काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

राजनीति

क्रियाशील सदस्यता अद्यावधिकको विषयले फेरि चर्कियो कलह

५ जेष्ठ २०८३
शेखर कोइराला, गगन थापा र पूर्णबहादुर खड्का।
अ+
अ-

विशेष महाधिवेशनपछि तितरवितर अवस्थामा रहेको नेपाली कांग्रेसमा असोज २०८३ भित्र १५औँ एकता महाधिवेशन गर्नेगरी तयारी भइरहेको छ। २७ पुस २०८२ को विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिइसकेकाले थापा एकता महाधिवेशनको तयारीमा लागिसकेका छन्। यसका लागि क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक सुरु भइसकेको छ।

यही विषयले कांग्रेसमा कलह बढेको छ। क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावित पार्न पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह लागिपरेको छ भने मध्यमार्गी धारको नेतृत्व गर्ने शेखर कोइराला पुरानै सदस्यता कायम हुनुपर्ने पक्षमा छन्।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले २१ जेठभित्र क्रियाशील सदस्यता, वितरण, छुट नवीकरण र अद्यावधिक कार्य अनिवार्य सम्पन्न गर्ने निर्णय गरेसँगै कांग्रेसमा विवाद चुलिएको छ। पौडेलको नेतृत्वमा १ जेठमा बसेको बैठकले पन्ध्रौँ महाधिवेशनको तयारीस्वरूप सदस्यता अद्यावधिकको निर्णय गरेको थियो।

नेतृत्वले सदस्यता व्यवस्थापनको प्रक्रिया अघि बढाउनासाथ पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहेका पूर्वकार्यवाहक सभापति खड्का समूह चिढिएको मात्रै छैन, पन्ध्रौँ नियमित महाधिवेशनको प्रक्रिया नै अवरुद्ध पार्न उद्यत छ। सदस्यता अद्यावधिक निर्णयको भोलिपल्टै २ जेठमा खड्कानिकट युवाहरूले काठमाडौँमै भेला बोलाए। भेलाले विशेष महाधिवेशनअघि नै तयार भएको सदस्यता नवीकरणलाई आधार बन्नुपर्ने निर्णय गर्‍यो। भेलाले आफ्नो समूहमा सदस्यता नवीकरण र अद्यावधिक नगर्न उर्दी नै जारी गर्‍यो।

पन्ध्रौँ महाधिवेशन आह्वानताका सभापति देउवा थिए र उनी नेतृत्वमा रहँदै सदस्यता नवीकरण भइसकेको खड्का पक्षको दाबी छ। विशेष महाधिवेशनले देउवा नेतृत्व विस्थापित गरिसकेको छ।

सदस्यतामा सधैँ विवाद

प्रजातान्त्रिक आन्दोलनमा सबैभन्दा बढी योगदान दिएको पुरानो दल कांग्रेसको आन्तरिक जीवन सधैँ भद्रगोल छ। राणा, राजा सबैसँग लडेको कांग्रेसले पार्टीलाई चुस्त र संगठनलाई चलायमान बनाउन कहिल्यै समयमै सदस्यता अद्यावधिक गर्दैन। क्रियाशील सदस्यता अद्यावधिक जब सुरू हुन्छ, तब महाधिवेशन मुखैमा आइसकेको हुन्छ। त्यसले महाधिवेशनको कार्यतालिका प्रभावित पार्ने गरेको छ।

१४औँ महाधिवेशनबाट सभापति बनेका देउवाले पूर्णतया विश्राम नलिए पनि कांग्रेस राजनीतिमा सक्रिय छैनन्। उनको उत्तराधिकारीका रूपमा अघि सारिएका नेता खड्का नै देउवा समूहको भरोसा हुन्। १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित कोइरालाको छुट्टै मध्यमार्गी समूह छ।

देउवा-कोइराला दुवैको शक्ति कांग्रेसको सदस्यता हो, जसको आधारमा दुवै समूह १५औँ एकता महाधिवेशनमा होमिँदै छन्। कोइराला पन्ध्रौँ महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गरिनुपर्ने उनको धारणा छ। यो सदस्यतालाई कांग्रेस एकताको मुख्य आधार बनाउनुपर्ने उनको भनाइ छ।

