इन्धन
अन्तर्राष्ट्रिय मूल्य बढे पनि इन्धनको भाउ बढेन
काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढे पनि खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको छ।
निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भइरहेको छ। सोहीअनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य नबढाउने निर्णय गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विज्ञप्तिमार्फत जनाएका हुन्।
निगम सञ्चालक समितिको १७ जेठको बैठकले १८ जेठ बिहान ००:०१ बजेदेखि लागू हुनेगरी साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो।
हाल कायम मूल्यअनुसार पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, २१६ रुपैयाँ र २१७ रुपैयाँ कायम छ भने डिजेल तथा मट्टितेलको मूल्य क्रमशः २२२ रुपैयाँ ५० पैसा, २२४ रुपैयाँ र २२५ रुपैयाँ छ।
यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर १‚८३१ अमेरिकी डलर कायम छ। एलपी ग्यासको मूल्य १४.२ केजीका लागि २१६० रुपैयाँ तोकिएको छ।
निगमले मूल्य यथावत् राख्दा पनि मासिक करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पनि विज्ञप्तिमार्फत जनाएको छ।
