काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

क्रिकेट

स्कटल्यान्डसँगको जितपछि अमेरिको टोलीमा उत्साह

७ जेष्ठ २०८३
स्कटल्यान्डविरुद्ध विकेट लिएपछि नेपाली खेलाडी। तस्बिर : क्यान
अ+
अ-

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सातौँ स्थानको दबाबबाट सुरु भएको नेपालको यात्रामा अहिले आत्मविश्वास बढेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेका हालैका सात खेलमध्ये पाँचमा सानदार जित निकाल्दै नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। लयमा रहेको नेपाली टोली भोलि शुक्रबार अमेरिकाविरुद्ध हुने अन्तिम खेलमार्फत घरेलु शृंखलाको सुखद समापन गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

खेल बिहान साढे ९ बजे सुरु हुनेछ। नेपाली टोलीका लेगस्पिनर सन्दीप लामिछाने जारी शृंखला जितसहित टुंग्याउनुपर्ने बताउँछन्। “यो हाम्रो अन्तिम घरेलु शृंखला हो। सबैले राम्रो प्रदर्शन गरिरहेका छौँ। अब यही लयलाई निरन्तरता दिन चाहन्छौँ,” उनी भन्छन्।

सन्दीप लामिछाने। तस्बिर : क्यान

आठ टोली सहभागी लिग-२ को अंकतालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ। स्कटल्यान्ड पनि ३२ खेलबाट समान ३८ अंकसहित दोस्रो स्थानमा छ। ओमान २८ खेलमा ३१ अंकसहित तेस्रो, नेदरल्यान्ड्स २४ खेलबाट २८ अंकसहित चौथो स्थानमा रहँदा नेपाल २७ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा छ।

नेपाललाई फापेको त्रिवि

लिग-२ को शृंखलामा त्रिवि क्रिकेट मैदान नेपालका लागि सधैँ ‘भाग्यमानी’ साबित हुँदै आएको छ। सन् २०१९ देखि २०२३ सम्मको लिग-२ चक्रमा नेपालले आफ्ना अन्तिम आठ खेल यही मैदानमा खेलेको थियो। त्यसक्रममा नेपालले उक्त चक्रको विजेता स्कटल्यान्डलाई दुवै खेलमा पराजित गरेको थियो।

त्यति मात्रै होइन, नामिबियाविरुद्ध महत्त्वपूर्ण जित निकाल्दै नेपाल तेस्रो स्थानमा उक्लिएको थियो। यससँगै २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा सिधै स्थान बनाउन सफल भएको थियो।

यसपटक पनि नेपाल उस्तै उत्कृष्ट लयमा देखिएको छ। तेस्रो स्थानमा रहेको ओमानलाई ८१ रनले हराएको नेपालले स्कटल्यान्डविरुद्ध ६ विकेटको प्रभावशाली जित निकालिसकेको छ। यति मात्रै होइन, शीर्षस्थानमा रहेको अमेरिकालाई समेत नेपालले नौ विकेटले सहज रूपमा पराजित गरेको छ। त्रिविको पिच ब्याटिङअनुकूल मानिन्छ। यस पिचमा २८० देखि ३०० रनसम्मको लक्ष्य पनि पछ्याउन सकिने नेपाली टोलीका ओपनर कुशल भुर्तेल बताउँछन्।

आठ राष्ट्र सहभागी लिग-२ अन्तर्गत अमेरिकाले बुधबार उपाधि दाबेदार स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै पुनः शीर्षस्थान कब्जा गरेको छ। उक्त जितसँगै अमेरिका त्रिवि क्रिकेट मैदानमा जारी आफ्नो लामो जितविहीन यात्राको अन्त्य गर्न सफल भएको छ।

“पहिला ब्याटिङको मौका पाए हाम्रो लक्ष्य ३०० रनसम्म पुग्नु हुन्छ। त्यो स्कोर बनाउन सके हामी धेरै हदसम्म ढुक्क हुन सक्छौँ। नत्र हामीले त्यति रन पछ्याउन सक्ने ल्याकत राख्नुपर्ने हुन्छ,” उनी भन्छन्। यस लिग-२ चक्रमा ओमान, यूएई र स्कटल्यान्डले त्रिवि मैदानमा ३०० रन बनाइसकेका छन्। तर, नेपालले अहिलेसम्म त्यो उपलब्धि हासिल गर्न सकेको छैन।

यस मैदानमा नेपालको सबैभन्दा ठूलो स्कोर गत १ मेमा यूएईविरुद्ध बनाएको २८९ रन हो। २९० रनको लक्ष्य पछ्याएको यूएईलाई वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस पद्धतिअनुसार ६ विकेटले पराजित गरेको थियो। त्यसयता नेपालले ओमानविरुद्ध २५६ रन बनाएको छ भने अन्य खेलमा पहिला ब्याटिङ गर्ने अवसर नै पाएको छैन।

यस मैदानमा अमेरिकाविरुद्ध नेपालको प्रदर्शन प्रभावशाली रहँदै आएको छ। पछिल्ला तीन भेटमा अमेरिका नेपाली टोलीविरुद्ध कमजोर देखिएको छ। ८ फेब्रुअरी २०२० मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। त्यसको चार दिनपछि भएको अर्को भेटमा पनि नेपालले पाँच विकेटको जित हासिल गरेको थियो। यसपल्ट पनि नेपालले नौ विकेटको जित निकाल्दै आफ्नो दबदबा कायम राखेको छ।