कांग्रेसका आठ लाख ७० हजार क्रियाशील सदस्य छन्।

देउवा समूहको मुख्य शक्ति पनि सदस्यता नै हो। सदस्यताबारे खड्काले कोइरालाकै धारणा ल्याए। देउवा समूहले पार्टीका महत्त्वपूर्ण गतिविधिमाथि छलफल गर्न भेला नै गरिरहेको छ। उसले ठाउँ-ठाउँमा भेला गरिरहेको छ। २९ वैशाखमा विराटनगरमा कोसी प्रदेशस्तरीय, ३० वैशाखमा बागमती प्रदेशस्तरीय भेला गरेको संस्थापन इतर समूहले १० जेठमा सुदूरपश्चिमस्तरीय भेला गर्दै छ।

जेन-जी आन्दोलनको भावनाबाट प्रेरित भएर विशेष महाधिवेशनबाटै देउवा नेतृत्वलाई पाखा लगाएका थापा पन्ध्रौँ महाधिवेशनबाट आफू पुन: नेतृत्वमा कायम रहनेगरी सदस्यतामा नयाँ-पुराना पुस्ता समेटेर आफ्नो शक्ति विस्तार गर्न चाहन्छन्। यसैको कडीको रूपमा थापाले सदस्यता अद्यावधिक, नयाँ वितरण र छुट अद्यावधिकको निर्णय गरेका थिए। यही निर्णयपछि कांग्रेसमा विवाद चर्किएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसे विधानमा हरेक वर्ष सदस्यता अद्यावधिक गर्ने व्यवस्था रहेको र विधानको व्यवस्थालाई हुँदैन भन्ने कुरा तर्कसंगत नहुने बताउँछन्। समग्र पार्टी सदस्यता अद्यावधिकमा विवाद झिक्नु राजनीतिक नहुने उनको भनाइ छ। “सदस्यता अद्यावधिक नगरेको भए पनि प्रश्न उठ्ने भएकाले निर्वाचित केन्द्रीय समितिको पहिलो कर्तव्य नै हुन जान्छ, हामीले पुरानो तथ्यांक यथार्थ नदेखिएको हुँदा अद्यावधिक गर्न खोजेका हौँ। यसलाई डिजिटाइज बनाउन खोजेका हौँ। कसैलाई रोकछेक गरेको छैन,” उनी भन्छन्।

सर्वस्वीकार्य बन्न नसकेका थापा

विशेष महाधिवेशनको शक्तिबाट स्थापित गगन थापालाई देउवा समूहले अझै पनि कांग्रेस सभापति स्वीकार गरिसकेको छैन। आवरणमा अदालतको आदेशपछि नेतृत्व स्विकारेको बताए पनि थापालाई देउवा समूहले ‘नेता’ मानेको छैन। यही यथार्थबीच थापा पन्ध्रौँ महाधिवेशनको तयारीमा लाग्दा देउवा समूह उक्त प्रक्रियामै सामेल नहुन कार्यकर्ताहरूलाई उक्साइरहेको छ।

काठमाडौँमा युवा समूहको भेला सकिएपछि ३ जेठमा खड्का सुर्खेत पुगेका थिए। त्यहाँ उनले थापा सिंगो कांग्रेसको नेता नबनेको मात्रै बताएनन्, पार्टी विभाजनको संघारमा पुगेको चेतावनी दिए। उनले भनेका थिए, “अदालतले निर्णय दिएपछि नेतृत्व स्वीकार गरेका छौँ, पार्टीभित्र फराकिलो एकता आवश्यक छ, तर सानेपाको मात्रै सभापति देखिएर भएन।”

तीन दिनपछि पनि खड्काको धारणा उही छ। नेपालन्युजसँग उनी भन्छन्, “मैले दुई दिनअघि जे भनेको थिएँ, त्यही हो मेरो कुरा। मिडियामा अहिले मेरो भन्ने अरू कुरा छैन।”

