काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

सुरक्षा

मधेस प्रदेशमा सेटिङमा तस्करीदेखि असुलीका घटनासम्ममा प्रहरी कर्मचारीको संलग्नता

२८ बैशाख २०८३
मधेस प्रदेश प्रहरी कार्यालय। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम गत वैशाख पहिलो साता धनुषाका प्रहरी र व्यापारीबीचको एक अडियो संवाद बाहिरियो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नाममा घुमुवा प्रहरीले व्यापारीहरूसँग तस्करी सलामी दस्तुर असुलेको कुरा अडियोमा थियो।

अडियो सार्वजनिक भएपछि आर्थिक लेनदेनको विवादबारे मधेस प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबीचमा तिक्तता बढ्यो। अडियो संवादमा प्रदेश प्रहरी प्रमुख थपलियाको नाममा पैसा उठाइएको भनिए पनि घटनाले अर्कै मोड दियो।

यसबारे मधेस प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानकै आधारमा जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागरशमशेर राणालाई निलम्बन गर्‍यो। राणाले एक व्यवसायीसँग आफैँ फोन गरी बनावटी कथा रचेर अडियो बनाई सञ्चारमाध्यममार्फत प्रसारण गर्न लगाएको र प्रहरी संगठनलाई नै बदनाम गर्ने गरी आचरणविपरीत कार्य गरेको ७ वैशाखमा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साउन २०८२ मा सर्लाहीको हिरापुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) वैद्यनाथ दासले तस्करसँग १८ हजार रुपैयाँ मागेको अडियो सामाजिक सञ्जालमा भाइरल भयो। अडियो सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले २ साउनमा सई दासलाई निलम्बन गर्‍यो।

पूर्व-पश्चिम राजमार्गमा जिप चालकसँग घुस लिएको आरोपमा २० साउन २०८० मा रौतहट र सर्लाहीका दुई प्रहरी निलम्बनमा परे। रकम लिएको भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडाअन्तर्गतको प्रहरी चौकी, हर्षाहाका प्रहरी जवान सुनीलकुमार यादव र प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैयाअन्तर्गतको बागमती पोस्ट, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान विकास कलवारलाई निलम्बन गरिएको थियो।

सिरहामा मदिरा चोरेको आरोपमा १७ जेठ २०७८ मा इलाका प्रहरी लहानका असई नवलकिशोर ठाकुर तथा प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परे। उक्त वर्षको ९ जेठमा लहान नगरपालिका-२३, गढिया चोकमा रहेको एसके होटलमा तीनै जनाले रक्सी चोरेको भिडिओ सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले उनीहरूलाई निलम्बन गरेको थियो। निषेधाज्ञाको बेला होहल्ला नियन्त्रण गर्न खटिएको प्रहरी टोली पुग्नासाथ होटल सञ्चालक भागेपछि उनीहरूले विभिन्न ब्रान्डका रक्सी लिएर निस्केको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

मधेस प्रदेश प्रहरी कार्यालय। तस्बिर : वीरेन्द्र रमण

यी त केही प्रतिनिधि घटना मात्र हुन्। कानुनविपरीतका कार्य गर्ने र अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउने जिम्मेवारी बोकेका प्रहरीहरू आफैँ गैरकानुनी कार्यमा जोडिने गरेका धेरै घटना छन्। जसमा आर्थिक अपराधदेखि फौजदारी अपराधसम्म छन्।

संगठनको आचरणविपरीत कार्य गरेको आरोपमा धेरै प्रहरी विभागीय कारबाहीमा पर्ने गरेका छन्। त्यसमा पनि तराई मधेसका सीमावर्ती क्षेत्रमा खटिने प्रहरीहरू तस्करसँगको साँठगाँठ र लेनदेनको विषयमा मुछिने गरेका छन्। सीमावर्ती जिल्लाका प्रहरी चौकीहरूमा तस्करहरूको सहज पहुँच हुनाले सेटिङमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको छ। यस्ता कतिपय घटना सार्वजनिक हुँदा जनमानसमा प्रहरीको छवि धमिलिने गरेको छ।

शान्ति-सुरक्षाको व्यवस्था र अपराध नियन्त्रणको दायित्व पाएका प्रहरीहरू पदीय जिम्मेवारीबाट विमुख हुँदा संगठनको व्यावसायिक आचरण विपरीतका घटना मौलाउँदै गएको सुरक्षाका जानकारहरू बताउँछन्। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्नेमा त्यसमा कमजोरी हुँदा यस खालका घटना हुने गरेको बताउँछन्। “प्रत्येक प्रहरी कर्मचारीले आफ्नो पदअनुसारको काम, कर्तव्य र जिम्मेवारी बोध गरेर तथा संगठनको गरिमा उच्च राख्ने गरी काम गर्नुपर्छ। तर, त्यो बाटो बिराउँदा कतिपय कर्मचारी गलत कार्यमा जोडिएका घटना आउने गरेका छन्,” उनी भन्छन्।

मधेसमा ६ वर्षमा १४ सयलाई कारबाही

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मधेस प्रदेशमा आर्थिक वर्ष २०७७/७८ देखि चालु आव २०८२/८३ को चैतसम्म एक हजार ४४९ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। यसमध्ये प्रहरी जवानको संख्या सबैभन्दा धेरै छ।

आव २०७७/७८ मा १९१, आव २०७८/७९ मा २१९, आव २०७९/८० मा २९८, आव २०८०/८१ मा २३५, आव २०८१/८२ मा ३२२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। चालु आव २०८२/८३ को चैतसम्म मात्रै १८४ जना प्रहरीलाई कारबाही गरिएको प्रहरी मुख्यालयको तथ्यांक छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी गोविन्द थपलिया प्रहरी पनि यसै समाजको भएकाले  कमजोरीका घटना हुने गरेको बताउँछन्। प्रहरी कर्मचारी कहीँ चुकेमा सिंगो संगठनकै बदनामी हुने भएकाले व्यावसायिक आचरणप्रति गम्भीर बन्नुपर्ने उनको भनाइ छ। “सबैले आआफ्नो व्यावसायिक धर्म र मर्यादा पालना गर्नुपर्छ। नागरिकलाई केन्द्रमा राखेर शान्ति-सुरक्षाको आकांक्षा पूरा गर्न प्रहरी क्रियाशील हुनुपर्छ,” उनी भन्छन्।

उनी प्रहरीलाई जिम्मेवार र व्यावसायिक बनाउन अहिले शुद्धीकरण अभियानसमेत चलाइएको र यसअन्तर्गत गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्ने नीति लिएको बताउँछन्। भन्छन्, “प्रहरी संगठनलाई जनताको साथी बनाउन निरन्तर कामहरू गर्दै जाने हाम्रो योजना छ।”