काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ७.२५ अंकले बढेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
नेप्से सोमबार ४१.७० अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.२६ प्रतिशतले बढ्दै नेप्से २७२६.४९ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेर ४७२.४२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०३ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१० प्रतिशतले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रह्यो।
सेयरबजारमा मंगलबार ३४३ कम्पनीको ७५ हजार १० पटकको कारोबारमा एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भयो। सोमबार भने पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १०३ कम्पनीका सेयरमूल्य बढे। १६२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा पाँच समूहको सूचक बढ्यो भने आठ समूहका सूचक ओरालो लागे।
जसअनुसार नेप्सेमा मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.०९ प्रतिशतले बढ्दा‚ विकास बैंक ०.४०‚ फाइनान्स ०.६२‚ होटेल तथा पर्यटन ०.२३ र जलविद्युत् समूहको सूचक ०.०५ प्रतिशतले घट्यो।
यस्तै लगानी समूहको सूचक ०.४९ प्रतिशतले बढ्दा जीवन बिमा समूहको सूचक भने ०.१७ प्रतिशतले ओरालो लाग्यो।

उत्पादन तथा प्रशोधन समूहको सूचक ०.६४ प्रतिशतले बढ्दा लघुवित्त ०.०२‚ म्युचुअल फन्ड ०.७१ र निर्जीवन बिमा समूहको सूचक ०.१४ प्रतिशतले घट्यो।
यसैगरी अन्य १.२० र व्यापार समूहको उपसूचक भने २.८८ प्रतिशतले बढे।
नेप्सेमा मंगलबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतले आम्दानी गरे। यस्तै नबिल बैंकको डिबेन्चरका लगानीकर्ताले भने ७.४४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। मंगलबार यसको ५५ करोड ७७ लाख ५० हजार ७५४ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज रिडी नै अगाडि रह्यो। मंगलबार यसको १४ लाख ९७ हजार १६५ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७९ रुपैयाँ कायम रह्यो।