प्रदेश
फोहोर र अतिक्रमणका कारण अस्तित्वको संकटमा परेको नदी संरक्षणमा सरकारी बेवास्ता
जनकपुरधाम। मिथिला सभ्यता र संस्कृतिसँग जोडिएको ऐतिहासिक र धार्मिक महत्त्वको दूधमती नदीमा फोहोर मिसाइँदा अस्तित्व संकटमा परेको छ।
धनुषा र महोत्तरी जिल्ला भएर बग्ने यो नदी रामायणकालीन भएको विश्वास गरिन्छ। तर, फोहोर फालिँदा र ढलको पानी मिसाइँदा धार्मिक र सांस्कृतिक आस्थाको यो नदी प्रदूषित नालामा परिणत भएको छ।
मिथिलावासीका अनुसार यो नदीको इतिहास त्रेताकालीन छ। प्रचलित किंवदन्तीअनुसार माता सीतालाई दूध खुवाउन कामधेनु गाई आएकी थिइन्। माता कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बहाएपछि यो नदी बनेको धार्मिक मान्यता छ। नदीको ऐतिहासिक एवं धार्मिक महत्त्वको विषयमा ‘मिथिला महात्म्य’ मा उल्लेख गरिएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवामा उद्गमस्थल रहेको दूधमती नदीको धारा जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म प्रवाहित हुन्छ। यो नदी मिथिलाञ्चलकै सबैभन्दा पुराना नदीहरूमध्ये एक हो। यस नदीलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र मानेर स्नान गर्ने तथा देवकार्य, पितृकार्य गर्ने महत्त्वपूर्ण स्थलका रूपमा लिन्छन्।

प्रदूषित दूधमती नदी।
दूधमतीको धार्मिक महत्त्व भएकाले यहाँ भारतीय पर्यटकहरू नदीबारे सोधखोज गर्दै स्नानका लागि आउने गरेका छन्। तर, नदीको अवस्था हेरेपछि उनी खिन्न भएर फर्कने गरेका छन्। भारतको अहमदाबादबाट आएका ६० वर्षीय अमितभाइ पटेलले यस नदीबारे सुनेर नुहाउन आएको तर पानी स्नान गर्न लायक नै नरहेको बताए।
जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीका सोगारथ दासका अनुसार दूधमतीमा पहिले निर्मल पानी बग्थ्यो, यहाँ साधुसन्तहरूको पनि चहलपहल हुन्थ्यो, पूजापाठ चल्थ्यो। तर, बिस्तारै मानवीय गतिविधिका कारण नदी प्रदूषित भयो। उनी भन्छन्, “दूधमती नदीको पानी केही दशकअघिसम्म दूध जस्तै बग्थ्यो, तर नदीमै नाला र फोहोरमैला फालिएपछि यो नदी संरक्षणको पर्खाइमा छ।”
अहिले केही ठाउँमा मात्रै नदीको धार बाँकी छ, बाँकी ठाउँ मानिसहरूले हडपिसकेका छन्। यसरी साँघुरिएको नदी प्रदूषणको चपेटामा पर्दा अझ संकटमा छ।
बसविट्टीकै विन्देश्वर साकका अनुसार दूधमतीको पानीबाट विगतमा यस भेगमा सिँचाइ पनि गरिँदै आएको थियो। तर, जनकपुर क्षेत्रको अव्यवस्थित सहरीकरण र अतिक्रमणका कारण नदीको मुहान थुनिँदै गएको र नदी खुम्चिएको उनको भनाइ छ। अधिकांश ठाउँमा नदीको डिल पुरेर नम्बरी जग्गाका रूपमा परिणत गरिएको उनी बताउँछन्। जसले नदीको अस्तित्व नै समाप्त हुने अवस्थामा छ। उनी भन्छन्, “अहिले केही ठाउँमा मात्रै नदीको धार बाँकी छ, बाँकी ठाउँ मानिसहरूले हडपिसकेका छन्। यसरी साँघुरिएको नदी प्रदूषणको चपेटामा पर्दा अझ संकटमा छ।”
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-३ को बनिनियाँभन्दा उत्तरको उद्गमस्थलसम्मै नदीको बहाव क्षेत्र अतिक्रमित छ। नदीको बहाव क्षेत्र माटोले पुरिएको र खेत बनाइएको छ र बहाव क्षेत्रमा घरहरू पनि बनेका छन्। नदीको सयौँ बिघा जग्गा भूमाफिया र स्थानीय व्यक्तिहरूले आफ्नो नाममा नम्बरी गराउँदा र अतिक्रमण गर्दा नदीको प्राकृतिक बहाव रोकिएको स्थानीयवासी बताउँछन्। नदी क्षेत्र अतिक्रमण गरेर व्यावसायिक माछापोखरी खनिएका छन्।
