इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो घटना लक्की मारवत जिल्लामा भएको थियो।
उक्त क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले बताको छ। विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले आक्रमण स्थलमा ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएको स्रोतले जनाएको छ।
अनुसन्धानका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको जनाइएको छ भने, विस्फोट पछि बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विस्फोटको प्रकृति निर्धारण भइरहेको छ।
घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ, भने अहिलेसम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन।