हवाई यात्रा
गन्तव्य देश, एयरलाइन्स र भन्सारको नियम नबुझ्दा यात्रुले बोकेको सामानकै कारण यात्रा रोकिनेदेखि जरिवाना र जफतसम्मको जोखिम
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१, चुत्राबेँसीकी अनिशा पोख्रेल जापान उड्न ४ कात्तिक २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एअरपोर्ट) पुगिन्। तौल गर्दा उनको सामान तोकिएको सीमाभन्दा ६ किलो बढी देखियो। त्यसमा पनि मासुको सुकुटी र लेबल नभएको बोडीको दाल त लैजानै पाइनन्। बाँकी सामानका लागि अतिरिक्त शुल्क तिरेपछि मात्र उनले ‘बोर्डिङ पास’ पाइन्। हाल जापानको फुकुओकामा रहेकी पोख्रेल भन्छिन्, “नियमबारे पर्याप्त जानकारी नहुँदा विमानस्थलमै झन्झट भयो।”
बागलुङ नगरपालिका-४, उपल्लाचौरका जीवन बरालले पनि सामानकै कारण विदेश यात्राका क्रममा अप्रत्याशित झन्झट बेहोरे। २१ भदौ २०८२ मा अमेरिका उड्ने क्रममा उनले भुटेको मकै प्याक गरेर लगेजमा राखेका थिए। नेपालमा जाँच गर्दा कुनै समस्या देखिएन। तर, कतार ट्रान्जिटमा सुरक्षा जाँचका क्रममा तालिमप्राप्त कुकुरले शंका गरेपछि उनको लगेज विस्तृत रूपमा परीक्षण भयो।
त्यसपछि उनी प्रहरी निगरानीमा परे। उडान छुट्यो। दुई दिन कतारमै बस्नुपर्यो। पछि करिब दुई लाख रुपैयाँ जरिवाना तिरेपछि मात्र उनले यात्रा अघि बढाउन पाए। हाल अमेरिकाको बाल्टिमोर बस्ने बराल भन्छन्, “नेपालको प्रारम्भिक चेकिङलाई मात्रै विश्वास गर्दा ठूलो समस्या भोग्नुपर्यो।”
उनका अनुसार विदेश यात्रा गर्ने नेपालीहरूसँग यस्ता घटनाको अनुभव प्रशस्तै छन्। नियमबारे पर्याप्त जानकारी नहुँदा धेरै यात्रु अनावश्यक झन्झट, आर्थिक क्षति, जरिवाना र यात्रा अवरोधको सामना गर्न बाध्य छन्।
पर्वतको कुस्मा नगरपालिका-७, शिवालय चोककी रश्मि काउचा जापान जाँदा ह्यान्ड ब्यागले एअरपोर्टमा अल्झिइन्। उनले मेकअपका सामान र पर्फ्युम ‘ह्यान्ड क्यारी’ मा राखेकी थिइन्। तर, तरल पदार्थ भएकाले लैजान पाइनन्। जापानको नागोयामा रहेकी काउचा भन्छिन्, “सूचना राम्रोसँग नबुझेको र थाहा नपाएको कारण झन्झट भयो।”
तीन यात्रु, तीन फरक गन्तव्य, तर समस्या उस्तै; विदेश यात्रा गर्दा झोलामा के राख्ने, कसरी राख्ने र कुन देशमा कस्तो नियम छ भन्ने जानकारीको अभाव।
सुकुटी, दाल, भुटेको मकै, पर्फ्युम, मोबाइल, सुन, औषधि, पावर बैंक, बीउबिजन वा घरायसी सामान जस्ता नेपालमा सामान्य लाग्ने वस्तु पनि विमानस्थल, ट्रान्जिट वा गन्तव्य देशमा समस्या बन्न सक्छन्।

भन्सार विभागका अधिकारीहरूका अनुसार प्रतिबन्धित, अवैध वा परीक्षण नगरिएको वस्तु ल्याउने, भन्सार छल्ने, गलत घोषणा गर्ने वा महँगो सामानलाई सस्तो देखाउने काम दण्डनीय हुन्छ। यस्तो अवस्थामा सामान रोक्का, जफत, थप महसुल, जरिवाना वा कानुनी कारबाही हुन सक्छ।
तौल बढी भए अतिरिक्त शुल्क तिरेर लैजान सकिन्छ। तर, तौल मात्र समस्या होइन। कुन सामान लैजान पाइन्छ, कसरी ‘प्याक’ गर्नुपर्छ, ‘लेबल’ छ कि छैन, गन्तव्य देशले स्वीकार गर्छ कि गर्दैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अतिरिक्त शुल्क र सामानसम्बन्धी नियम वायुसेवा कम्पनी, टिकटको श्रेणी र गन्तव्य देशअनुसार फरक फरक हुन्छ। मापदण्डबाहिरका सामान फिर्ता, रोक्का वा जफत हुन सक्छन्।
घरको परिकार, एअरपोर्टमा प्रश्न
नेपाली यात्रु विदेश जाँदा झोलामा घरको स्वाद बोक्ने चलन पुरानै हो। सुकुटी, गुन्द्रुक, दाल, चामल, मसला, घिउ, अचार, गेडागुडी वा चिया-कफी बोक्नु सामान्य ठानिन्छ। तर, अन्तर्राष्ट्रिय यात्रामा यस्ता सामग्री लैजान क्वारेन्टिन, सुरक्षा वा भन्सार नियमले रोक्न सक्छ।
भुलका अनुसार चामल, तरल पदार्थ, नुन, सुकुटी, गुन्द्रुक जस्ता खाद्य वस्तु मात्र होइन, धेरै उत्पादन पनि प्याकेजिङ, मात्रा र लेबल स्पष्ट नभएको अवस्थामा लैजान समस्या हुन सक्छ।
तरल कस्मेटिक सामग्री, दाना गेडागुडी, बीउबिजन, खाने तेल जस्ता कृषि तथा खाद्यजन्य वस्तु गुणस्तरीय प्रमाण र स्पष्ट विवरण नभए नियन्त्रणमा पर्न सक्छन्। पावर बैंक, ब्याट्रीलगायत विद्युतीय सामग्री पनि सुरक्षा जोखिमका आधारमा विशेष निगरानीमा राखिन्छन्।

भुल भन्छन्, “नियमअनुसार मात्र लैजान अनुमति हुन्छ। देश र एयरलाइन्सअनुसार पनि मापदण्ड फरक हुन सक्छ।”
अन्तर्राष्ट्रिय नियमले के भन्छ?
विमान यात्रामा के लैजान पाइन्छ र के पाइँदैन भन्ने विषयमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ‘हवाइमार्गबाट खतरनाक सामानहरूको सुरक्षित ढुवानीको लागि प्राविधिक निर्देशन’ र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को ‘खतरनाक सामानसम्बन्धी नियम’ मा मापदण्ड तोकिएको छ।
मापदण्डअनुसार मोबाइल फोन, ल्यापटप, क्यामेरा, अतिरिक्त ब्याट्री, विद्युत् सञ्चित गर्ने उपकरण, सुगन्धित पदार्थ र सामान्य सौन्दर्य सामग्री निश्चित सर्त र परिमाणभित्र लैजान सकिन्छ।
तर, विस्फोटक पदार्थ, अत्यधिक ज्वलनशील रसायन, विषालु पदार्थ, रेडियोधर्मी सामग्री, जोखिमपूर्ण रसायन, जैविक पदार्थ तथा अन्य खतरनाक वस्तु विमानमा लैजान निषेधित हुन्छन्।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार यस्ता नियम यात्रु र उडान सुरक्षाका लागि अन्तर्राष्ट्रिय रूपमा लागु गरिएका हुन्। तर, कुन सामान लैजान पाइन्छ र कुन पाइँदैन भन्ने कुरा गन्तव्य देश, विमान कम्पनी र यात्राको प्रकृतिमा निर्भर गर्छ। उनी भन्छन्, “विदेश जाँदा वा फर्किंदा कुन सामान लैजान पाइन्छ, कुन प्रतिबन्धित छ र कुन वस्तुका लागि विशेष अनुमति चाहिन्छ भन्ने जानकारी यात्रुले पहिले नै लिनुपर्छ।”
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सीमा नाका, कार्गो प्रणाली र विभिन्न देशका विमानस्थलमा सुरक्षा नियम पछिल्ला वर्ष कडा बनाइएको छ। नेपाल सरकारले पनि भन्सार तथा विमानस्थल सुरक्षासम्बन्धी नियमलाई थप स्पष्ट र कडा बनाउँदै लगेको छ। यसको उद्देश्य अवैध व्यापार नियन्त्रण, राजस्व चुहावट रोकथाम र यात्रुका व्यक्तिगत तथा व्यापारिक सामान छुट्याएर व्यवस्थापन गर्नु हो।
विदेश जाँदा झोलामा राख्न मिल्ने सामान
विदेश यात्रा गर्दा यात्रुले व्यक्तिगत प्रयोगका सामान सामान्यत: लैजान पाउँछन्। कपडा, जुत्ता, ब्याग, मोबाइल फोन, ल्यापटप, क्यामेरा, घडी र सामान्य गहना लैजान अनुमति हुन्छ।
