काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

२० जेष्ठ २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रतियोगिता २२ जेठदेखि १ असारसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।

सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडी छनोटका लागि प्रतियोगिता हुन लागेको हो।

वीरेन्द्रनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै क्यान कर्णाली प्रदेशले प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा देशका सातवटै प्रदेशका महिला टोलीको सहभागिता रहने जानकारी दिए। महिला क्रिकेटको इतिहासमा कर्णालीमा हुन लागेको यो पहिलो राष्ट्रिय प्रतियोगिता भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिइएको उनको भनाइ छ।

खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू-१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको बताए। यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने कोषाध्यक्ष खड्काले बताए। प्रतियोगिताले देशभरका प्रतिभावान् महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवालगायत सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक संस्थाले जनाएको छ। आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ।

प्रतियोगितामा विजेता टोलीले पाँच लाख रुपैयाँ तथा उपविजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ हुने खेलाडीलाई तीन हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताअन्तर्गत २२ खेल हुनेछन्। ती खेल वीरेन्द्रनगरको कालुञ्चोक र कर्णाली रंगशालानजिकैको मैदानमा सञ्चालन गरिनेछ।