काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबमा रहेको नेपालले स्कटल्यान्डसँग बदला लिएको छ।
सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै बदला लिएको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेलमा स्कटल्यान्डसँग नेपाल डीएलएसमार्फत २ रनले पराजित भएको थियो।
विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना कायम राख्न र एकदिवसीय मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब थियो। जितसँगै पाँचौँ स्थानमा उक्लिएको नेपालले २७ खेलबाट २२ अंक पुर्याएको छ। शीर्ष स्थानको स्कटल्यान्डको भने ३० खेलबाट ३८ अंक छ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो। नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। अविजित रहेका उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर आसिफ शेख २९, कुशल भुर्तेल २८, उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।

स्कटल्यान्डका मार्क वाटले सर्वाधिक २ विकेट लिए। यस्तै ब्रान्डन म्याकमुलेनले १ विकेट राखे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो।
स्कटल्यान्डका म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। मिचेल इङ्लिसले ७२ बलमा ४ चौका र १ छक्कासहित ५१ रन बनाए। जर्ज मुन्से २१ र मार्क वार्ट २० रनमा आउट भए। अन्यको ब्याट भने चल्न सकेन।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान १ विकेट राखे।