काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१३ जेष्ठ २०८३
भैरहवा भन्सार। तस्बिर : सीपी खनाल
अ+
अ-

बुटवल। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा भैरहवा भन्सार हुँदै १८ अर्ब ९६ करोड रुपैयाँ मूल्य बराबरका मोटरसाइकल आयात भएकोछ।

चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म १ लाख ४८ हजार ८५२ युनिट मोटरसाइकल आयात भएको भन्सार कार्यालयले जनाएको छ। जसको कुल मूल्य १८ अर्ब ९६ करोड, २७ लाख १८ हजार रुपैयाँ कायम रहेको छ।  यी मोटरसाइकल उपभोक्तासम्म आइपुग्दा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र प्रतिगोटा १८ हजार रुपैयाँ सडक दस्तुर लाग्छ।

भन्सार करबाट चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १८ अर्ब ११ करोड ३३ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१\८२ को १० महिनाको अवधिमा १ लाख १४ हजार ५२२ वटा मोटरसाइकल रुपन्देहीको बेलहियाबाट आयात भएको थियो। जसको मूल्य १३ अर्ब ४१ करोड १२ लाख ३५ हजार रुपैयाँ रहेको थियो भने सो अवधिमा मोटरसाइकल आयातबाट १३ अर्ब ७६ करोड ९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

गतवर्षको १० महिनाको अवधिको तुलनामा यो वर्ष मोटरसाइकलबाट ४ अर्ब ३५ करोड रुपैयाँ राजस्व वृद्धि भएको छ।

भैरहवा भन्सारबाट भित्रिने सामग्रीमध्ये सबैभन्दा धेरै राजस्व उठ्नेमध्ये सवारी मोटरसाइकलबाट उठ्ने गरेको भन्सारको तथ्यांकमा उल्लेख छ। चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म ४ हजार ३७३ पेट्रोलबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २ हजार ८०० वटा मात्र जीप कार भ्यान आयात भएको थियो।

साना र हलुका गाडीको आयात बढ्दा राजस्वमा पनि वृद्धि भएको छ। पछिल्लो १० महिनाको अवधिमा ४ अर्ब ३६ करोड ८४ लाख ९६ हजार रुपैयाँको जीप कार र भ्यान आयात भएको थियो। जसबाट हालसम्म १० अर्ब ३० करोड ९६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ अर्ब १९ करोड ६६ लाख २० हजार रुपैयाँको जीप, कार र भ्यान आयात भएको थियो। जसबाट ८ अर्ब ३० करोड १९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। चार चक्के हलुका गाडीमा २ सयदेखि ३ सय प्रतिशतसम्म भन्सार लगायतका कर तिर्नुपर्ने हुन्छ।

पेट्रोलियम गाडीको आयात र राजस्व बढ्‌दा विद्युतीय साना गाडीको आयात र राजस्व भने घटेको देखिएको छ।

चालू आर्थिक वर्षमा बैशाख मसान्तसम्म २ हजार १९ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ। जसको ४ अर्ब २५ करोड १९ लाख ८० हजार मूल्य कायम गरिएको थियो। यो मूल्यका आधारमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म २ अर्ब ३० करोड ४३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ हजार २७० विद्युतीय जीप,कार र भ्यान भित्रिएको छ। जसबाट ४ अर्ब ५० करोड १९ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। बजारमा रहेका धेरैजसो विद्युतीय गाडी चीनबाट आयात भएको हुँदा भैरहवाबाट विद्युतीय गाडीको आयात घटेको हुनसक्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।