काठमाडौँ। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियामा पहिलोपटक सांगीतिक कार्यक्रम गर्दैछ। १ जुन अर्थात १८ जेठमा नेपथ्य समुहले मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुति दिने भएका हुन्।
क्वालालम्पुरको ‘जेप क्वालालम्पुर’मा सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्ने नेपथ्य व्यवस्थापन समुहले जनाएको छ।
जापानको जेप नेटवर्कअन्तर्गत रहेर चार वर्षअघि मात्र तयार भएको यो अन्तर्राष्ट्रिय रंगमंच सहरकै मुख्य पर्यटकीय गन्तव्य बुकित बिन्ताङमा अवस्थित छ।
स्थापनाको साढे तीन दसक लामो यात्रामा पहिलोपटक यो मुलुकका दर्शकमाझ उपस्थित हुनलागेको नेपथ्यका लागि मलेसिया २० औं देश हुनेछ भने क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर हो।
नेपथ्यका मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ मलेसियामा हुने प्रस्तुतीका लागि उत्साहित रहेको बताउँछन्।
‘मलेसियाबाट धेरै अगाडिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपाला बल्ल भेटघाटको जोग जुर्न लागेकोमा असाध्यै खुसी छु,’ गुरुङ भन्छन्, ‘रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई टेको दिने तन्नेरीहरूसँग स्वदेशको माया बाँड्न म र मेरो टिम आतुर छौँ।’
आफूहरू बसोबास गर्दै आएको स्थानमा नेपथ्यको पहिलो उपस्थितिलाई लिएर क्वालालम्पुर मात्र नभई पर-परसम्मका नेपालीबीच पनि व्यापक चासो अनि उत्साह देखिएको स्थानीय आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ ले जनाएको छ। 
‘जताततैका जमघटहरुमा कन्सर्टबारे चर्चा चल्न थालेको छ भने फोनमार्फत जिज्ञासा राख्नेहरू पनि दिनदिनै बढिरहेका छन्,’ आयोजक संस्थाका विपिन नकर्मी भन्छन्,‘दर्शकको सुविधाका लागि सकेसम्म बन्दोबस्त मिलाइरहेका छौँ।’
विपिनका अनुसार अनलाइन बाहेकका माध्यमबाट टिकट काट्ने दर्शकलाई गाह्रो नपरोस् भनेर दर्शकको घरसम्मै टिकट ‘डेलिभरी’ को व्यवस्था पनि मिलाइएको छ।
विभिन्न मुलुक र तिनका सहरहरू नेपथ्यको उपस्थितिसँगै सिंगो नेपाली संगीत क्षेत्रका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आएका छन्।
ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ मलेसियामा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकहरुको स्वादमा बढोत्तरीका लागि स्तरीय कार्यक्रमस्थल देखि प्रस्तुतिका विभिन्न पाटामा उत्तिकै ध्यान पुर्याएको बताउँछन्।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने व्यवस्थापन पक्षले जनाएको छ।
कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ ।
नेपथ्य समुह गत साता मात्रै क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर नेपाल फर्केको थियो।