डाक्टरको सिफारिस वा परामर्शपत्रसहितका व्यक्तिगत प्रयोगका औषधि, मिति स्पष्ट भएको चिया, कफी, मसला तथा साना उपहार सामग्री पनि लैजान सकिन्छ। तर, सामानको मात्रा धेरै भए भन्सार कार्यालयले त्यसलाई व्यक्तिगत प्रयोगभन्दा व्यापारिक उद्देश्यका लागि लैजान लागेको ठान्न सक्छ।
विदेश यात्रा गर्दा नेपाली यात्रुका सामान हराएको गुनासो बढेकाले नगद, सुनचाँदीका गरगहना, क्यामेरा, घडी, मोबाइल, ल्यापटपलगायत बहुमूल्य सामान ‘चेक-इन ब्याग’ मा नराख्न नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भुल सुझाउँछन्। “यस्ता महत्त्वपूर्ण सामान सकेसम्म हातमा बोक्ने ब्यागमै राख्नु राम्रो हुन्छ,” उनी भन्छन्।
अर्थ मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिक, विदेशबाट फर्किने नेपाली नागरिक, गैरआवासीय नेपाली, विदेशी यात्रु तथा विदेश जाने नेपाली यात्रुले आफ्नो साथमा ल्याउन वा लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी व्यवस्थाबारे १५ जेठ २०८३ देखि नयाँ नियम लागू गरेको छ।
उपहारका लागि बिल
विदेश जाने नेपाली यात्रुले ५० हजार रुपैयाँसम्म मूल्यका उपहार वा सौगात सामग्री महसुलविना लैजान सक्ने व्यवस्था छ। मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा सम्बन्धित बिजक आवश्यक हुन्छ। कर नलाग्ने सामग्रीका लागि स्थायी लेखा नम्बर (प्यान) सहितको बिजक पेस गर्नुपर्ने व्यवस्था छ। आवश्यक कागजात उपलब्ध गराइए उक्त सीमाभन्दा बढी मूल्यका सामान पनि लैजान सकिने प्रावधान छ।
सम्बन्धित वायुसेवाले तोकेको तौल सीमाभित्र पर्ने र नेपाली बजारबाट खरिद गरिएका वस्तुहरू आवश्यक प्रमाणपत्र देखाएर वा तोकिएको महसुल तथा शुल्क बुझाएर विदेश लैजान सकिन्छ।

तस्बिर स्रोत : सुनिल कुमार यादव सर्लाहीवालाको फेसबुक
गैरआवासीय नेपालीले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई उपलब्ध हुने विशेष सुविधाबाहेक अन्य सबै सुविधा सामान्य नेपाली नागरिकसरह प्राप्त गर्नेछन्। चालक दलका सदस्यलाई व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य वस्तु ल्याउन अनुमति छैन।
झोलामा राख्न नहुने वस्तु
विदेश जाँदा सांस्कृतिक सम्पदा, पुरातात्त्विक सामग्री, सुरक्षा संवेदनशील वस्तु र कानुनी रूपमा प्रतिबन्धित सामग्री लैजान पाइँदैन।
पुराना मूर्ति, ऐतिहासिक तथा पुरातात्त्विक वस्तु, प्रतिबन्धित जडीबुटी, वन्यजन्तुसम्बन्धी सामग्री, वन्यजन्तुका अंग वा छाला, लागुऔषध, हतियार, विस्फोटक पदार्थ, घोषणा नगरिएको विदेशी मुद्रा र ठूलो परिमाणको सुन अनुमतिविना लैजानु जोखिमपूर्ण हुन्छ।
सुक्खा नरिवल र लाइटर ह्यान्ड क्यारी वा लगेज दुवैमा लैजान नपाइने वस्तुमा पर्न सक्छन्। केही औषधि निश्चित मात्रामा र आवश्यक कागजातसहित मात्र लैजान पाइन्छ।
भुलका अनुसार बिरामी यात्रुलाई अक्सिजन आवश्यक भए पनि ठूलो क्षमताको अक्सिजन सिलिन्डर यात्रु आफैँले विमानभित्र बोकेर लैजान अनुमति हुँदैन। यस्तो सामान विमान कम्पनीको नियमअनुसार मात्र व्यवस्थापन गरिन्छ।
ह्यान्ड क्यारीमा हुने गल्ती
