टी-२० महिला राष्ट्रिय क्रिकेट
सुर्खेत। १९ वर्षमुनिको टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत कालुञ्चोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुआत गर्यो।
वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोसीमाथि ८९ रनको जितसहित प्रतियोगिताको सुरुआत गरेको हो। टस जितेर ब्याटिङका लागि निम्ता पाएको लुम्बिनीले कर्णालीविरुद्ध पूरै ओभर खेल्दा चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो।
लुम्बिनीका लागि सोविका शाहीले सर्वाधिक १९ रन बनाउँदा रिसाना विश्वकर्माले १७ र उमा चौधरीले १६ रनको योगदान दिए। कर्णालीका लागि सुप्रिया बुढाले ३ विकेट हातपार्दा आशना चौधरी र आयुषा बरालले समान दुई-दुई विकेट लिए।
सुदूरपश्चिमले सावित्री धामीको आक्रामक ४१ र रश्मी सुनारको ३५ रनको योगदानमा पहिलो खेलमै जित निकाल्यो।
सुदूरलाई बलियो सुरुआत दिलाउने क्रममा ओपनर धामीले ३५ बलमा ४१ र सुनारले ३० बलमा ३५ रन जोड्दा जयन्ति भण्डारीको २० रन सुदूरको जितका लागि महत्त्वपूर्ण आधार बन्यो।
१५१ रनको लक्ष्य पछ्याएको कोसी सुदूरपश्चिमका बलरसामु निरीह बने। कोसीका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। सुदूरका लागि अञ्जु पार्कीले ४ विकेट लिँदा आशिकाकुमारी महरा र मनीषा चौधरीले २ दुई विकेट लिए।
प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा गण्डकीले बागमतीमाथि सात विकेटको फराकिलो जित हासिल गर्यो। टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीका लागि अएली यादवले नटआउट ३२ रनको योगदान दिँदा ओपनर सेविकाकुमारी यादवले १८, पूजा साँवद र सम्भाव्या ढकालले समान १२-१२ रन जोडे।
गण्डकी तर्फबाट कुसुम गोदार, नीरु जीटी, रञ्जना साउँदले समान दुई-दुई विकेट लिए। ९६ रन पछ्याउन क्रिजमा उत्रिएको गण्डकीका लागि चन्द्रमाया बरालले ४१ बलमा ३८ तथा श्रेया शाहले जोडेको २२ रनको योगफल नै जितका लागि पर्याप्त भयो।