काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका हुन्।
नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिए। अपराध, अनुसन्धान तथा न्याय सम्पादनका लागि आवश्यक प्रमाणको संकलन, परीक्षण, वैज्ञानिक विधि र पद्धतिद्वारा गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ। उनले विधेयकमा रहेका विषयलाई पर्याप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
बैठकमा समिति सदस्यहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए। समितिले विधेयकमाथि विज्ञहरूसँग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ।