काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने महत्वपूर्ण सम्झौता भएको छ। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा जेठ २२ गतेदेखि भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले विभिन्न द्विपक्षीय तथा क्षेत्रीय विषयमा उच्चस्तरीय छलफल गरेका छन्।

भारतस्थित नेपाली दूतावासका अनुसार जेठ २३ गते नयाँ दिल्लीमा दुई देशका परराष्ट्रमन्त्रीबीच भएको द्विपक्षीय वार्तामा विकास सहकार्य, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत समग्र द्विपक्षीय सम्बन्धबारे समीक्षा गरिएको थियो। साथै, आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा पनि विचार आदानप्रदान भएको थियो।

वार्ताका क्रममा दुवै पक्षले द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि, तालिम र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाएका छन्।

वार्तापछि भारतले नेपालका लागि सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना हस्तान्तरण गरेको छ।

त्यसैगरी, भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन पियर–टु–पियर (पीटुपी) आबद्धताको औपचारिक सुरुवात गरिएको छ। साथै, ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए। दूतावासका अनुसार सन् २०२६ मार्चमा नेपालमा नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भारत भ्रमण हो, जसले दुई मित्रवत् छिमेकी राष्ट्रबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।