फिल्म समीक्षा
अर्को पत्रमा अर्को एउटा ‘अब्स्ट्र्याक्ट पर्सोना’ पनि छ जहाँ गुस्ताव बोर्ग र बर्गम्यानभित्रका दुई फिल्ममेकरको क्लोजअप-मर्जअप देखिन्छ। र, त्योभन्दा अझै भित्र अर्को एउटा पत्र छ जहाँ यो फिल्म आफैँमा एउटा ‘पर्सोना’ हो।
सेन्टिमेन्टल भ्यालु आफैँमा फिल्म होइन। तर, हो पनि! यो सेन्टिमेन्टल भ्यालुको समीक्षा होइन। तर, हो पनि।
अलिकति ‘सेन्टिमेन्टल’ भइछु कि! ‘इङ्ग्मार बर्गम्यान’ लाई चिन्नुहुन्छ भने सेन्टिमेन्टल भ्यालु हेरिसकेपछि तपाईंलाई पनि मलाई जस्तै हल्का सेन्टिमेन्टल कसे नबनाउला!
त्यसै त यसले ९८औँ अस्कर अवार्डमा इन्टरनेसनलतर्फ ‘बेस्ट फिचर’ पक्कै जितेन।
अँ, म भन्दै थिएँ, यो फिल्म त हो, तर फिल्मभन्दा बढी ‘पर्सोना’ हो बर्गम्यानको! र, यो लेख पनि समीक्षा त हो, तर समीक्षाभन्दा बढी अनुभूति हो। सेन्टिमेन्टल भ्यालुको संसारभित्र बर्गम्यानको आत्मासँग भेट हुँदाको अनुभूति। आउनुस्, अब यो फिल्मभित्र उनै स्विडिस फिल्ममेकर इङ्ग्मार बर्गम्यानलाई खोजी हेरौँ।
नाममा केही त पक्कै हुन्छ!
जोकिम ट्राइर निर्देशित सेन्टिमेन्टल भ्यालुमा पनि एउटा मुख्य पात्र स्विडिस फिल्ममेकर नै छ- गुस्ताव बोर्ग! गुस्ताव बोर्गको ‘बोर्ग’ ले बर्गम्यान कत्तिको सम्झायो तपाईंलाई? त्यसो त बोर्ग आफैँमा बर्गम्यानको बर्ग जस्तै सुनिन्छ। त्योभन्दा बढी, बर्गम्यान आफैँले पनि आफ्ना कतिपय फिल्मका पात्रहरूलाई यो नाम दिएका छन्। जस्तो, वाइल्ड स्ट्रबेरिज (१९५७) मा इसाक बोर्ग छन्। आवर अफ् द उल्फ (१९६८) मा त झन् दुई जना बोर्ग भेटिन्छन्- अल्मा बोर्ग र योहान बोर्ग।

स्विडिस फिल्ममेकर इङ्ग्मार बर्गम्यान।
अब गुस्तावतिर जाऔँ। बर्गम्यानका फिल्महरू हेर्नुभएको छ वा अरू कुनै नहेरेर पर्सोना मात्रै पनि हेर्नुभएको छ भने त ‘बोर्ग’ अगाडिको ‘गुस्ताव’ ले समेत तपाईंलाई बर्गम्यान नै सम्झाउनेछ। यो फिल्म हेर्नेले बर्गम्यानमा मनोवैज्ञानिक कार्ल गुस्ताव यङको प्रभाव कति थियो सजिलै अन्दाज लगाउन सक्छन्।
अरू नाममा पनि केही न त केही त राखेकै छ। जस्तो– गुस्तावकी आमाको नाम र बर्गम्यानको आमाको नाम एउटै छ– करिन। त्यसो त प्राय: आफ्नै जीवनमा आधारित फिल्म बनाउने बर्गम्यानले यो नाम आफ्ना थुप्रै फिल्मका पात्रहरूलाई दिएका छन्। जस्तो, थ्रु अ ग्लास डार्क्ली (१९६१) मा करिन छे, वेटिङ वुमन (१९५२) मा करिन छे। द टच (१९७१), क्राइज एन्ड विस्पर्स (१९७२), साराब्यान्ड (२००३) र द भर्जिन स्प्रिङ (१९६०) मा समेत करिन पात्र भेट्टाउन सकिन्छ।
