काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउपुर्जीको तत्काल कार्यान्वयन नगर्न अल्पलीन आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले आज (बुधबार) शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन आदेश गरेको हो।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउपुर्जी बदर गर्न आदेशको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए। अदालतले उक्त विषयमा १५ दिनभित्र लिखित जवाफसमेत माग गरेको छ।
सांसद शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको थियो।