काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ।

यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोसी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन्।

केन्द्रीय निर्वाचन आयोगका अनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएका छन्।

बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज (आइतबार) अधिवेशन हुँदै छ। शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ।

यस्तै कोसी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुंगामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएका छन्।

कोसीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज (आइतबार) अधिवेशन भइरहेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। आज २८ जिल्लामा रास्वपाको अधिवेशन भइरहेको छ।

यसैबीच केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ। आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने १५ वैशाखअगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन्।