काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१५ जेष्ठ २०८३
अ+
अ-

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ९‚ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ।

केही वर्षअघि नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ। स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगामा खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गरेका हुन्। गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब तीन हजार केजीभन्दा बढी उत्पादन भएको चौधरीले बताए।

विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ। आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगासम्म पुर्‍याउने योजना पनि उनले बनाएका छन्।

खरबुजा खेतीसँगै बेमौसमी तरकारी उत्पादनको तयारीसमेत भइरहेको छ। कृषिलाई दीर्घकालीन आम्दानी र रोजगारीको आधार बनाउने लक्ष्यसहित अघि बढेको यस योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ।

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले अर्ग्यानिक तथा नमुना खेतीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन्। बलौटे तथा दोमट माटो खरबुजा खेतीका लागि उपयुक्त मानिने भएकाले उदयपुरको त्रियुगा नदी आसपासका क्षेत्रमा यसको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन्।

कृषिमा सम्भावना खोज्दै युवाहरू गाउँमै स्वरोजगार बन्ने अवसर प्रप्त हुन थालेपछि उदयपुरमा व्यावसायिक खरबुजा खेतीप्रति आकर्षण बढ्दै गएको छ।