काठमाडौँ। स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा देखिएका असहजता तथा सुधारका उपायबारे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा छलफल भएको छ।
स्वास्थ्यमन्त्री निशा मेहता, सचिवसहित स्वास्थ्य बिमा बोर्डका पदाधिकारी तथा विभिन्न अस्पतालका प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा बिमा सेवाको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या, सेवाग्राहीले भोगिरहेका कठिनाइ तथा समाधानका सम्भावित उपायबारे छलफल गरिएको थियो।
छलफलमा सहभागीले बिमा दाबी भुक्तानीमा हुने ढिलाइ, सेवा प्रदायक अस्पतालहरूसँगको समन्वय अभाव तथा सेवाको गुणस्तर सुधार आवश्यक रहेको विषय उठाएका थिए। साथै बिमा कार्यक्रमलाई थप प्रभावकारी र सेवामुखी बनाउन नीतिगत तथा प्राविधिक सुधार आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा मन्त्री मेहेताले स्वास्थ्य बिमा प्रणालीलाई नागरिकमैत्री बनाउँदै सेवा प्रवाहलाई सहज र छिटो बनाउने प्रतिबद्धता जनाएकी थिइन्।