काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१५ जेष्ठ २०८३
अर्थमन्त्रीस्वर्णिम वाग्ले। तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+
अ-

काठमाडौँ। सरकारले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई बृहत् सुधार गर्ने घोषणा गरेको छ।

संघीय संसद्‌मा शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायको रूपमा रूपान्तरण गर्ने घोषणा गरे।

न्यूनतम दुई करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पायलट कार्यक्रमको तयारी गरेको उनले बताए। उनले उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म यस्तो अनुदान वार्षिक १० प्रतिशतका दरले शोध भर्न हुने उल्लेख गरे।

वास्तविक कृषकलाई उन्नत बिउ, मल, सिँचाइ, विद्युत् तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्ने सरकारको बजेटमा उल्लेख छ। मन्त्री वाग्लेले ठूला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी स्रोत व्यवस्था गरेको जानकारी दिए।

किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, ब्याज अनुदानजस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको उनले बताए। उनले कृषि सेवा प्रणालीलाई किसानकेन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्ने, देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको जानकारी दिए।

मन्त्री वाग्लेले कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमनसहितको कानुनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेस गर्ने जानकारी दिए। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेसमेत उनले घोषणा गरे।

उनले दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्द्धन गर्ने बताए।

हेर्नुहोस् लाइभ :