त्यसो त बर्गम्यानको स्मृतिमा चुर्लुम्म हाम फालेका ट्राइरले गुस्ताव बोर्गकी छोरीको नाम पनि क्राइज एन्ड विस्पर्सकी उनकै पात्रसँग सापटी मागेर राखेका छन्- एग्नेस! अर्की छोरीको नाम ट्राइरले ‘नोरा’ राखेका छन्। नोरा बर्गम्यानको जीवन वा फिल्ममा भेटिन्न। तर, अर्का नर्वेजियन नाटककार हेनरिक इब्सेनको प्रतिष्ठित नाटक अ डल्स हाउसमा भेटिन्छे ‘नोरा’।
अब यहाँनेर एउटा प्रश्न उब्जिन्छ- इब्सेन र बर्गम्यान कसरी सम्बन्धित छन् त? स्विडेनमा बर्गम्यान जन्मिनुभन्दा १२ वर्षअघि नै नर्वेमा जन्मिएका हेनरिक इब्सेनले धर्ती छाडिसकेका थिए। तर, बर्गम्यानले इब्सेनलाई उनका कामहरूको माध्यमबाट भेटे। इब्सेनका नाटक- घोस्ट र हेड्डा ग्याबलर बर्गम्यानले स्विडेनमा निर्देशन गरी मञ्चन गरे। इब्सेनकै जोन गाब्रिएल बोर्कम्यान नाटकको रेडियो रूपान्तरण गरेर समेत बर्गम्यानले स्विडिस नाटकप्रेमीहरूलाई इब्सेनको नाट्यसाहित्यको स्वाद चखाएका थिए। बर्गम्यान नजन्मिँदै इब्सेनले ‘बोर्कम्यान’ नामक पात्र आफ्नो नाटकमा जन्माइसकेका थिए। र, बर्गम्यानले पनि इब्सेनको फर्स्ट नेम ‘हेनरिक’ सापटी लिएर आफ्नो फिल्म द बेस्ट इन्टेन्सन्स (१९९२) को एक पात्रको नाम राखेका थिए। त्यो फिल्म बर्गम्यानले आफ्ना आमाबुवाको जीवनमा आधारित भएर लेखेका थिए। ‘हेनरिक’ पात्रले बर्गम्यानका पिता ‘एरिक’ को चरित्र चित्रण गरेको छ।

जसरी इब्सेनको जोन गाब्रिएल बोर्कम्यान नाटकमा ‘बोर्कम्यान’ ले इब्सेनकै बाबु ‘नड अल्टनबर्ग इब्सेन’ को चरित्र चित्रण गरेको थियो। बर्गम्यानको पात्र ‘हेनरिक’ र इब्सेनको पात्र ‘बोर्कम्यान’ दुवै, एकै चरित्रका बाबु पात्र हुन्। जो आफ्नो परिवार, बालबच्चाका लागि आदर्श पात्र बन्ने होडमा उनीहरूसँगको आत्मीय अझ भनौँ भावनात्मक सम्बन्धबाट भने विच्छेद हुन्छन्। छैन त इन्ट्रेस्टिङ? ओहो! अर्को मिहिन, तर महत्त्वपूर्ण कुरा त झन्डै छुटेको, ट्राइरले बर्गम्यानकै बुवाको नाम ‘एरिक’ सापटी लिएर गुस्तावको नातिलाई दिनु पनि सोचविचारसहितको काम जस्तो लाग्छ। एउटा पुस्ताबाट अर्को पुस्तामा मानौँ केही त हस्तान्तरण भइरहेकै छ।
मेटाफर एन्ड मेडिसिन
ट्राइरले एरिक नाम गुस्तावको नातिलाई दिनु किन महत्त्वपूर्ण छ? सबभन्दा पहिला सम्झिनुपर्ने कुरा हो, यहाँ गुस्ताव बर्गम्यानको प्रतीक पात्र हो। र, एरिक असली बर्गम्यानको बुवाको नाम हो। केही हस्तान्तरण भइरहेको हुन सक्छ, छ माथि नै भनेकी थिएँ। हो, सतहमै उभिएर हेर्दा त नाम हस्तान्तरण भएको देखियो। तर, सतहबाट ओर्लिएर हेर्ने हो भने कतै ‘जेनेरेसनल ट्रमा’, ‘इमोसनल अनअभाइबलिटी’ को हस्तान्तरण भइरहेको त होइन?
