काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। काभ्रे‚ सर्लाही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

जसअनुसार काभ्रेको पाँचखाल नगरपालिका १२‚ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा पाँचखाल ११ बस्ने २८ वर्षीय चालक कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ।

सर्लाही बलरा नगरपालिका ६‚ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिताकुमारी साहको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको जनाएको छ।

यस्तै रोल्पामा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका २ घर्तीगाउँ व्याङखोलानजिकै कालापहरस्थित सडकमा एमएच १४ टीसीजे ४७१ नम्बरको गाडी (बोलेरो) अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका ७ देसाही बस्ने २५ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको छ। साथै गाडीमै रहेका परिचय नखुलेका एक पुरुष र एक महिलाको पनि घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।