काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौँमा प्रदर्शन गरेको छ।
सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आबद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो।
उनीहरूले प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने‚ राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गरौँ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊलगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
त्यस क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताको विरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए। उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मुलकहरूमा संसद्बाट बाहिर निस्कनेबित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए।
नेता पाण्डेले यस विषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलेँ भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे।