इतिहास
बीसौँ शताब्दीको मध्यसम्म फुटबल खैरो थियो। त्यसपछि यो भयो, सेतो। अनि, सेतो पृष्ठभूमिमा खण्ड खण्ड कालो। अहिले त फुटबल रंगीचंगी भइसक्यो। मानिसहरूले यसका रूप, बान्की र गतिमा आधारित भएर थुप्रै नाम दिएका छन्।
विख्यात उरुग्वेली लेखक एदुआर्दो गालेआनो (सन् १९४० – २०१५)को कृति सकर इन सन एन्ड स्याडो फुटबलको महागाथा हो। उनले यस खेलका सूक्ष्मातिसूक्ष्म आयाम केलाएका छन्। यसको इतिहासदेखि वर्तमानसम्म पर्गेलेका छन्। यस किताबमा फुटबलको त्यो अतीत पनि समेटिएको छ, जतिबेला यसलाई न फुटबल भनिन्थ्यो, न यो गोलो नै थियो। किताबका छोटाछरिता अध्यायमा कतै फुटबलप्रेमीको प्रेमासक्त दिल बोल्छ भने कतै धारिलो व्यंग्यकारको कटाक्ष बोल्छ। नाफाखोरहरूले यस खेलको सौन्दर्य कसरी सिध्याइरहेका छन्, त्यसप्रति गालेआनोको चरम आपत्ति छ।
सन् १९९७ मा स्पेनिस भाषामा प्रकाशित यस किताबलाई सन् २०१३ मा मार्क फ्राइडले अंग्रेजीमा अनुवाद गरेका थिए। गालेआनोको पुस्तकबाट गरिएको केही अंशको अनुवाद यहाँ प्रस्तुत छ :
रेफ्री
स्पेनी भाषामा उसलाई ‘आर्बित्रो’ भनिन्छ। नामैले स्वेच्छाचारी! रेफ्री निन्दनीय तानाशाह हो, जो आफ्नो तानाशाही निर्बाध चलाउँछ। नाटकीय आडम्बर प्रदर्शन गर्दै निरपेक्ष शक्तिको अभ्यास गर्ने ऊ हो, दम्भी जल्लाद। जब ऊ ओठका बीचमा च्यापिएको सिटी फुक्छ, गोलको भाग्यको निर्मम फैसला गर्ने हुरी ल्याउँछ। र, यसरी कुनै गोललाई मान्यता दिन्छ, कुनैलाई दिँदैन। आफ्ना हातका कार्डले ऊ बर्बादीका रङ देखाउँछ: पहेँलो- दोषीलाई दण्डित गर्न र प्रायश्चित्तका निम्ति बाध्य तुल्याउन; अनि रातो- उसलाई निर्वासनमा पठाउन।
लाइन्सम्यानहरू केवल सहयोगी हुन्। उनीहरूको हैकम चल्दैन। किनारामा उभिएर हेरिरहन्छन्। खेल मैदानमा छिर्नेबित्तिकै; रेफ्री जब होहल्ला र गर्जनामा डुबेको भिडको सम्मुख पर्छ, ऊ ईश्वरसँग प्रार्थना गर्छ; जो सोह्रै आना जायज छ। उसको काम नै आफूलाई घृणाको पात्र बनाउनु हो। फुटबलमा पाइने एक मात्र वैश्विक भावना के हो भने, सबैले रेफ्रीलाई घृणा गर्छन्। उसले कहिल्यै कसैको तारिफ पाउँदैन। पाउँछ त केवल गाली, गुनासो र मुर्दावाद।