हवाई यात्रामा ह्यान्ड क्यारी सबैभन्दा संवेदनशील हुन्छ। यात्रुले आफ्नै साथमा बोकेर विमानभित्र लैजाने भएकाले सुरक्षाको नियम अझ कडा हुन्छ। त्यसैले चक्कु, खुकुरी, कैँची, सिरिन्ज, विभिन्न औजार, क्रिकेट ब्याट, हक्की स्टिकजस्ता चोटपटक लाग्न सक्ने वा हतियारजन्य सामग्री ह्यान्ड क्यारीमा लैजान पाइँदैन। पेस्तोल, गोली, बम जस्ता सामग्री, नक्कली बन्दुक वा खेलौना जस्ता हतियार पनि प्रतिबन्धित छन्।
घिउ, खाने तेल, मह जस्ता तरल वा तेलजन्य वस्तु ह्यान्ड क्यारीमा बोक्न अनुमति हुँदैन। खैनी, सुर्ती जस्ता सामग्री, मासु, सुकुटी, मासुको अचार जस्ता मासुजन्य परिकार पनि ह्यान्ड क्यारीमा लैजान नपाइने वस्तुमा पर्न सक्छन्।
फलफूल, तरकारी, बीउबिजन, खुर्सानी र अन्य कृषि सामग्री पनि ह्यान्ड क्यारीमा राख्न मिल्दैन। कम्प्रेस्ड ग्यास, एसिड, पारो, विषादी, कीटनाशक, रासायनिक तथा जैविक पदार्थ, विकिरणयुक्त सामग्री जस्ता जोखिमपूर्ण वस्तु पूर्ण रूपमा निषेधित हुने भुल बताउँछन्।
लगेज ब्याग विकल्प होइन
धेरै यात्रु ह्यान्ड क्यारीमा लैजान नपाइने सामान चेक-इन लगेजमा राखेर लैजान मिल्छ भन्ने ठान्छन्। तर, सुरक्षाका कारण केही सामग्री लगेजमा पनि राख्न मिल्दैन।
हातहतियार तथा विस्फोटक वस्तु, जस्तै– पेस्तोल, बन्दुक, गोली, गोलीका खोका, गोला-बारुद, बम र यस्तै जोखिमपूर्ण वस्तु पूर्ण रूपमा निषेधित हुन्छन्।
घिउ, खाने तेल, मह जस्ता वस्तु गन्तव्य देशको नियमअनुसार मात्र लैजान पाइन्छ। मासु र मासुबाट बनेका परिकार, सुकुटी, मासुको अचारलगायत वस्तु धेरै देशमा स्वास्थ्य तथा क्वारेन्टिन नियमका कारण प्रतिबन्धित वा सीमित अनुमति प्राप्त गर्ने प्रकृतिका हुने गर्छन्। सुर्तीजन्य पदार्थमा पनि सम्बन्धित मुलुकको कानुनी व्यवस्था लागू हुन्छ।
विकिरणयुक्त सामग्री, विषादी, कीटनाशक, रासायनिक तथा जैविक पदार्थ, कम्प्रेस्ड ग्यास, एसिड, पारो जस्ता स्वास्थ्य र सुरक्षामा असर पार्ने वस्तु लगेजमा राख्न पाइँदैन। यस्ता सामग्रीले यात्रु, विमान र वातावरणमा जोखिम सिर्जना गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय हवाई नियमअनुसार निषेध गरिएको भुल बताउँछन्।
विदेशबाट फर्किंदा छुट पाउने सामान
विदेशबाट फर्केका नेपाली यात्रुले केही निश्चित वस्तुमा पूर्ण भन्सार महसुल छुट पाउने व्यवस्था छ। नयाँ आर्थिक विधेयकमार्फत सरकारले भारतबाट नेपाल आउने यात्रुले भन्सार छुटमा ल्याउन सक्ने सामानको मूल्यसीमा बढाएको छ। अब ५०० रुपैयाँसम्मका सामान ल्याउँदा भन्सार महसुल लाग्नेछैन। यसअघि यस्तो छुटको सीमा १०० रुपैयाँ थियो।
पुरानो व्यवस्थाअनुसार १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले सीमावर्ती क्षेत्रका नागरिकले असन्तुष्टि जनाएका थिए। विभिन्न स्थानमा विरोध भएपछि सरकारले बजेटमार्फत सीमा पुनरवलोकन गर्दै ५०० रुपैयाँ कायम गरेको हो।
भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले अध्ययनका लागि प्रयोग गर्ने ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक उपकरण नेपाल ल्याउँदा भन्सार महसुल नलाग्ने व्यवस्था छ। विद्यार्थीले साथमा लैजाँदा वा अध्ययन पूरा गरेर फर्किंदा दुवै अवस्थामा यो सुविधा लागू हुनेछ।
