काठमाडौँ। जानकी मेडिकल कलेज धनुषाका सञ्चालक ओमप्रकाश पाण्डे पक्राउ परेका छन्।
कृत्रिम व्यवसाय खडा गरी पटक-पटक कर्जा दुरुपयोग गरेको कसुरमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ महानगरपालिका ९‚ रातोपुल बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार धनुषा छिरेश्वरनाथ नगरपालिका १‚ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो।
बर्दिबास नगरपालिका ६‚ महोत्तरीमा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी सर्भिस प्रालि नामक कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोप उनलाई लगाइएको छ। ब्युरो प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार कम्पनीको डीपीआरविनै धितोको अस्वाभाविक मूल्यांकन गराएर पटक-पटक कर्जा लिएको आरोप छ।
प्रहरीका अनुसार उनले प्रभु बैंकबाट कर्जा लिएका हुन्। तर के कति कर्जा दुरुपयोग गरेको भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
पाण्डेविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ आकर्षित गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।