१३ अगस्ट १९२७ मा हाइबरीमा पहिलो र दोस्रो टोलीबीच भएको प्रि-सिजन खेलअघि आर्सनल एफसीका खेलाडी केनेडी र ब्लाइथ। उक्त खेलमा परम्परागत खैरो रङको छालाको बलको विकल्पका रूपमा सेतो बलको परीक्षण गरिएको थियो। तस्बिर : एडवर्ड जी. मालिन्डाइन/गेटी इमेजेज्
ऊजति दौडिने को होला? उसको स्याँस्याँ बाइसै जना खेलाडीका कानमा ठोक्किन्छ। यो हस्तक्षेपकर्ता खेलअवधिभर एक निमेष नसुस्ताई दौडिरहन अभिशप्त छ। घोडा जस्तै दौडिन्छ र कम्मर भँचाइमाग्छ। यी सारा यन्त्रणाबापत उसले के पाउँछ? के पाउनु? उल्टै, भिड उसको सत्यानाश होस् भनेर चिच्याइरहेको हुन्छ। खेलको सुरुदेखि अन्त्यसम्म बलको पछि पछि दौडिएर ऊ पसिनाको समुद्रै बगाउँछ। बल भने अरूकै खुट्टामा नाचिरहेको हुन्छ। कहिले यसको, कहिले उसको। निःसन्देह, उसलाई पनि खेल्न मन लाग्छ, तर त्यो सौभाग्य उसले कहिल्यै पाउँदैन। कदाचित् बल उसको जिउमा ठोक्कियो भने सिंगो रंगशाला उसकी आमालाई दुर्वाच्य बोलिरहेको हुन्छ। यति हुँदाहुँदै अपमान, उपहास र निन्दा सहन, अनि ढुंगै खान पनि ऊ तयार हुन्छ। केका खातिर? बस, त्यो पवित्र हरित स्थलमा उपस्थित हुनका खातिर; जहाँ बल तैरिन्छ, उड्छ, हावासँग बात मार्छ।
आक्कलझुक्कल उसको निर्णय समर्थकहरूको चाहना र झुकावसँग मेल खाने किसिमको हुन्छ। तर, त्यति बेला पनि ऊ सुरक्षित र अपजसरहित रहँदैन। हार्नेले आफ्नो हारको जिम्मेवार उसैलाई ठहर्याउँछन्। जित्नेलाई लाग्छ, यसले जति भाँजो हाले पनि हामीले जित्यौँ। हरेक त्रुटिको दोष उसकै थाप्लोमा। हरेक दुर्भाग्यको कारण उही। ऊ हुँदैनथ्यो भने समर्थकहरूले उसलाई आविष्कार गर्नुपर्ने खण्ड आइलाग्थ्यो। धन्न ऊ छ, उसको अस्तित्व छ! फुटबलप्रेमी उसलाई जति धेरै घृणा गर्छन्, उति धेरै उनीहरूलाई उसको खाँचो पर्छ। एक शताब्दीभन्दा बेसी रेफ्रीले कालो पहिरन धारण गर्यो। मतलब, बरखी बार्यो। कसको बरखी? आफ्नै बरखी। अचेलहुँदो आफ्ना दुःखपीडा छोप्न ऊ चम्किलो पोसाकमा सजिने गर्छ।
बल
उहिले चिनियाँहरू भाङको धुस्नो भरिएको छालाको बल खेल्थे। फराहहरूको पालामा इजिप्टका जनता रंगीन कपडाको थैलोमा पराल, छ्वाली वा भुस खाँदखुँद पारेर बल बनाउँथे। ग्रिक र रोमनले भने साँढेको मूत्राशय प्रयोग गरे। हावा भर्यो र सिलाइ गर्यो, बस बल तयार! मध्य युग र पश्चात् पुनर्जागरणकालका युरोपेलीहरूले भने घोडाका रौँ भरिएका अन्डाकार बल