काठमाडौँ। भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली भिमान नगरपालिका-१० घर भई हाल काठमाडौँ सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुर दिङ्ला नगरपालिका-२ घर भई हाल सिनामंगल बस्ने ३२ वर्षीय विजय राई रहेका छन्।
उनीहरूको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला परहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।
बुधबार बेलुका ७:२५ बजे भक्तपुर चाँगुनारायण नगरपालिका-८ कलामसीमा नगरकोटबाट जितपुर आउँदै गरेको ना५त २८४७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टेको थियो। ढलान गर्ने मिक्सचरजडित उक्त ट्याक्टरमा सवार १३ जना सवार थिए।
ट्याक्टरमा सवार १० जना घाइते छन्। जबेगुका अनुसार ट्याक्टर चालक सर्लाही हरिवन नगरपालिका- ६ घर भई हाल काठमाडौं सिनामंगल बस्ने २४ वर्षीय वीरेन्द्रकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।