२०२० सालको सहरी नापीमा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा नदी किनारका कतिपय जग्गालाई निजी बनाइएपछि नदीको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको ७८ वर्षीय वासुदेव मण्डलको कथन छ। “हामी त यस नदीकै छेउमा खेलेर हुर्केका हौँ। २०२० सालपछि नदी अतिक्रमणमा पर्न थाल्यो र प्रदूषित बन्दै गयो,” उनी भन्छन्।
नगरक्षेत्रबाट प्लास्टिक, सिसा, रसायनलगायत फोहोर र ढल मिसाइँदा दूधमती नदीको पानी कालो र दुर्गन्धित भएको छ। जनकपुरधाम उपमहानगरपालिका-२२ का वडाध्यक्ष विमलेश मिश्रका अनुसार युवाहरूको सक्रियतामा हरेक शनिबार यो नदीको सफाइ गरिँदै आएको छ। तर, मुहान क्षेत्र नै थुनिएपछि नदी प्रदूषित रहेको उनको भनाइ छ।

स्थानीय युवाको सफाइ अभियानका कारण बसविट्टीमा केही सफा देखिएको दूधमती नदी।
दूधमतीलाई अतिक्रमणमुक्त बनाउन केही समयअघि मधेस प्रदेश सरकारको सिँचाइ तथा खानेपानी मन्त्रालयले अग्ररता देखाए पनि मन्त्री फेरिएपछि अभियान सेलायो। स्थानीय अभियन्ता सुदीप मण्डल भन्छन्, “तीन तहकै सरकारको समन्वयबाट मात्रै यस नदीलाई पुरानै स्वरूपमा फर्काउन सकिन्छ।”
नदी संरक्षणको योजना सुस्त
दूधमती नदीको संरक्षण र सौन्दर्यीकरण तथा प्राकृतिक बहाव क्षेत्र खाली गराउने उद्देश्यले २०८२ को पुस दोस्रो सातादेखि सीमांकन सुरु गरिएको थियो। नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारणका लागि उद्गमस्थल क्षिरेश्वरनाथ नगरपालिका-५, अरजनवाँ गाउँदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सीमांकन, नक्सांकन र उत्खनन सुरु गरिएको थियो।
मधेस प्रदेश सरकारले दूधमती नदी विकास परियोजनाअन्तर्गत नदी क्षेत्रको जग्गाको अतिक्रमण हटाउने र पुरिएको नदीको उत्खनन गरी सौन्दर्यीकरण गर्ने नीति लिएको थियो। मधेस सरकारका तत्कालीन ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएर काम अगाडि बढाइएको थियो। प्रदेश सरकारको ऊर्जा मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८२/८३ मा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।
करिब पाँच अर्बको बहुवर्षीय परियोजनाअन्तर्गत दूधमतीको बहाव क्षेत्रबाहेक दुवैतर्फ ११/११ मिटर कालोपत्रे सडक, उद्गमस्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदीको बहाव क्षेत्रमा पर्ने प्रत्येक गाउँनजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक दुई दुई किलोमिटरको दूरीमा ड्यामको व्यवस्था गरिने योजना अगाडि सारिएको थियो। तर, अहिलेसम्म काम अगाडि बढेको छैन। सरकार फेरिएसँगै योजना अलपत्र बनेको छ।
तत्कालीन ऊर्जामन्त्री यादवले नदीको उत्खनन गरेर पुरानै अवस्थामा फर्काइने ११ करोडको तथा सौन्दर्यीकरण र ड्याम निर्माणको ३४ करोड रुपैयाँका दुई योजना अगाडि बढाएका थिए। जसमध्ये ११ करोड रुपैयाँको योजनामा काम सुरु भएको छ। तर, कामको गति निकै सुस्त छ। “दूधमती नदी धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ, यसैले यसको संरक्षणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्छ,” पूर्वमन्त्री यादव भन्छन्।