फिल्मको सुरुआततिर गुस्तावको एउटा फिल्म हेरेर मान्छेहरू रोइरहेका छन्। फिल्मभित्रको त्यस फिल्ममा एउटी सानी बच्ची ‘एना’ ट्रेनमा चढ्छे, तर उसको भाइ (अथवा दाइ) ट्रेनमा चढ्न सक्दैन, छुट्छ, एक्लिन्छ। त्यो सानी बच्ची ‘एना’ को भूमिका उतिबेला गुस्तावकी छोरी ‘एग्नेस’ ले खेलेकी हुन्छे। यतिबेला गुस्ताव उसको नातिलाई पनि आफ्नो नयाँ फिल्मको एउटा पात्रमा खेलाउन चाहन्छ। तर, छोरी एग्नेस बाबुको यस प्रस्तावलाई ठाडै अस्वीकार गर्छे।
ऊ बाबुसँग भन्छे– तँ आउँछस्, यसैगरी नजिकिन्छस्, झ्याम्मिन्छस् अनि काम पूरा भएपछि हराउँछस्। यस्तो लाग्छ कि त्यसपछि हामीसँग तँलाई कुनै सरोकार नै हुँदैन। हामी भने तैँले छोडेर गएपछि खाली भएको ठाउँ भर्ने प्रयासमै जिन्दगी बिताउँछौँ। त्यही नियति मेरो छोरोलाई भोग्न म दिन्नँ। एरिकले कुनै फिल्म खेल्दैन!
बर्गम्यानको यस्तै एउटा फिल्म छ- अटम सोनाटा (१९७८)। जहाँ एग्नेस जस्तै रिक्तताले भरिएकी एउटी छोरी छे- इभा। गुस्ताव जस्तै आफ्नो पेसामा निर्लिप्त आमा छे- सार्लोट। र, एग्नेसले एरिकलाई त्यो रिक्तताको महसुसबाट बचाउन खोजे जस्तै अटम सोनाटामा पनि इभा आफ्नी बहिनी हेलेनलाई बचाउन खोजिरहेकी हुन्छे। आमाको ममताको अभाव महसुस हुन नदिन हेलेनलाई आमाले जस्तै माया गर्छे, स्नेह गर्छे र स्याहार्छे इभा।

बर्गम्यानको फिल्ममा बिम्ब (मेटाफर)को प्रयोगबारे त बोलिरहनै नपर्ला। द सेभेन्थ सिलमा मृत्युसँग चेस खेल्नु होस् कि क्राइज एन्ड विस्पर्समा दिदीबहिनीले एकअर्कालाई स्पर्श गर्न खोज्नु होस्। या फेरि थ्रु अ ग्लास डार्क्लीको माकुरा नै किन नहोस्, बर्गम्यानले आफ्ना फिल्ममा बिम्ब भरपुर खेलाएका छन्। तर, फिल्म आफैँमा उनका लागि औषधि (मेडिसिन) थियो। उनी आफूभित्रका भावनात्मकदेखि आध्यात्मिक घाउमा फिल्ममार्फत नै मलमपट्टी गर्थे।
सन् १९७१ मा चार्ल्स थोमस सामुयलसँगको कुराकानीमा उनले आफ्नो फिल्म द सेभेन्थ सिलबारे बोल्दा भनेका थिए– यस फिल्मले मृत्युसँगको मेरो डर भगाइदियो।
सन् १९७८ मा ब्रिटिस टेलिभिजनका लागि मेवलिन ब्रागसँग कुरा गर्दा पनि उनले यस्तै कुरा गरेका थिए। त्यस कुराकानीमा उनले सन् १९५३ को आफ्नो अर्को फिल्म सडस्ट एन्ड टिन्सेलबारे बोल्दै भनेका थिए– म आफ्ना समस्याहरूको समाधान सधैँ खोजिरहेको हुन्छु। त्यही क्रममा मैले आफ्नो ‘ईर्ष्या’ माथि काम गर्न यो फिल्म लेखेँ।
