सेयरबजार
झन्डै पौने चार अर्बको कारोबारसँगै २७५४.४८ विन्दुमा नेप्से
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से दोहोरो अंकले बढेको छ। आजको दिनमा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ३०.०८ अंकले बढेको छ। हिजो (मंगलबार) भने नेप्से ६.५१ अंकले घटेको थियो। सोमबार पनि नेप्से १.०३ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा १.१० प्रतिशतले बढेको नेप्से २७५४.४८ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.६८ अंकले बढेर ४७१.०६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.७८ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.०३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८२ प्रतिशतले बढेको छ।
सेयरबजारमा बुधबार ३४६ कम्पनीको ५२ हजार ३३६ पटकको कारोबारमा एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ रुपैयाँको कारोबार भयो।
मंगलबार तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज २४८ कम्पनीका सेयरमूल्य बढे। २१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा एउटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका सूचक बढेर हरियाली बने।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.७३‚ विकास बैंक ०.४४‚ फाइनान्स १.४०‚ होटेल तथा पर्यटन १.८९‚ जलविद्युत् १.८९‚ लगानी १.१५‚ जीवन बिमा ०.९७ र उत्पादन तथा प्रशोधन समूहको सूचक १.१५ प्रतिशतले बढे।

यसैगरी लघुवित्त ०.६२‚ म्युचुअल फन्ड ०.८२‚ निर्जीवन बिमा ०.४४‚ अन्य १.०९ र व्यापार समूहको उपसूचक १.५१ प्रतिशतले बढेका छन्।
नेप्सेमा बुधबार अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् अपर लोहोरेखोलाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १३.२६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रह्यो। आज कर्पोरेटको १८ करोड ३५ लाख १३ हजार ४३७ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि प्रभु स्मार्ट फन्ड अगाडि रह्यो। बुधबार यसको आठ लाख ३९ हजार ७५० युनिट सेयर किनबेच भयो।
मंगलबार भने यसको १० लाख ५० हजार ८३० युनिट सेयर किनबेच भएको थियो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १३.१० रुपैयाँ कायम रह्यो।