काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको छ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘जो बेसहारा महानगरको अभिभारा’ भन्ने नाराका साथ महानगरले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेल तथा मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका निर्माण घोषणापत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा काठमाडौँ महानगरकी कार्यवाहक नगरप्रमुख डंगोलले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन्। उनले समाजलाई जिम्मेवार बनाउन र आफू पनि जिम्मेवार बन्न महानगरले गरेको घोषणा निकै महत्त्वपूर्ण भएको धारणा राखिन्।

सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणासँगै व्यवस्थापन, पूर्वाधार निर्माण र संस्थागत तयारी पनि भइरहेको उनको भनाइ छ।

महानगरपालिकाले १ मंसिर २०७४ मा मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो। २१ जेठ २०८३ सम्ममा दुई हजार ४२१ जनालाई उद्धार गरिएको महानगरले जनाएको छ।