हो, बर्गम्यान आफ्ना समस्या, मनको घाउ, आध्यात्मिक भोकको उत्तर वा औषधि खोज्न फिल्म लेख्थे र तिनमा काम गर्थे। आफ्नो बाल्यकालको घाउ निको पार्न उनले फ्यान्नी एन्ड अलेक्जेन्डर बनाए। बाबुआमासँगको तिक्ततामा काम गर्न अटम सोनाटा, द बेस्ट इन्टेन्सन्स जस्ता फिल्म बनाए। र, आफैँसँगको जटिलता बुझ्न पर्सोना बनाए। कुनै थेरापिस्टले जसरी हरेक फिल्ममा उनले एउटा न एउटा समस्यामाथि गहिरो वार्तालाप गरेर निकास खोज्ने काम गरे। फिल्मलाई उनले कहिल्यै मेटाफर अथवा भनौँ, मनोरञ्जनमा मात्रै सीमित हुन दिएनन्, बरु मेडिसिन अथवा मनोचिकित्सा पनि बनाए।
सेन्टिमेन्टल भ्यालुमा बर्गम्यानको प्रतीकात्मक पात्र गुस्तावले पनि त्यही गरेको छ। फिल्मकै माध्यमबाट उसले आफ्ना छोरीहरूसँगको समस्याग्रस्त सम्बन्धको ओखती उपचार गरेको छ।
बाबुले आफ्नी आमामाथि फिल्म बनाउन लागेको भनेपछि सानी छोरी एग्नेसले आफ्नी हजुरआमा करिनबारे खोज्ने काम गर्छे। कसरी ऊ युद्धले प्रभावित भई, कस्तो मनस्थितिमा उसको बुवालाई जन्माई, हुर्काई र कस्तो मनोदशामा उसले आफ्नै ज्यान लिई? र, त्यो सबै बुझ्दै गर्दा उसले पीडक ठानिरहेको आफ्नो बाबुलाई आफैँ जस्तो पीडित भएको पनि देखी।
उता, ठूली छोरी नोराले पनि बाबुले आफ्ना लागि लेखेको फिल्मको स्क्रिप्ट पढिसकेपछि मात्र आफूभित्र खट्किइरहेको अभावको भर्पाई पाई। जसलाई निर्देशक ट्राइरले बडो सुन्दर विम्बमा देखाएका छन्। फिल्मको सुरुआतमै एउटा घर देखिन्छ। सामान्य सेता घरभन्दा यो घर बेग्लै छ– रातो र कलेजी रंगको! ६ कक्षा पढ्दा नोराले आफूलाई वस्तु मानेर निबन्ध लेख्नुपर्ने थियो। उसले तत्काल आफूलाई आफ्नो घर मानेर निबन्ध लेखी।

कसरी भर्याङबाट गुरुर्र तल ओर्लिंदा घरको भुँडी हल्लिन्थ्यो, र कसरी ऊ र बहिनी लुकेर पछाडिको ढोकाबाट बाहिर निस्केको घरका आँखाहरूबाट लुक्दैनथ्यो, उसले सबै लेखी। धेरै वर्षपछि फर्किएर आएको बाबुले घर बेच्छ कि? दिदीबहिनीलाई पीर परेको छ। घरमा नोरा बस्दिन, तर उसलाई पनि घरसँग लगाव त बाँकी नै छ। बुबा घर आउनुअघि एग्नेस र नोरा घरभित्र भएका सामानहरूसँग केही समय बिताउँछन्। नोराले एउटा कलेजी रंगको फूलदानी आफूसँग लिएर पनि जान्छे।
फिल्मको अन्तिम अन्तिमतिर बाबुले आफ्नो प्रतीकात्मक पात्रका लागि लेखेको डायलग नोराले पढेको एउटा दृश्य छ। उसले यस्तै केही पढेकी थिई-
