काठमाडौँ। युवा नेतृत्व, नवप्रवर्तन तथा सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको काठमाडौँ युथ कन्क्लेभको झन्डा सगरमाथाको चुचुरोमा फहराइएको छ।
केवाईसीका अनुसार हजारौँ नेपाली युवाको सपना, आकांक्षा र सम्भावनाको प्रतीकका रूपमा रहेको कन्क्लेभको झन्डा सगरमाथाको शिखरसम्म पुयाइएको हो। यस उपलब्धिलाई नेपाली युवाको ऊर्जा, नेतृत्व क्षमता तथा विश्वमञ्चमा आफ्नो पहिचान स्थापित गर्ने आकांक्षाको प्रतीकात्मक सफलताका रूपमा हेरिएको छ।
कन्क्लेभ आयोजकले झन्डा सगरमाथाको चुचुरोसम्म पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याएको एलिट एक्सेडप्रति आभार व्यक्त गरेको छ।
यसैबीच आयोजकले आगामी संस्करणको कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुन इच्छुक युवालाई आवेदन दिन आह्वान गरेको छ। कार्यक्रममा स्वयंसेवक बनेर नेतृत्व विकास, अनुभव आदानप्रदान तथा नयाँ अवसरको खोजी गर्ने अवसर प्राप्त हुने उल्लेख गर्दै युवालाई अभियानमा जोडिन आग्रह गरिएको छ।
आयोजकका अनुसार युवाको सक्रिय सहभागिता र योगदानले कन्क्लेभलाई अझ प्रभावकारी, प्रेरणादायी तथा युवामैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।