काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
अ+
अ-

सुर्खेत। पछिल्ला तीन आर्थिक वर्षमा उच्च अदालत सुर्खेत र मातहतका जिल्लाहरूले १८ हजार ५१२ मुद्दा फर्स्योट गरेका छन्।

उच्च अदालतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला अदालतहरूले यो संख्यामा मुद्दाहरू फर्स्योट गरेका हुन्। उच्च अदालत सुर्खेतले आव ०८०/८१ मा ९१६ मुद्दा, ०८१/८२ मा ८३२ मुद्दा र ०८२/८३ मा ९१५ मुद्दा गरी जम्मा दुई हजार ६६३ वटा फर्स्योट गरेको उच्च अदालत सुर्खेतका उपरजिस्ट्रार तथा प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिए।

जाजरकोट जिल्ला अदालतले तीन आव जम्मा एक हजार १७२ फर्स्योट गरेको छ। आव ०८०/८१ मा ३४२ मुद्दा, ०८१/८२ मा ४११ मुद्दा, ०८२/८३ मा ४१९ मुद्दा फर्स्योट गरेको छ।

दैलेख जिल्ला अदालतले आव ०८०/८१ मा ४६२ मुद्दा, ०८१/८२ मा ५३३ मुद्दा र ०८२/८३ मा ५४४ मुद्दा फर्स्योट गरेको छ। दैलेख जिल्ला अदालतले पछिल्ला तीन आवमा कुल एक हजार ५३९ मुद्दा फर्स्योट गरेको हो।

रुकुम पश्चिम जिल्ला अदालतबाट आव ०८०/८१ मा ६२० मुद्दा, ०८१/८२ मा ६७९ मुद्दा र आव ०८२/८३ मा ७८१ मुद्दासहित जम्मा जम्मा दुई हजार ८० मुद्दा फर्स्योट गरेको छ।

यस्तै सल्यान जिल्ला अदालतबाट पछिल्ला तीन आवमा दुई हजार २६४ मुद्दा फर्स्योट भएका छन्। आव ०८०/८१ मा ७२४ मुद्दा, ०८१/८२ मा ७३१ मुद्दा र ०८२/८३ मा ८०९ मुद्दा सल्यान अदालतले फर्स्योट गरेको हो।

सुर्खेत जिल्ला अदालतले आठ हजार ७४४ मुद्दा पछिल्ला तीन आवमा फर्स्योट गरेको छ। जसमध्ये आव ०८०/८१ मा दुई हजार ७१६ मुद्दा, ०८१/८२ मा दुई हजार ९१२ मुद्दा र ०८२/८३ मा तीन हजार १४६ मुद्दा फर्स्योट गरिएको छ।

आव ०८२/८३ मा उच्च अदालत तथा मातहतका जिल्ला अदालतहरूमध्ये प्रतिशतका हिसाबले सबैभन्दा धेरै मुद्दा फर्स्योट जिल्ला अदालत जाजरकोटले गरेको छ। मुद्दाका आधारमा जाजरकोट अदालतले ८९.४ प्रतिशत मुद्दा फर्स्योट गरेको हो। उच्च अदालत सुर्खेतले ८२.५ प्रतिशत, दैलेख जिल्ला अदालतले ७९.८ प्रतिशत, सल्यान जिल्ला अदालतले ७३.४ प्रतिशत, सुर्खेत जिल्ला अदालतले ६३.२ प्रतिशत मुद्दा गत आवमा फर्स्योट गरेका छन्।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीका अनुसार गत आवमा उच्च अदालतबाट १२६ वटा मुद्दा मेलमिलापको माध्यमबाट फर्स्योट गरिएका छन्। मेलमिलापका लागि पठाइएका ६९३ मुद्दामध्ये १२६ वटा फर्स्योट भएको उनले जानकारी दिए। उच्च अदालत सुर्खेतमा गत आवमा सबैभन्दा धेरै जबरजस्ती करणीका १६९ मुद्दा परेका थिए। तीमध्ये १५४ फर्स्योट भएका छन् भने १५ वटा बाँकी छन्।