काठमाडौँ। मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायानाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्।
किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी ५८ धावक सहभागी भएका थिए। किम्रीदेखि सुरु भएको दौड छायानाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो।

पुरुषतर्फको दौडमा धीरबहादुर बुढाले तीन घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो भए। साथै दलबहादुर कुँवरले चार घण्टा दुई मिनेट १० सेकेन्ड दौड पूरा गर्दै दोस्रो भए भने तेस्रो भएका चन्द्रबहादुर रावतले चार घण्टा पाँच मिनेटमा दौड पूरा गरे। त्यसैगरी अर्जुन कुलुङ राईले चार घण्टा २४ मिनेट र रमेश लिम्बूले चार घण्टा ३० मिनेट १० सेकेन्ड दौड पूरा गर्दै क्रमशः चौथो र पाँचौँ भए।
महिलातर्फ सुनमाया बुढा पहिलो भइन्। उनले पाँच घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन्। दोस्रो भएकी राममाया बुढाले पाँच घण्टा २६ मिनेट ४० सेकेन्ड र तेस्रो भएकी कल्पना बुढाले पाँच घण्टा ३५ मिनेट २० सेकेन्ड दौड पूरा गरिन्। साथै सम्जेदा बुढाले पाँच घण्टा ४० मिनेट १० सेकेन्ड र निर्मला राईले पाँच घण्टा ४८ मिनेट दौड पूरा गरी क्रमशः चौथो र पाँचौँ भए।

आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए। साथै दुईजना एलिट, पाँचजना इन्टरमिडिएट, नौजना एड्भान्स तथा सातजना एक्सप्लोर वर्गका धावकको सहभागिता थियो।
अल नेपाल स्पोर्ट्स फाउन्डेसनका सञ्जय अधिकारीका अनुसार नेपालका विभिन्न प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो। एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला-रारा तथा रारा ट्रेल रनलगायत देश-विदेशका विभिन्न म्याराथनमा विजयी खेलाडीसमेत सहभागी थिए। प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो।
आयोजकका अनुसार महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार रुपैयाँ तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी स्थानीय पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कारको व्यवस्था रहेको आयोजकको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायानाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ।