लाचार भएर भुइँमा पस्रिनबाहेक मैले केही गर्न सकिनँ। त्यसो त म आस्तिक मान्छे होइन। तर, म सम्झिन्छु, म कसैलाई गुहार माग्दै चिच्याइरहेकी थिएँ। ‘हेल्प मी’ भन्दै चिच्याएर मैले कसलाई बोलाएँ? कसको प्रार्थना गरेँ? मान्छे एक्लिँदा एक्लिँदा जब एक्लै हुनुसँग नै डराउन थाल्छ, तब ऊ थाहा नपाएरै कुनै अज्ञातको साथ माग्दो रहेछ। त्यो नै सायद प्रार्थना रहेछ कि? हो, ममा अरू एक्लिएर बाँच्न सक्ने सामर्थ्य थिएन। कोही त होस् मेरो पनि। म बेस्सरी अपनत्व महसुस गर्न चाहन्थेँ। म चाहन्थेँ– मलाई पनि कसैले तँ मेरी होस् भन्दियोस्, म पनि चाहन्थेँ– मेरो एउटा घर होस्। हो, मलाई घर चाहिएको थियो!
रातभर खाटो उप्किएको घाउमा नुन परेपछि दुखे जस्तै भुइँमा पल्टिएर रुँदारुँदा थाकेकी नोरा भोलिपल्ट बिहान यस्ता डायलग पढेपछि शान्त हुन्छे, हलुंगी हुन्छे। मानौँ, उसले पनि आफ्नो चोटको औषधि भेटेकी छे। बाबुले घरमै खिच्नुपर्छ भनेको फिल्म अन्तत: घरमा खिचिँदैन। बरु घरको झल्को दिने एउटा सेट बनाउँछन्। घरबाट बाबुछोरीले मुक्ति पाइसकेका छन्। घरको रोगबाट दुवैलाई छुटकारा मिलिसकेको छ।
मेकिङ एन्ड स्टायल
पात्रहरूको नाम मिल्यो भन्दैमा, फिल्म बनाउनुको उद्देश्य मिल्यो भन्दैमा गुस्ताव बर्गम्यान नै हो भनेर कसरी विश्वास गर्ने? ब्रिटिस फिल्म इन्स्टिच्युटसँगको एउटा फिचर संवादमा अभिनेत्री एवं निर्देशक लिव उलमनले क्राइज एन्ड विस्पर्सको सुटिङका दिन सम्झिँदै भनेकी छन्– त्यस्तो निराश र गह्रौँ फिल्म छ। तर, माहोल हाँसोले भरिपूर्ण हुन्थ्यो। किनभने, इङ्ग्मार बर्गम्यानको सेटमा हाँसोठट्टा र मजाक जतिबेलै चलिरहेको हुन्थ्यो। रोजरइबर्ट डट कममा बर्गम्यानकी अर्की अभिनेत्री ह्यारियेट एन्डरसनको भनाइ उद्धृत गर्दै क्विन हफले पनि बर्गम्यानबारे एउटा रोचक किस्सा लेखेका छन्- बर्गम्यान आफ्नो कास्टसँग सानातिना झुटहरू बोल्ने गर्थे रे! आफ्नो चरित्रमा छिर्न उनीहरूलाई सजिलो होस् भनेर बर्गम्यान बेलाबेला त्यस्तो उट्पट्याङ गर्थे।
बर्गम्यान आफैँले पनि ६० वर्षको उमेरमा मेवलिन ब्रागसँगको कुराकानीमा भनेका छन् कि बाहिर उनी एक परिपक्व उमेरको देखिए पनि भित्रबाट उनी अझै बच्चा हुन्। उनी कामलाई काम सम्झिएर गर्नेभन्दा पनि खेल खेलिरहे जस्तै गरी गर्न रुचाउँछन्।
