काठमाडौँ। इरान समर्थित हेजबुल्लाहविरुद्ध इजरायलको युद्धबाट गुज्रिरहेको लेबनानका लागि संयुक्त राष्ट्रसङ्घले शुक्रबार आफ्नो सहायता मागलाई दोब्बरभन्दा बढीले बढाउँदै छ महिनामा लगभग ६४ करोड डलर आवश्यक रहेको बताएको छ।
मध्यपूर्वमा भएको युद्धको तीन महिनापछि संयुक्त राष्ट्रसङ्घले चेतावनी दिँदै भनेको छ, “लेबनानमा ‘मानवीय विपत्ति’ नजिक रहेको छ र एक चौथाइ जनसङ्ख्यालाई सहयोगको आवश्यकता छ।”
“लेबनानका लागि राष्ट्रसङ्घका आवासीय मानवीय समन्वयक इमरान रिजाले बेरुतबाट पत्रकारहरूसँग भने, “युद्धको वृद्धिका कारण लेबनानका समुदायहरूले डरलाग्दो अवस्थाको सामना गर्नुपरेको छ।”
उनले भने, “हिजबुल्लाहले मार्च २ मा लेबनानलाई व्यापक मध्यपूर्व युद्धमा तानेपछि लेबनानमा भएको इजरायली आक्रमणमा तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र १० हजारभन्दा बढी घाइते भएका छन्।”
“हामीले धेरै हताहती, व्यापक र बारम्बार विस्थापन, आवास र आधारभूत सेवाका पूर्वाधारहरूको विनाश र दूरगामी मनोवैज्ञानिक आघात देखेका छौँ,” उनले भने।
उनले थपे, “विस्थापित र मानवीय सहयोगको याचना गर्ने नागरिकहरूको सङ्ख्या चिन्ताजनक छ र दिन प्रतिदिन खराब हुँदै गइरहेको छ।”
संयुक्त राष्ट्रसङ्घले गत मार्चमा लेबनान सरकारको नेतृत्वमा मेको अन्त्यसम्म ठुलो सङ्कटकालीन कार्यका लागि तीन करोड ८० लाख डलर सहयोग गर्न अपिल गरेको थियो।
शुक्रबार सहयोगको लागि रकम थप गर्दै भनेको छ, “अगस्टको अन्त्यसम्म थप तीन करोड ३१ लाख अमेरिकी डलर आवश्यक हुनेछ।”
“पटक–पटक विस्थापन, अपर्याप्त आवास क्षमता र सुरक्षित फिर्तीको सीमित सम्भावनाले जोखिमलाई अझ गहिरो बनाइरहेको छ”, अपिलमा भनिएको छ, “प्रभावित व्यक्तिहरूले आफ्नो सामना गर्ने क्षमता द्रुत रूपमा समाप्त गरिरहेका छन्, र अत्यावश्यक सेवाहरूले बढ्दो तनावको सामना गरिरहेका छन्।”