काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । देशभर वर्षाको मात्रा घट्दै गएपछि तापक्रममा तीव्र वृद्धि देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिनमा घट्दो वर्षाका कारण तापक्रम ३७ डिग्रीभन्दा तल रहेको अवस्था बदलिँदै हाल अधिकतम ४१ डिग्री सेल्सियससम्म पुगेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार देश क्रमशः तापक्रम वृद्धिको चरणमा प्रवेश गरिरहेको छ। उनका अनुसार मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा अझै पनि अत्यधिक गर्मी रहने सम्भावना उच्च रहेको छ।

विभागले उपलब्ध गराएको पछिल्लो मापनअनुसार सबैभन्दा बढी तापक्रम भैरहवामा ४१ डिग्री सेल्सियस पुगेको छ। त्यसैगरी नेपालगञ्जमा ३९।५ डिग्री र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन गरिएको छ। सिमरामा ३८.२ डिग्री, धनगढीमा ३८.१ डिग्री, चन्द्रगढीमा ३६.९ डिग्री, धरानमा ३६.५ डिग्री र विराटनगरमा ३६.१ डिग्री तापक्रम रेकर्ड गरिएको विभागले जनाएको छ।

काठमाडौँ उपत्यकामा पनि तापक्रम उल्लेख्य रूपमा बढेको छ। केही दिनअघि करिब २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०.६ डिग्री सेल्सियस पुगेको छ।

मौसम प्रणालीका हिसाबले पश्चिमी भूभाग नजिक उपल्लो वायुमण्डलमा न्यून चापीय प्रणालीको प्रभाव देखिनुका साथै स्थानीय वायुप्रवाहले समेत मौसममा आंशिक असर पारेको विभागको विश्लेषण छ।

विभागका अनुसार बिहीबार देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा अझै तातो दिन कायम रहने विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार केही स्थानमा वर्षा भए पनि समग्रमा वर्षाको क्रम निरन्तर रहने देखिएको छ।