खेले। उता अमेरिकामा रबरको बल बन्यो। त्यो जिनिस उत्पातै उफ्रिन्थ्यो। स्पेनी दरबारका इतिवृत्तकारहरूले यस्तो बलको एउटा किस्सा कहेका छन्। सैन्य उपनिवेशकर्ता हर्नान कोर्तेले सम्राट् चार्ल्सका अगाडि मेक्सिकन बल उफारेछन्। त्यो भुइँमा ठोक्किएर यति माथि पुगेछ, सम्राट् छक्क परेर हेरेको हेर्यै भएछन्।
रबरको थैलोमा हावा भरेर, अनि त्यसलाई छालाले मोहोरेर बनाइएको बल जन्मियो, उन्नाइसौँ शताब्दीको मध्यतिर। कनेक्टिकटका एक जना अमेरिकी चार्ल्स गुडइयरको प्रतिभालाई सलाम! त्यसको धेरै पछि कोर्दोबाका तीन जना अर्जेन्टिनी तोसोलिनी, भाल्बोनेसी र पोलोले बललाई तुना र धागोबाट मुक्त गरे। उनीहरूले पम्पले हावा भर्न मिल्ने भल्भसहितको थैलो आविष्कार गरेका थिए। यी तीन प्रतिभाकै कारण सन् १९३८ को विश्वकपदेखि खेलाडीले बललाई ढुक्कसाथ टाउकाले प्रहार गर्न पाए। पहिले त बल सिउन प्रयोग गरिने लेसका कारण टाउकामा घाउचोट लाग्ने गर्थ्यो।

अमेरिकाको इन्डियाना राज्यस्थित ब्लुमिङ्टनमा भएको खेलमा इन्डियाना हुजरका खेलाडी क्रिस क्लेइन (रातो जर्सीमा) गोलपोस्टमा वा पास दिन बल प्रहार गर्दै। तस्बिर : विकिपिडिया
बीसौँ शताब्दीको मध्यसम्म फुटबल खैरो थियो। त्यसपछि यो भयो, सेतो। अनि, सेतो पृष्ठभूमिमा खण्ड खण्ड कालो। अहिले त फुटबल रंगीचंगी भइसक्यो। पोलियुरेथेनको परिधानमा ६० सेन्टिमिटरको कम्मरसहित उपस्थित हुन्छ यो। उहिलेको छालाको बल हेरीकन असाध्यै हलुको छ। वजन मुस्किलले साढे ४०० ग्राम होला। यसलाई पानीले असर गर्दैन। पहिले त पानी पर्यो भने छालाको बल डेग चल्दैनथ्यो। त्योभन्दा अहिलेको बल कता हो कता तीव्र गतिमा यात्रा गर्छ।
मानिसहरूले यसलाई थुप्रै नाम दिएका छन्, यसका रूप, बान्की र गतिमा आधारित भएर। कतै त यसलाई तोपगोला पनि भन्दा रहेछन्। ब्राजिलमा फुटबल महिला हो भन्नेमा कसैलाई कुनै संशय छैन। त्यसैले त ब्राजिलीहरू उनलाई ‘मोटी’, ‘भुन्टी’, ‘प्रेयसी’, ‘सुन्दरी’ भनेर सम्बोधन गर्छन् र मारिकोता, लियोनोर, मार्गरिता आदि नाम दिन्छन्।
पेलेले माराकान्या रंगशालामा एक हजारौँ गोल गरेपछि उनलाई चुमे। अर्जेन्टिनी खेलाडी दी स्तेफानोले आफ्नो घरअगाडि ढलोटको बलको सालिक बनाए। त्यसको मुनि, फलकमा लेखिएको थियो, ‘धन्यवाद प्यारी!’
फुटबललाई रुष्ट हुन ठूलो कारण चाहिँदैन। द्वेष वा बदलाभावका लात्ती एवम् प्रहार उनलाई सह्य छैन। उनी त मायालु स्पर्श, सुमसुम्याइ र चुम्बन चाहन्छिन्। कसैले थुपथुपाएर उनलाई आफ्नो छाती वा पाउमा सुताओस्; उनको हठ र माग यत्ति हो।
उनी बफादार छिन्। निष्ठावान् छिन्। सन् १९३० को विश्वकपको अन्तिम स्पर्धामा अर्जेन्टिना र उरुग्वेले आआफ्ना बलले खेल्ने हठ गरे। सन्त सोलोमनसरि मनीषी रेफ्रीले पहिलो अर्धभाग अर्जेन्टिनी बल र दोस्रो अर्धभाग उरुग्वेली बलले खेल्ने निर्णय गरे। अर्जेन्टिनाले पहिलो र उरुग्वेले दोस्रो हाफ जिते। त्यसैले त भनेको उनी बफादार छिन्। तर, उनी चञ्चल हुन पनि बेर लाउँदिनन्। गोलपोस्टमा प्रवेश गर्न अस्वीकार गर्न सक्छिन्। किनभने, गोलपोस्टतर्फको यात्रामा, मध्यउडानमा भनूँ, उनको मन बदलिन सक्छ र उनी अन्यत्र मोडिन सक्छिन्।
थाहा पाउनुभयो नि, उनलाई रुष्ट हुन ठूलो कारण चाहिँदैन। द्वेष वा बदलाभावका लात्ती एवम् प्रहार उनलाई सह्य छैन। उनी त मायालु स्पर्श, सुमसुम्याइ र चुम्बन चाहन्छिन्। कसैले थुपथुपाएर उनलाई आफ्नो छाती वा पाउमा सुताओस्; उनको हठ र माग यत्ति हो। उनी अभिमानी छिन्। उनलाई तपाईं मिथ्याभिमानी पनि भन्न सक्नुहुन्छ। उनी किन यस्ती छिन्? सहजै बुझ्न सकिन्छ। किनभने, उनलाई आफ्नो सामर्थ्य राम्ररी थाहा छ। जब उनी सुन्दर र मनोहर तवरले लहराउँछिन्, असंख्य मुटु उल्लासले भरिन्छन्। अनि, जब उनी बेढंगले अवतरित हुन्छिन्, असंख्य मुटु चकनाचुर हुन्छन्।
रंगमञ्च
फुटबलको विशाल रंगमञ्चभित्र कति ससाना रंगमञ्चहरूले बास पाएका होलान्? हरियो घाँसे–आयातभित्र कति वटा मञ्च अटाउँदा हुन्? सबै खेलाडी खुट्टाले मात्रै खेल्छन् भन्ने छैन। कतिपयले त अरूलाई यन्त्रणा दिने कलामा महारथ हासिल गरेका हुन्छन्। यस्तो कुनै खेलाडी कमिला पनि नमार्ला जस्तो सन्तको मखुन्डो धारण गर्छ। कर्ततु चाहिँ उसको भनिसाध्य हुन्न। चोट पुर्याउने कलाको यो उस्ताद विपक्षीलाई थुक्छ, अश्लील गाली बक्छ, गर्नुसम्म अनादर गर्छ। अनेक जालझेल गर्छ। धकेल्नु त सामान्य भइहाल्यो; कुहिनोले विपक्षीको चिउँडोमा जमाएर दिन्छ, त्यतिले नपुगेर करङमा अर्को कुहिनो बजार्छ। उसको कपाल र जर्सी तान्छ। विपक्षी उभिएको छ भने उसको खुट्टामा, अनि लडेको छ भने हातमा कुल्चिदिन्छ। यी यावत् हर्कत उसले रेफ्रीको पिठ्युँपछाडि सम्पन्न गरिरहेको हुन्छ। लाइन्सम्यानहरूलाई त उसले छक्याउने नै भयो। तिनलाई आकाशका बादल हेर्दैमा फुर्सद कहाँ?

एदुआर्दो गालेआनो।
कोही कोही फाइदा उठाउने कलामा प्रवीण हुन्छन्। यस्तो चरित्रको कुनै खेलाडी लाचार र बेवकुफको मखुन्डो भिर्छ, तर हुन्छ चौपट्टै बाठो। पेनाल्टी, फ्री-किक र थ्रो-इन लिने बेलामा उसले देखाउने चतुर्याइँ हेर्नलायक हुन्छ। रेफ्रीले तोकिदिएको थलोबाट दुईचार कदम गोलमाल गरिहाल्छ। अनि, विपक्षीले फ्री-किक पाउँदा जब पर्खाल बनाएर उभिनुपर्ने हुन्छ, ऊ खुट्टा अलिकति पनि नउठाई त्यस थलोमा पुग्छ, जहाँ उभिँदा बल हान्न ठिक्क परेको खेलाडीलाई अवरोध पुग्छ। ऊ यो प्रक्रिया यसरी सम्पन्न गर्छ, मानौँ जादुई गलैँचाले उसलाई त्यहाँ पुर्याएको होस्।
फुटबलको रंगमञ्चमा केही यस्ता कलाकार पनि छन्, जो समयको अपव्यय गर्ने कलामा अद्वितीय हुन्छन्। समय खेर फाल्नमा विशारद कुनै खेलाडी अर्थात् कलाकारले भर्खरैजसो सूली चढेको सहिदको मखुन्डो धारण गरेको हुन्छ। ऊ पीडामा छटपटाउँछ, लडीबुडी गर्छ। घुँडा या टाउको समाएर घाइते भएको अभिनय गर्छ। घाँसमा घोप्टो परेर सुतिदिन्छ। एक मिनेट, दुई मिनेट, तीन मिनेट गरेर समय बित्दै जान्छ। तब आउँछ, पवित्र हातवाला एक जना मोटो मालिसविज्ञ। ऊ आउँछ चिप्लेकीराको गतिमा ‘दौडिँदै’, असिनपसिन भएर, काँधमा रुमाल भिरेर। उसको जिउबाट मलमको तिखो गन्ध आउँछ। उसको एक हातमा तुम्लेट र अर्को हातमा अचुक औषधि हुन्छ। मैदानमा ढलेको सहिदसँगै घन्टौँ बित्छ, वर्षौं बित्छ…। अन्त्यमा रेफ्रीले शवलाई मैदानबाट उठाएर बाहिर लैजाने आदेश दिन्छ। र, अचानक खेलाडी फुर्तीसाथ स्ट्रेचरबाट उठ्छ। यसरी पुनर्जीवनको चमत्कार घटित हुन्छ।
अंग्रेजको धावा
अर्जेन्टिनाको राजधानी बुएनोस आइरेसमा, एउटा पागलखानाअगाडिको खाली चौरमा सुनौलो कपाल भएका १०-१२ जना केटा एउटा गोलाकार चिजलाई लात्ताले हानेर यताउता हुत्याइरहेका थिए। परबाट आँखा च्यातेर यो दृश्य नियालिरहेका थिए, एक जना मान्छे र उसको सानो छोरा।
“यिनीहरू को हुन्, बाबा?” छोराले सोध्यो।
साम्राज्य फैलिँदै जाँदा फुटबल पनि ब्रिटिस निर्यात भयो। कपडा, रेलमार्ग, व्यावसायिक ऋण, खुला व्यापारको सिद्धान्त जस्तै ब्रिटिसहरूले फुटबल पनि निर्यात गरे।
“को हुनु नि, बौलाहाहरू,” बाउ चाहिँले भन्यो, “बौलाहा अंग्रेजहरू।”
