विराटनगर। विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टी डब्लूसीवाई विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगर जुटमिलको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
विराटनगरको जितमा दुवै गोल अमृत मिश्रले गरे। उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २१ सय रुपैयाँबाट पुरस्कृत भए।
खेलको २३औँ मिनेटमा अमृतले डिबक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर विराटनगरको त्यो खुसी धेरै समय टिक्न सकेन। अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै २९औँ मिनेटमा विराटनगरका सुजन चौधरीको खुट्टामा लागेर बलले आफ्नै पोस्टको जाली चुमेपछि खेल १-१ को बराबरीमा पुग्यो।
बराबरीपछि आक्रामक बनेको विराटनगरले ३३औँ मिनेटमा पुनः अग्रता लियो। शिशिर लेखीले निकालेको क्रस पासलाई सदुपयोग गर्दै अमृतले व्यक्तिगत दोस्रो गोल गरे। त्यही गोल नै विराटनगरको जितका लागि निर्णायक बन्यो।
पहिलो हाफमै २-१ ले पछि परेको पूर्वविजेता एपीएफले दोस्रो हाफमा सुधारिएको खेल पस्किए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो। २०७९ सालको दोस्रो संस्करणको विजेता एपीएफका लागि ६५औँ मिनेटमा सुमन लिम्बूको कडा प्रहार पोस्ट बाहिरियो। लगत्तै मनोज राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
प्रतियोगिताअन्तर्गत मंगलबार सुनसरीको इनरुवा फुटबल क्लब र लालीगुराँस स्पोर्टिङ क्लब रानी विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।