भारतीय सेना वा प्रहरी सेवाबाट निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश लिएर नेपाल फर्किने व्यक्तिले आवश्यक कागजात पेस गरे व्यक्तिगत प्रयोगका ५० हजार रुपैयाँसम्म मूल्यका सामानमा पूर्ण भन्सार छुट पाउनेछन्।
विदेशमा बसोबासका क्रममा कुनै नेपाली नागरिकको मृत्यु भएको पुष्टि भए मृतक र उनको परिवारले प्रयोग गरेका पुराना व्यक्तिगत सामान नेपाल ल्याउँदा महसुल तिर्नु पर्दैन। तर, यस सुविधामा सवारीसाधन, हातहतियार तथा खरखजाना समावेश हुँदैनन्।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्कंदा व्यक्तिगत प्रयोगका लुगाफाटा, बिछ्यौना, घरगृहस्थीका पुराना सामान, औषधोपचारपछि ल्याइने औषधि तथा शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीमा महसुल लाग्दैन।
कानुनले तोकेको परिमाणसम्मको सुन, चाँदी र तिनका गहनामा पनि छुटको व्यवस्था छ। यात्रुले प्रयोग गरिसकेको ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडिओ क्यामेरा र एक थान सेलुलर मोबाइल फोन पनि महसुलबिनै ल्याउन पाउँछन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल फोन ल्याउँदा त्यसमा लाग्ने महसुल पूर्ण रूपमा छुट हुनेछ।
२०० खिल्लीसम्म चुरोट वा ५० खिल्लीसम्म सिगार प्रचलित कानुनअनुसार लाग्ने महसुल तिरी जाँचपास गराउन सकिन्छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा १२ महिना काम गरी फर्केका नेपाली नागरिकले ६५ इन्चसम्मको एक थान टेलिभिजन महसुलबिनै ल्याउन पाउने व्यवस्था छ। यस्तो सुविधा अभिलेख रहने गरी एक पटकका लागि मात्र उपलब्ध हुन्छ।
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान पनि महसुल छुटमा ल्याउन सकिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
आफ्नो पेसासँग सम्बन्धित सामग्री पनि यात्रुले एक एक थान ल्याउन पाउनेछन्। डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र र स्टेथेस्कोप, खेलाडीले फुटबल, भलिबल, ब्याडमिन्टन वा क्रिकेट सेट, गायक वा संगीतकारले गितार, हार्मोनियम वा तबला जस्ता सामग्री ल्याउँदा महसुल लाग्दैन।
सात किलोग्रामसम्म खाद्य परिकार र एक लिटरसम्म मदिराको एक बोतल पनि छुटमा ल्याउन सकिन्छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफू आउनुभन्दा अघि वा पछि हुलाक, कुरियर वा अन्य माध्यमबाट आफ्नो प्रयोगका घरायसी सामग्री पठाउन सक्छन्। त्यस्ता सामग्री भन्सार जाँचपास गराएर ल्याइए कानुनबमोजिम पूर्ण महसुल छुट प्राप्त हुन सक्छ।
महसुल तिरेर ल्याउन पाइने सामान
सबै सामानमा पूर्ण छुट हुँदैन। सरकारले विदेशबाट फर्किने नेपाली नागरिकले भन्सार महसुल बुझाएर ल्याउन सक्ने सामानहरूको सूची पनि तय गरेको छ। टेलिभिजन, फ्रिज, म्युजिक सिस्टम, वासिङ मेसिन, पंखा, रेडियो, घडी र मोबाइल फोन जस्ता सामग्री एक एक थान ल्याउन अनुमति छ।