अर्जेन्टिनी पत्रकार हुआन होसे दे सोइजा रेइलीको बाल्यकालीन स्मृति हो, यो। रिभर प्लेटमा फुटबल सुरुमा बौलाहा र सनकीहरूको खेल जस्तो देखियो। साम्राज्य फैलिँदै जाँदा यो पनि ब्रिटिस निर्यात भयो। म्यान्चेस्टरको कपडा, रेलमार्ग, व्यावसायिक ऋण, खुला व्यापारको सिद्धान्त जस्तै ब्रिटिसहरूले फुटबल पनि निर्यात गरे। र, यसरी यो आइपुग्यो, नाविकहरूको खुट्टामा। महारानी भिक्टोरियाको पानीजहाज बुएनोस आइरेस र उरुग्वेको राजधानी मोन्तेभिदिओका बन्दरगाहमा रोकिन्थ्यो। मजदुरहरू जहाजबाट सिरक, छालाका जुत्ता, पिठो, आदि उतार्थे। त्यसपछि त्यही जहाजमा ऊन, जनावरका छाला र गहुँ लाद्थे। किनभने, संसारको अर्को कुनामा धेरैभन्दा धेरै सिरक, जुत्ता र पिठो उत्पादन जो गर्नु थियो। जहाजबाट मजदुरहरूले सामान उतार्ने र लाद्ने समयमा नाविकहरू भने तटबन्धमा फुटबल खेलिरहेका हुन्थे।
अंग्रेजहरूले उरुग्वे र अर्जेन्टिनामा पहिलो स्थानीय फुटबल क्लब बनाए। कूटनीतिज्ञ, रेलमार्ग र ग्यास कम्पनीका हाकिमहरू क्लबका सदस्य थिए। मोन्तेभिदिओ र बुएनोस आइरेसका अंग्रेजहरूले सन् १८८९ मा उरुग्वेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा आयोजना गरे। रंगशालामा महारानी भिक्टोरियाको भीमकाय छविचित्र टाँगिएको थियो। तिरस्कारको मुद्रामा उनका आँखा झुकेका थिए। समुद्रकी महारानीको अर्को यस्तै तस्बिरले सन् १८९५ मा पहिलो ब्राजिली फुटबल खेल नियालेको थियो। त्यो खेल ग्यास कम्पनी र साओ पाउलो रेलवेका ब्रिटिस प्रजाहरूबीच भएको थियो।
बाल्यकालदेखि नै अल्बेर कामुले गोलरक्षक भएर खेले। गोलरक्षकले धेरै कुद्नुपर्दैनथ्यो। यसको गजबको फाइदा भनेको जुत्ता चाँडै फाट्दैनथ्यो। गरिबको घरमा जन्मेका कामुलाई चौरमा बतासिएर दौडिने विलासिता कहाँ प्राप्त थियो र?
पुराना तस्बिरमा यी अगुवाहरू रातो रातो खैरो रङमा देखिन्छन्। उनीहरू थिए, लडाइँका लागि प्रशिक्षित योद्धा। तिनका शरीरमा हुन्थ्यो, कपास र ऊनका कवच। यसको कारण थियो। खेल हेर्नेमा रेसमको छाता ओढ्ने र जालीरुमाल हल्लाउने मेमसाहबहरू पनि हुन्थे। तिनको अदब राख्न खेलाडीले आफूलाई शिरदेखि पाउसम्म ढाक्नुपर्थ्यो। उनीहरूको अनुहार मात्र देखिन्थ्यो, जो गम्भीर हुन्थ्यो। ह्याटमुनि मैन दलेर घुम्य्राइएका जुँगाले चियाइरहेको हुन्थ्यो। म्यान्सफिल्ड कम्पनीको गह्रुँगा जुत्तामा खुट्टा घुसारेर ती खेल्थे।
