काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकतासँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन्।
‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ को बिहीबार उद्घाटन गर्दै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए।
उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको र साहित्यले नै समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको धारणा राखे। सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनबीच पनि मानिस अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए।
उनले नेपालमा १२५ भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे। हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ। हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले नेपालको साझा पहिचानलाई समृद्ध बनाएको उनले बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पुर्याउन सहयोग पुग्ने धारणा राखे।