सेन्टिमेन्टल भ्यालुमा गुस्ताव रसेल बसिरहेको टुललाई देखाउँदै ऊसँग भन्छ, ‘मेरी आमाले यही टुलमा चढेर आत्महत्या गरेकी थिई। तेरो पात्रले पनि झुन्डिनलाई यही टुल प्रयोग गर्छे।’ यति सुन्नासाथ पात्रभित्र डुब्दै गरेकी रसेल झसंग भएर टुलबाट उठ्छे। तर, त्यो कुनै अन्टसन्ट टुल हुन्छ। वास्तवमा गुस्तावले झुट बोलेको हुन्छ। रसेलमा आफ्नो झुटको असर देखेर फुरुंग हुँदै गुस्ताव छोरी एग्नेससँग त्यो कुरा गर्वसाथ सुनाउँछ। मानौँ, गुस्ताव वास्तवमै बर्गम्यान हो।
अँ साँच्चै, रसेलसँगै गुस्ताव आफ्नो फिल्मको एउटा सिक्वेन्सलाई कसरी खिच्न चाहन्छ भन्नेबारे कुरा गर्दै हुन्छ। जहाँ रसेलकी पात्र ढोकाबाट बैठक कोठा छिर्छे, दिक्दारिन्छे र आफ्नो कोठा छिर्छे, तर फर्किएर फेरि ढोकामै पुग्छे र अन्त्यमा फेरि कोठामै आइपुग्छे। गुस्ताव यो सबै यसरी खिच्न चाहन्छ मानौँ क्यामेरा पात्र सँगसँगै उसलाई एक सेकेन्ड पनि नछोडी बगिरहेको छ।
यहाँनेर मलाई बर्गम्यानबारे उनका सिनेम्याटोग्राफर स्भेन निक्भिस्टले बोलेको कुरा याद आयो। निक्भिस्टले भनेअनुसार उनी पनि ठ्याक्कै यस्तै थिए– ट्राइरको पात्र गुस्ताव जस्तै। अमेरिकन सोसाइटी अफ सिनेम्याटोग्राफर्ससँग निक्भिस्टले भनेका छन्– फिल्म खिच्नुअघि नै उनी मसँग भन्थे, त्यो फिल्म उनी किन बनाउन चाहन्छन् र कस्तो देखियोस् भन्ने चाहन्छन्। त्यसपछि उनले कल्पेको जस्तै देखिने गरी कसरी खिच्ने भन्नेमा हामी छलफल गर्थ्यौं। यस मानेमा गुस्तावमा ट्राइरले बर्गम्यानको छाया कैद गर्न खोजेका छन्। अथवा, यसो पनि भन्न सकिन्छ, ट्राइरले यो फिल्म बनाउँदा उनीभित्र बर्गम्यानको आत्मा पसेको हुन सक्छ।
पर्सोनाका पत्रपत्र
बर्गम्यान चिन्नेले पर्सोना हेरेकै हुन्छन्। अथवा, ‘पर्सोना’ हेरेकाले बर्गम्यान चिनेकै हुन्छन्। यसको मतलब, बर्गम्यानलाई बुझ्न यो फिल्मको महत्त्व त्यो हदसम्म छ।
पर्सोनामा दुई पात्र छन्- अल्मा र एलिसाबेथ। मनोवैज्ञानिक कार्ल गुस्ताव यङको एउटा परिचित अवधारणा ‘पर्सोना एन्ड द सेल्फ’ मा आधारित छ यो फिल्म। जहाँ अल्मा र एलिसाबेथ दुई पात्र भएर पनि एक जस्तै छन्। तर, दुवै एकअर्काको मुकुन्डो ओढ्न खोजिरहेका छन्। जहाँ दुवैले मुकुन्डोभित्रका एकअर्कालाई भेट्न सकेका छैनन्, न त आफ्नै मुकुन्डोभित्रका आफूलाई भेट्न सकेका छन्। फिल्ममा बर्गम्यानले दुवै पात्रका क्लोजअप लिएर यसरी एकअर्कामा मिसाएका छन्, यसरी जोडेका छन् कि मानौँ कुन कसको अनुहार हो, दर्शकलाई छुट्याउन हम्मे पर्छ। यस्तै क्लोजअप र मर्जअप ट्राइरको सेन्टिमेन्टल भ्यालुमा पनि देखिन्छ। गुस्ताव र नोराको। मानौँ, सेन्टिमेन्टल भ्यालु ट्राइरको पर्सोना हो।