फुटबलको संक्रमण फैलिन धेरै समय लागेन। रैथाने भद्रभलादमीले विलम्ब नगरी त्यस उदेकलाग्दो अंग्रेजी खेल खेल्न थाले। तिनले फुटबल खेल्दा लगाइने कमिज, जुत्ता, बाक्ला मोजा र प्यान्ट लन्डनबाट मगाए। प्यान्ट कस्तो हुन्थ्यो भने छातीबाट सुरु भएर घुँडामुनिसम्म पुग्थ्यो। अब बलले भन्सारका कर्मचारीलाई अन्योलमा पार्न छोडेको थियो। पहिले त यसलाई कुन प्रजातिभित्र राख्ने हो, तिनले मेसै पाउँदैनथे। दक्षिणी अमेरिकाका सुदूर समुद्रतटमा जहाजले फुटबलका नियम-पुस्तिकाहरू पनि ल्यायो। तीसँगै आइपुगे, युगौँयुग प्रचलित हुनेवाला शब्दहरू– फिल्ड, स्कोर, गोल, गोलकिपर, ब्याक, हाफ, फर्वार्ड, आउट बल, पेनाल्टी, अफसाइड। रिभर प्लेटमा बाँडिएको पहिलो फुटबल नियम-पुस्तिकामा लेखिएअनुसार ‘रेफ्री’ द्वारा करार गरिएको ‘फाउल’ सजाय घाइते वा पीडित खेलाडीले माफ गर्न सक्थ्यो। सर्त यति मात्र– ‘दोषी खेलाडीले मनैदेखि माफी माग्नुपर्थ्यो र माफीनामा समुचित अंग्रेजी भाषामा हुनुपर्थ्यो।’
उता, क्यारेबियाली क्षेत्रका ल्याटिन अमेरिकी देशका बोलीमा अन्य अंग्रेजी शब्दहरू घुसिरहेका थिए– पिचर, क्याचर, इनिङ्ज। संयुक्त राज्य अमेरिकाको प्रभावमा परेर यी देशले काठको बाटुलो मुंग्रोले सेतो बल हान्न सिके। यस क्षेत्रमा साम्राज्यवादी हैकम लाद्न आएका अमेरिकी नौसेनिकहरूको काँधमा बन्दुकसँगै ब्याट पनि झुन्डिरहेको हुन्थ्यो। हामी दक्षिण अमेरिकीका लागि फुटबल जे हो, क्यारेबियाली जनका लागि बेसबल त्यही हो।
कामु
सन् १९३० मा अल्बेर कामु अल्जियर्स विश्वविद्यालयको फुटबल टोलीका सन्त पिटर थिए। पिटर थिए स्वर्गको पर्ली द्वारका रक्षक। कामु थिए, गोलरक्षक। बाल्यकालदेखि नै उनी यस भूमिकामा हुन्थे। किनभने, गोलरक्षकले धेरै कुद्नुपर्दैनथ्यो। यसको गजबको फाइदा भनेको जुत्ता चाँडै फाट्दैनथ्यो। गरिबको घरमा जन्मेका कामुलाई चौरमा बतासिएर दौडिने विलासिता कहाँ प्राप्त थियो र! हरेक साँझ हजुरआमा उनको जुत्ताको तलुवा जाँच्थिन्। त्यहाँ अलिकति पनि चिरा परेको देखिन् भने कामुको डँडाल्नोले दुःख पाउँथ्यो।

अल्बेर कामु।
गोलपोस्ट रुँगेर बिताएका वर्षहरूले कामुलाई धेरै थोक सिकाए। ‘मैले के थाहा पाएँ भने बल तपाईंले अपेक्षा गरेको ठाउँमा कहिल्यै आइपुग्दैन,’ उनले भनेका छन्, ‘यस पाठले मलाई जीवनमा धेरै सघाएको छ। विशेषतः ठूला सहरका मानिसलाई मैले राम्ररी बुझ्न सकेँ। ती जे हुँ भन्ने दाबी गर्छन्, त्यस्ता हुँदैनन्।’
उनले अर्को एउटा कुरा पनि सिके। आफूलाई ईश्वर जस्तो नठानी जित्न सिके र तुच्छ नठानी हार्न सिके। यो सजिलै सिकिने सीप होइन। कामुले मानव मनका रहस्यहरू सुल्झाउन सिके। अलि पछि, सायद फुटबलकै पृष्ठभूमिका कारण होला, अक्षर र पानाहरूको खतरनाक यात्रामा उनले जीवनका भुलभुलैया खोजी गर्न सके।
अनुवाद : विनोदविक्रम केसी