काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

२० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ विद्यार्थीले पुनर्योग गर्न र ९६ विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन्।

ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यताक्रम प्रकाशन हुने कामपा शिक्षा विभागले जानकारी दिएको छ। कामपा शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो।

यस अवधिमा विवरण सच्याउनसहित विभिन्न माग राखेर विद्यार्थीले आवेदन दिएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य-सचिव रामचन्द्र खड्काले जानकारी दिए।

खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएकामध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिएका हुन्।

यसैगरी ११ विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बीचको नाम, थर, क्लस्टर गलत चयन गरेकाले सच्याउन माग गरेको खड्काको भनाइ छ। केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेरसमेत निवेदन दिएका छन्। समितिका सदस्य-सचिव खड्काका अनुसार यी माग सम्बोधन गर्ने व्यवस्था छैन।

विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ। सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ। उनले भने, “हामी पुनर्योगको प्रक्रियामा छौँ। विगत वर्षहरूमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन। ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकाले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ।”

यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ विद्यार्थी उत्तीर्ण भएको कामपाको भनाइ छ।