लुगाफाटा, जुत्ता र कस्मेटिक्स पाँच पाँच थानसम्म ल्याउन पाइन्छ। मिक्सर, जुसर, सिलाइ मेसिन, इस्त्री र राइसकुकर जस्ता विद्युतीय उपकरण अधिकतम दुई दुई थानसम्म ल्याउन सकिन्छ। खाद्यवस्तु १० किलोग्रामसम्म ल्याउन पाइन्छ। चिकित्सक, इन्जिनियर तथा खेलाडीले आफ्नो पेसासँग सम्बन्धित आवश्यक सामग्री दुई दुई थानसम्म ल्याउन पाउनेछन्।
लामो समय विदेश बसेर फर्किने नेपालीका लागि विशेष सहुलियत पनि छ। ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम विदेश बसेका व्यक्तिले १५ हजार रुपैयाँसम्मका सामानमा भन्सार छुट पाउनेछन्। एक वर्षभन्दा बढी विदेश बसेर फर्किने नेपालीलाई २५ हजार रुपैयाँसम्मका वस्तुमा पूर्ण भन्सार छुट छ।
१६ वर्षभन्दा कम उमेरका यात्रुले भने उक्त सुविधाको आधा अर्थात् ५० प्रतिशत मात्र लाभ लिन पाउनेछन्।
विदेशमा रहेका नेपालीले नेपालस्थित परिवार वा आफन्तलाई ५०० अमेरिकी डलरसम्म मूल्यका सामान पठाउन सक्छन्। यस्ता सामान आवश्यक भन्सार महसुल तिरेपछि जाँचपास गरी प्राप्त गर्न सकिन्छ।
छुटभन्दा बढी ल्याए के हुन्छ?
भन्सार विभागका सूचना अधिकारी कमल परियारका अनुसार सुन, सुनका गहना र मदिराको हकमा तोकिएको भन्दा बढी मालवस्तु जफत हुन सक्छ। अन्य वस्तुको हकमा औचित्य हेरेर नियमानुसार लाग्ने महसुल तिरी लैजान स्वीकृति दिन सकिने व्यवस्था छ।
प्रतिबन्धित वा अवैध वस्तु ल्याउने, भन्सार छल्ने वा गलत घोषणा गर्ने कार्य गरे जरिवाना वा कानुनी कारबाही हुन सक्छ।
विदेशी पर्यटकका लागि छुट
अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने वा जाने विदेशी यात्रुले निजी प्रयोगका लागि चलनचल्तीमा ल्याएका पुराना वा निश्चित वस्तुहरूमा भन्सार महसुल पूर्ण वा आंशिक छुट पाउन सक्छन्।
यसअन्तर्गत दूरबिन एक थान, ट्याबलेट वा ल्यापटप एक थान, भिडिओ क्यामेरा एक थान, क्यामेरा एक थान, पोर्टेबल म्युजिक सिस्टम एक सेट, लुगाफाटा, बरबिछ्यौना, कसन-तसन तथा घरगृहस्थीका पुराना वस्तु, पेराम्बुलेटर, ट्राइसाइकल, साइकल, घडी र सेलुलर मोबाइल फोन एक एक थान पर्छन्।
सुन तथा चाँदीका गहनामा तोकिएको परिमाणसम्म भन्सार छुट लागु हुन्छ। पेसाकर्मीहरूले आफ्नो पेसागत प्रयोगका लागि ल्याएका चलनचल्तीका औजार तथा उपकरणमा पनि भन्सार महसुल छुट हुन्छ।

विदेश पठाउन तयार सामग्री।
पेसाकर्मीले आफ्नो कामका लागि एक सेट ज्यावल, डाक्टर वा विशेषज्ञले आवश्यक औजार, यन्त्र र औषधि, गायक वा संगीतकारले आफ्नो उपकरण, खेलाडीले खेल सामग्री र माछा मार्ने रड ल्याउन सक्छन्। एउटा पावर बैंक पनि छुटमा ल्याउन पाइन्छ।
यीबाहेकका वस्तुमा भन्सार प्रमुखले आवश्यक हेरी छुट वा महसुल लागु गर्न सक्ने व्यवस्था छ। राहदानीसहित आउने विदेशी यात्रुका केही व्यक्तिगत वस्तुमा समेत भन्सार महसुल नलाग्ने प्रावधान छ।
विदेशी यात्रुले मदिरा एक लिटर वा १२ क्यान बियर, चुरोट २०० खिल्ली, सिगार ५० खिल्ली वा २५० ग्राम सुर्ती, कानुनले निषेध नगरेको औषधि अधिकतम १० हजार रुपैयाँसम्म, खानेकुरा पाँच हजार रुपैयाँसम्म र ताजा फलफूल दुई हजार रुपैयाँसम्म ल्याउन पाउँछन्।
विदेशी यात्रुले उपहार लैजाँदा बैंक वा आधिकारिक मनी एक्सचेन्जबाट सटही गरेको प्रमाण आवश्यक हुन्छ। निषेध नभएका वस्तु विनालाइसेन्स लैजान वा पठाउन सकिन्छ।
