोलीको नेतृत्व गर्न थाले।

सन् २०१४ मा सगरमाथामा हिमपहिरो गयो। त्यसपछि हिमालमा काम गर्नेहरूले आर्थिक सुरक्षासहितका १३ बुँदे माग राखे। “सन् २०१४ को हिमपहिरोपछिको अवस्था र त्यसपछि राखिएको १३ बुँदे मागले यस क्षेत्रमा शक्ति सन्तुलन पूर्ण रूपमा परिवर्तन गरिदियो,” गुलाटी भन्छिन्, “यस घटनापछि स्थानीय एजेन्सीहरूले विदेशी कम्पनीहरूसँग आक्रामक रूपमा प्रतिस्पर्धा गर्न थाले र पर्वतारोहणमा आफ्नो स्थान पुनः कायम गरे।”

गुलाटी दक्षता र प्राविधिक शिक्षाले शेर्पाहरूलाई यस क्षेत्रमा स्थापित गर्न सहयोग गरेको बताउँछिन्। “हुम्दे र फोर्त्से जस्ता स्थानमा स्थापना भएका पर्वतारोहण स्कुलहरूले शेर्पाहरूको नयाँ पुस्तालाई उच्च दक्ष र प्राविधिक आरोहीका रूपमा तयार पारे,” उनी भन्छिन्, “यसले गर्दा उनीहरू आफ्नो कामप्रति थप सचेत र व्यावसायिक बनेका छन्।”

नाम्चे बजार। तस्बिर : बिक्रम राई

अर्को महत्त्वपूर्ण पक्ष, पर्वतारोहणमा विदेशी कम्पनीको तुलनामा नेपाली कम्पनीले सस्तो प्याकेज बेच्छन्। पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार नेपाली कम्पनीले मात्र आरोहण गराउन सक्ने व्यवस्था छ। तर, व्यवहारमा विदेशी कम्पनीहरूले प्याकेज बेच्ने र उनीहरूले नेपाली कम्पनीहरूमार्फत आरोहण गराउने अभ्यास पनि छ। त्यस्तो प्याकेज विदेशी कम्पनीसँग नभई सोझै नेपाली कम्पनीसँग किन्दा सस्तो पर्छ। गुलाटी भन्छिन्, “विदेशी कम्पनीहरूको तुलनामा सस्तो मूल्यमा ‘समिट प्याकेज’ उपलब्ध गराएर बजारमा आफ्नो प्रभाव जमाए, जसले गर्दा भारतीय र चिनियाँ ग्राहकहरू ठूलो संख्यामा उनीहरूतर्फ आकर्षित भए।” २५ वैशाखसम्म सगरमाथा आरोहणका लागि अनुमति पाएका ४९२ मध्ये १०९ जना चिनियाँ र ६१ जना भारतीय नागरिक छन्।

विश्वव्यापी रूपमा बनेको शेर्पाको ब्रान्ड, उनीहरूले बनाएको कीर्तिमान, क्षमतामा गरेको विकास चीन र भारत जस्ता देश आर्थिक रूपमा सक्षम हुँदा नेपालीहरूको स्वामित्वमा पर्वतारोहण व्यवसाय नियन्त्रणमा आएको हो।

आरोहणको तीव्र व्यवसायीकरणको आलोचना पनि उत्तिकै छ। खासगरी, सगरमाथा चढ्न अत्यधिक मानिस त्यस क्षेत्रमा जाँदा वातावरण बिग्रेको भन्दै आलोचना हुने गरेको छ। सगरमाथालाई आराम दिनुपर्ने माग पनि समय समयमा उठ्ने गरेको छ। अर्कातर्फ, सगरमाथामा आरोहीहरूको अति भिड हुँदा आरोहणका लागि समय कुर्नुपर्ने अवस्था रहेको बताइने गरेको छ।

त्यस्तै, पर्वतारोहण व्यवसायमा व्यापक शोषण रहेको गुलाटी बताउँछिन्। न्यून तहका कर्मचारीहरू जस्तै: किचन बोई, भरियाहरू, खास कामका लागि नियुक्त सहायक गाइडहरूलाई समयमै भुक्तानी नदिने गरेको उनी बताउँछिन्।

लेखक अधिकारी आरोहण व्यवसाय अधिक व्यापारिक र नेपालीको स्वामित्वमा पुग्दा सुरक्षासम्बन्धी चुनौती देख्छन्। “बजारमा प्रतिस्पर्धाका कारण सस्तोमा आरोहण गराउने होडबाजी छ,” उनी भन्छन्, “आरोहणलाई सस्तो बनाउने क्रममा सुरक्षाका महत्त्वपूर्ण पक्ष र मापदण्डमा सम्झौता हुने गरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम बढ्छ।”

उनी नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा र गुणस्तर कायम राख्न सक्छन् कि सक्दैनन् भन्नेमा चिन्ता व्यक्त गर्छन्। “सुरक्षा र गुणस्तरमा ध्यान नदिएकै कारण कुनै ठूलो दुर्घटना भएमा त्यसले एउटा कम्पनीको मात्र नभई देशकै बेइज्जती गराउन सक्छ,” उनी भन्छन्, “त्यस्तो अवस्थामा अहिले नेपाली कम्पनीहरूले प्राप्त गरेको विश्वास र बजार विदेशी कम्पनीहरूकै पोल्टोमा पुग्ने जोखिम रहन्छ।” उनी कम्पनीहरूले आफ्नो साख जोगाइराख्न हरेक कदममा ‘चेक एन्ड ब्यालेन्स’ गर्नुपर्ने बताउँछन्।