खड्का एकतिर थापा सिंगो कांग्रेसको नेता नबनेको बताउँछन्, अर्कातिर उनी सभापतिसँग संवाद गर्नै खोज्दैनन्। फराकिलो एकताका लागि सभापतिले के गर्नुपर्ने हो प्रस्ताव ल्याउँदैनन्।

एउटा उदाहरण यहाँ हेरौँ। ४ वैशाखमा अदालतले कांग्रेस आधिकारिकताको विवाद टुंग्यायो। आधिकारिक सभापति बनेपछि थापा आफैँ १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग संवादमा सक्रिय बने। ६ वैशाखमा थापा खड्कालाई भेट्न गोल्फुटारस्थित उनको निवास गए। थापाले पार्टी एकताबद्ध बनाएर पन्ध्रौँ महाधिवेशन गर्न लागिपरेको बताए। उक्त भेटपछि विशेषबाट निर्वाचित र पुरानो नेतृत्वबीच ‘आइसब्रेक’ भएको ठानिएको थियो। तर, सदस्यता अद्यावधिकको निर्णयले खलबलिएको छ।

खड्कापछि सभापति थापा नेता कोइरालालाई भेट्न २२ वैशाखमा बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमै पुगे। सभापतिका ती भेट पार्टी एकताका लागि पर्याप्त भएको महामन्त्री गुरुराज घिमिरे बताउँछन्। “पुरानो नेतृत्व र नेताहरूसँग घर-घरै पुगेर सभापतिले कुरा गर्नुभएको हो, सधैँ सभापति नेताको घर-घर जान भ्याउनु हुन्न,” घिमिरे भन्छन्, “नेताहरूले आफ्ना मागबारे केन्द्रीय कार्यालय आएर सभापतिसमक्षा राख्न सक्नुहुन्न?”

केन्द्रीय समितिमा नेता थप्दा पनि विरोध

महामन्त्री घिमिरेका अनुसार, सभापति थापाले नेतासँग संवाद मात्रै गरेका छैनन्, १४औँ महाधिवेशनको नेतृत्व गरेका, विशेष महाधिवेशनमा छुटेकाहरूलाई केन्द्रीय समितिमा समेट्न सुरू गरेका छन्। त्यसको सुरूआतस्वरूप २८ वैशाखमा सभापति थापाले केन्द्रीय समितिमा नयाँ सदस्य मनोनयन गरे। थापाले केन्द्रीय समितिमा १९ जना थपेका थिए, जहाँ ११ जना देउवा पक्षका र आठ जना कोइराला पक्षका थिए।

यति मात्रै नभएर थापाले देउवा-कोइराला समूहका पुराना, अनुभवी र १४औँ महाधिवेशनका पदाधिकारीलाई वरिष्ठ नेता बनाएर लैजाने प्रस्ताव गरेका थिए। तर, यसलाई दुवै समूहले स्विकारेनन्।

कोइरालालाई उद्धृत गर्दै उनका स्वकीय सचिव दिनेशचन्द्र थपलिया नेतृत्वका के कस्ता प्रस्ताव हुन् भनेर आफूलाई जानकारी नभएको बताउँछन्। “सभापतिजीको प्रस्ताव कुनै मिडियाले भन्ने हो वा केन्द्रीय समितिले आधिकारिक रूपमा बताउने हो? पार्टी एकढिक्का बनाएर लैजाने अजेन्डा ल्याउनुपर्छ। पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरा अहिलेको केन्द्रीय समितिको हातमा छ।”

महामन्त्री घिमिरे ल्याइएका प्रस्तावमा छलफल गर्न केन्द्रीय समिति तयार रहेको बताउँछन्। तर, आफ्ना माग लिएर नेताहरू केन्द्रीय कार्यालय सानेपा आउनुपर्ने उनको भनाइ छ। “सधैँभरि सभापति नेताका घर-घर जान भ्याउनुहुन्न,” घिमिरे भन्छन्।