विदेशी यात्रुले नेपालबाट खरिद गरेका निषेध नभएका वस्तु अधिकतम पाँच लाख रुपैयाँसम्म लैजान वा पठाउन सक्छन्। भ्याट लाग्ने वस्तुमा कर बिल र नलाग्ने वस्तुमा प्यान बिल अनिवार्य हुन्छ।
सुन, चाँदी र गहनाको सीमा
विदेशबाट नेपाल आउने नेपालीले १०० ग्रामसम्म काँचो सुन महसुल तिरेर ल्याउन पाउँछन्। सुनका गहनाको हकमा पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म महसुल नतिरी ल्याउन पाउँछन्। त्यसबाहेक थप १०० ग्रामसम्म सुनका गहना महसुल तिरेर ल्याउन सकिन्छ।
चाँदी तथा चाँदीका गहनाको हकमा ५०० ग्रामसम्मका गहना महसुल तिरेर ल्याउन पाइन्छ।
जवाहरात जडित सुन वा चाँदीका गहना एक लाख रुपैयाँसम्मको महसुल तिरेर ल्याउन सकिन्छ।
मोबाइलमा किन बढी नजर?
मोबाइल फोन यात्रुका लागि सामान्य सामान जस्तो देखिए पनि भन्सारका लागि संवेदनशील वस्तु हो। कारण हो– मोबाइलको उच्च मूल्य र अवैध व्यापारको सम्भावना।
भन्सारमा मोबाइल फोनमा विशेष निगरानी हुने गरेको छ। नेपालमा मोबाइल दर्ता प्रणाली लागु भएकाले अवैध रूपमा भित्रिएका मोबाइल प्रयोग गर्दा नेटवर्कसम्बन्धी समस्या पनि आउन सक्छ।
व्यक्तिगत प्रयोगभन्दा बढी मोबाइल ल्याए व्यापारिक उद्देश्य मानिन सक्छ। त्यसैले धेरै संख्यामा ल्याउनु जोखिमपूर्ण हुन्छ। खरिद बिल नभए मोबाइलको प्रकार, मोडल र बजार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गरिन्छ। अनलाइनमा उपलब्ध मूल्य र विवरण हेरेर अतिरिक्त भन्सार शुल्क लगाउन सकिने भन्सार अधिकृत तथा सूचना अधिकारी कमल परियारले जानकारी दिन्छन्।
अहिले कडाइमा परेका सामान
भन्सार विभागले पछिल्लो समय केही सामानमा विशेष निगरानी बढाएको छ। धेरै नयाँ मोबाइल फोन, सुनका बिस्कुट वा काँचो सुन, अनुमतिविना ल्याइएका ड्रोन, विद्युतीय चुरोट, अत्यधिक मात्रामा कपडा तथा जुत्ता, धेरै विद्युतीय उपकरण, काँचो मासु तथा पशुजन्य पदार्थ, जीवित बिरुवा र बीउ, प्रतिबन्धित औषधि जस्ता सामान रोक्न वा जफत गर्न सकिन्छ।
मासु, सुकुटी, गुन्द्रुक, चामल, तेल, डेरी प्रोडक्ट, गेडागुडी, दाल, तरल पदार्थ, हातहतियार, लेबल नभएका वा गुणस्तर प्रमाणित नभएका खानेकुरामा पनि कडाइ गरिएको छ।
काँचो मासु, दुग्धजन्य कच्चा पदार्थ वा ठूलो परिमाणमा ल्याइने खानेकुरा जोखिमपूर्ण मानिन्छ। धेरै देशमा यस्ता सामग्री स्वास्थ्य सुरक्षाका कारण प्रतिबन्धित छन्।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार वातावरणलाई हानि पुर्याउने अवैध तथा मापदण्डबाहिरका सामानमा पछिल्लो समय नेपालले कडाइ गरेको छ। उनका अनुसार विदेशबाट ल्याइने सामानको बिल नभए, मूल्य स्पष्ट नभए वा अत्यधिक परिमाणमा सामान भेटिए भन्सार कार्यालयले त्यस्ता सामान रोक्न सक्छ। सामान शंकास्पद देखिए बिल माग गर्ने, कर निर्धारण गर्ने, सामान रोक्ने वा आवश्यक परे जफत गर्नेसम्मको अधिकार भन्सारसँग हुन्छ।
यस्ता सामानले स्वास्थ्य, सुरक्षा र भन्सार नियम उल्लंघन गर्न सक्ने भएकाले अतिरिक्त कर, जरिवाना, कानुनी कारबाही वा यात्रा अवरोधसमेत हुन सक्छ।
कसरी हुन्छ भन्सार जाँच?
