काठमाडौँ। नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले बजेटमार्फत गरेको नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको बजार पहुँच विस्तार हुने अपेक्षा गरेको छ।
काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको हो।
बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनु सकारात्मक रहेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए।
उनले आर्थिक क्षेत्रमा देखिएको समस्याले घरेलु तथा साना उद्योगसमेत प्रभावित भएकाले साना उद्योग व्यवसायीले भोग्दै आएका समस्या बजेटले समाधान गर्ने धारणा राखे। महासंघले मौलिक हस्तकला साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न राज्यसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ।
यसैबीच स्थापनाको ३७ वर्ष प्रवेशका अवसरमा यही २४ र २५ जेठ ललितपुरमा २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ। महाधिवेशनले महासंघ र केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष सिंहले बताए।