वीरेन्द्रनगर। सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएको छ। ग्यास अभावसँगै उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ।
भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत ग्यास सुर्खेतमा आउने गरे पनि पछिल्लो समय यहाँ लाइनमा लागेर पनि उपभोक्ताले सहजै रूपमा ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको छ।
निरन्तर चार दिनसम्म धाएर पनि आफूले ग्यास पाउन नसकेको स्थानीय उपभोक्ता शर्मिला बुढाले बताइन्। “ग्यास लिन राति २ बजेदेखि लाइनमा लागे पनि पाउन सकिएन‚” उनले भनिन्‚ “यहाँ त पहुँच र पावर भएकाले मात्र ग्यास पाउने गरेका छन्।” एउटा भरी सिलिन्डर दुई हजार ६० रुपैयाँ पर्ने भए पनि व्यापारीहरूले दुई हजार ४०० रुपैयाँसम्म बिक्री गर्ने गरेको र त्यही मूल्यमा पनि ग्यास पाउन पनि धौ-धौ भएको उनको भनाइ छ।
ग्यास अभावबारे प्रशासनलगायत सरोकारवाला निकायको टिप्पणी र आलोचना भएपछि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की नेतृत्वमा नेपाल आयल निगम, उद्योग वाणिज्य, उपभोक्ता हित मञ्च, राजनीतिकर्मी तथा पत्रकार सञ्चारकर्मीहरूको टोलीले अभावको वास्तविकताका सम्बन्धमा भेरी ग्यासलगायत कम्पनी तथा डिलरहरूमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बजारमा ग्यासको माग उच्च तथा आपूर्ति निकै कम भएपछि यसको अभाव भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए। उनले भने, “यहाँ विभिन्न ग्यास प्रयोग हुने गरे पनि अहिले उपभोक्ताका लागि भेरी ग्यासले मात्र वितरण गरिरहेको छ। आज मात्र एक हजार १०० सिलिन्डर ग्यास आएको छ। भोलि एक हजार ८०० सिलिन्डर ग्यास आउँदै छ। प्रहरी प्रशासनको निगरानीमा कोही नदोहोरिने गरी सहज तरिकाले उपभोक्ताले पाउने वातावरण हामी बनाउँछौँ।”
सुर्खेतमा खास कति सिलिन्डर उपभोक्तालाई चाहिन्छ त भन्ने यकिन तथ्यांक नहुँदा वितरण व्यवस्थित हुन नसकेको कार्कीले जनाए। कम्पनीबाट दुई हजार ६० रुपैयाँमा खरिद गरी उपभोक्तालाई दुई हजार ४०० रुपैयाँमा ग्यास बिक्री गर्ने आरसी सप्लायर्सलगायत सुर्खेतका रिटेलरहरूबाट अतिरिक्त लिइएको रकम फिर्ता गर्न लगाइएको पनि सहायक प्रजिअ कार्कीले बताए। -रासस