नेपाल आफ्नो ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखसँगै भर्खरै डेब्यु गरेका ‘वान डाउन ब्याटर’ इशान पाण्डेबाट आशावादी देखिएको छ। तीन खेलपछि टोलीमा पुनरागमन गरेका भुर्तेलले अमेरिकाविरुद्ध अविजित १२० रनको सानदार इनिङ्स खेलेका थिए। ११८ बल सामना गरेका उनले १३ चौका र चार छक्का प्रहार गर्दै करिअरकै उत्कृष्ट प्रदर्शन गरे।

अमेरिकाविरुद्ध शतक प्रहार गरेका कुशल भुर्तेल। तस्बिर : क्यान

सोही खेलमा आसिफले पनि ५८ रनको महत्त्वपूर्ण रन बनाए। यी दुईले पहिलो विकेटका लागि १४५ रनको विशाल साझेदारी गर्दै जितको आधार तयार पारेका थिए। बाँकी काम भने सोही खेलमार्फत ‘डेब्यु’ गरेका इशानले पूरा गरे। उनले ३० बलमा एक चौकासहित अविजित २० रन बनाउँदै टोलीलाई सहज जिततर्फ डोर्‍याए।

स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा नेपालले ६ विकेटको प्रभावशाली जित निकालेको थियो। तर, भुर्तेल र आसिफले उल्लेखनीय योगदान दिन सकेनन्। तर, इशानले फेरि जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ६१ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५५ रनको गजबको इनिङ खेले।

अमेरिकाका मुख्य प्रशिक्षक पुबुदु दासानायके अमेरिकी खेलाडीहरू कुशल भुर्तेलबाट सजग हुनुपर्ने बताउँछन्। “भुर्तेल अत्यन्त प्रतिभाशाली खेलाडी हुन्। तीन खेलमा टिममा थिएनन्, फर्केर राम्रो प्रदर्शन गरिरहेका छन्। उनको ब्याटिङ शैली खतरनाक छ। जब उनी सेट हुन्छन्, म्याच विनर बन्छन्,” उनी भन्छन्।

खडेरी तोडेको अमेरिका

आठ राष्ट्र सहभागी लिग-२ अन्तर्गत अमेरिकाले बुधबार उपाधि दाबेदार स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै पुनः शीर्षस्थान कब्जा गरेको छ। उक्त जितसँगै अमेरिका त्रिवि क्रिकेट मैदानमा जारी आफ्नो लामो जितविहीन यात्राको अन्त्य गर्न सफल भएको छ।

अमेरिकाले सन् २०१९ देखि २०२३ सम्मको चक्रमा यस मैदानमा चार खेल खेलेको थियो। तर, ओमान र नेपालविरुद्ध भएका सबै खेलमा उसले हार बेहोरेको थियो। ती चार पराजयकै कारण अमेरिका ३५ अंकमा सीमित हुँदै अघिल्लो लिग-२ चक्र पाँचौँ स्थानमा रहेर टुंग्याउन बाध्य भयो। योसँगै उसले सिधै विश्वकप छनोटमा स्थान बनाउने मौका गुमाएको थियो।

यसपटक पनि त्रिवि मैदान अमेरिकाका लागि सुरुआतमा दुर्भाग्यपूर्ण बन्यो। लगातार ६ खेलमा अपराजित अमेरिकी टोली उपाधि सुनिश्चित गर्दै स्वदेश फर्कने लक्ष्यमा थियो। तर, कीर्तिपुरको मैदानले उसको योजना सहज बन्न दिएन।

स्कटल्यान्डविरुद्ध विकेट लिएपछि नेपाली खेलाडी। तस्बिर : क्यान

वर्षाले प्रभावित पहिलो खेलमा अमेरिका स्कटल्यान्डसँग डीएलएस पद्धतिमा दुई रनले पराजित भएको थियो। त्यसपछि नेपालले अमेरिकामाथि नौ विकेटको प्रभावशाली जित निकाल्यो। यो हारसँगै अमेरिकाले तालिकाको शीर्षस्थानसमेत गुमाएको थियो। तर, बुधबार स्कटल्यान्डविरुद्ध पुनरागमन गर्दै फेरि शीर्षस्थान हासिल गर्न सफल भएको छ।

स्कटल्यान्डविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित अमेरिकी अलराउन्डर सौरभ नेत्रभाल्कर पछिल्ला दुई खेलमा विपक्षीलाई धेरै रन दिनु नै हारको मुख्य कारण बनेको स्विकार्छन्। “विपक्षी टोलीहरूले हामीलाई राम्रोसँग आउटप्ले गरे। नेपालले उत्कृष्ट क्रिकेट खेल्यो। स्कटल्यान्डसँगको पहिले खेल निकै प्रतिस्पर्धात्मक थियो, तर हामीले पहिलो इनिङमा धेरै रन खर्चियौँ। आफ्नो योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफल भएनौँ,” उनी भन्छन्।