त्यसो त नोरालाई कल्पना गरेर लेखिएको चरित्र भएकाले गुस्ताव रसेललाई उसको केश नोराको जस्तै गरी रंग्याउन लगाउँछ। तर, रसेल त्यो घटनापछि नोराप्रति यसरी आकृष्ट हुन्छे, मानौँ ऊ आफ्नो चरित्रबारे नसोचेर बरु नोराबारे सोच्न थाल्छे। उसलाई इन्स्टाग्राममा स्टक गर्छे, उसको जस्तै फेसन गर्न थाल्छे र कतिसम्म भने अंग्रेजी बोल्दासमेत नर्वेजियन एक्सेन्टमा बोल्न थाल्छे। यसरी हेर्दा सेन्टिमेन्टल भ्यालुभित्र अर्को एउटा पर्सोनाको पत्र छ जहाँ रसेल र नोराका क्लोजअपहरू मर्जअप भइरहेको छ।
त्यसपछिको अर्को पत्रमा अर्को एउटा ‘अब्स्ट्र्याक्ट पर्सोना’ पनि छ जहाँ गुस्ताव बोर्ग र बर्गम्यानभित्रका दुई फिल्ममेकरको क्लोजअप-मर्जअप देखिन्छ। र, त्योभन्दा अझै भित्र अर्को एउटा पत्र छ जहाँ यो फिल्म आफैँमा एउटा ‘पर्सोना’ हो। र, त्यहाँ गुस्ताव वा नोरा होइन, ट्राइर स्वयं आफ्नो क्लोजअप बर्गम्यानको क्लोजअपसँग मर्जअप गरिरहेका भेटिन्छन्।
अँ, साँच्चै त्यो अन्टसन्ट टुललाई गुस्तावले आफ्नी आमाले झुन्डिने बेला चढेको टुल भनेर ढाँटेको थियो नि! त्यहाँनेर आइपुग्दा मैले बर्गम्यानको अन्तर्वार्ताको अर्को एउटा टुक्रा सम्झेथेँ। जहाँ मेवलिन ब्रागसँग उनी थिएटर वा सिनेमाको जादुगरीबारे बुझाउन भनिरहेका हुन्छन्– तपाईं एउटा सामान्य कुर्सी उठाउनुस्। उ: त्यो उठाए पनि भयो। र, भनिदिनुस् कि यो अति मूल्यवान् कुर्सी हो। हीरा जडिएको कुर्सी हो। विशेष कुर्सी हो। उनीहरूले पत्याइदिन्छन्। सामान्य देख्दादेख्दै पनि पत्याइदिन्छन्। तर, त्यो तपाईंले मञ्चमा या त फिल्मको स्क्रिनभित्र भनेको हुनुपर्छ।
गुस्तावको त्यो झुट पनि रसेलले यसै पत्याएकी होइन। पत्याएरै त कस्तो तर्सेर जुरुक्कै उठेकी थिई। के त्यो बेला उसको सातो गएको थियो? खैर, सातो गएर हो या किन हो, उसले फिल्म खेलिन र त्यो भूमिका नोराकै पोल्टामा आयो। र, नोराले त्यही दृश्य गर्दा टुलको ठाउँमा झुन्डिनलाई कुर्सी प्रयोग गरिन्छ।
ट्राइरको टुल र बर्गम्यानको कुर्सी एकअर्कामा मर्जअप भएर मानौँ अर्को पत्रको पर्सोना बनिरहेको छ। अथवा हुन सक्छ, ट्राइर अर्को ‘पर्सोना’ बनाउन खोजिरहेकै छैनन्। उनलाई त टुलको माध्यमबाट होस् या कुर्सीको माध्यमबाट खालि इङ्ग्मार बर्गम्यानलाई ट्रिब्युट दिनु छ, बस्!