विमानस्थल तथा सीमा नाकाहरूमा आधुनिक स्क्यान प्रणाली प्रयोग गरी निगरानी कडा बनाइएको छ। यात्रुका झोला स्क्यान गर्ने, आवश्यक परे खोल्ने, सामान गन्ने र खरिद बिल जाँच गर्ने प्रक्रिया नियमित छ।
भन्सार विभागका निर्देशक बर्तौलाका अनुसार कुनै सामान शंकास्पद, अत्यधिक मात्रामा वा नियमविपरीत देखिए अतिरिक्त कर लगाइने, जरिवाना गरिने, सामान जफत गरिने र आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्छ।
आईकाओ मापदण्डअनुसार हवाई यात्रामा केही खतरनाक वस्तु लैजान खोजे यात्रु पक्राउ पर्न सक्छन्। सबै प्रकारका बन्दुक, राइफल, पेस्तोल र त्यस्तै देखिने नक्कली हतियार, सबै प्रकारका गोली, गोला-बारुद, विस्फोटक पदार्थ तथा हानिकारक रासायनिक वस्तु पूर्ण रूपमा निषेधित छन्।
कार्गोमा पनि उस्तै सावधानी
यात्रु आफैँले बोकेर लैजाँदा मात्र होइन, सामान कार्गो वा कुरियरमार्फत पठाउँदा पनि नियम लागु हुन्छ।
रिलाएबल कार्गो अफिसका विष्णु पन्तका अनुसार नेपालबाट कार्गो गर्दा व्यक्तिगत प्रयोजनका लागि केही मात्रामा सामान पठाउन पाइए पनि लेबल नभएका खानेकुरा, तरकारीजन्य वस्तु, हातहतियार र तरल पदार्थमा रोक लगाइएको छ। उनका अनुसार अमेरिका र अस्ट्रेलियाले पछिल्लो समय मासुजन्य सामग्री, डेरी प्रोडक्ट र खाद्य पदार्थमा कडाइ गरेका छन्। अस्ट्रेलियामा काठका सामान, हरियो सागसब्जी र हातहतियारमा समेत प्रतिबन्ध छ। खाद्य पदार्थमा धेरै देशले नै कडाइ गरेका छन्।
नेपालको छुर्पी पनि केही देशमा प्रतिबन्धित सूचीमा परेको उनी बताउँछन्। जापानमा मासु, चामल र दाल लैजान नपाइने नियम रहेको तथा सुकुटी लैजाँदा डिपोर्ट भएको घटना पनि रहेको उनको भनाइ छ। बेलायतमा सुकुटी र घिउ पठाउन पाइने भए पनि गेडागुडी, चामल, दाल र तेल जस्ता वस्तु धेरै देशमा पठाउन नपाइने अवस्था रहेको पन्त जनाउँछन्। आफ्नै देशमा चामल तथा तेलको पर्याप्त आपूर्ति कायम राख्न नेपालले पनि केही खाद्यान्न वस्तु बाहिर पठाउन प्रतिबन्ध लगाएको छ। नेपालमा उत्पादित केही सामग्री विदेश पठाउन सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको पनि उनी बताउँछन्।
सजिलो कार्गो काठमाडौँका सञ्चालक रोशन बस्नेतका अनुसार नेपालबाट विदेश पठाइने कतिपय खानेकुरा सम्बन्धित देशको क्वारेन्टिनमा राखिन सक्छन्। मोबाइल, कपडा, घरायसी सामान र उपहार सामग्री कार्गो वा कुरियरमार्फत पठाउन पाइन्छ। तर, बिल नभएको, मूल्य स्पष्ट नभएको वा धेरै परिमाणमा सामान भए भन्सारले रोक्न सक्छ।
सूचना छ, तर बुझाइ कमजोर
प्रतिबन्धित वस्तुबारे समय समयमा चेतनामूलक सूचना जारी गरिँदै आएको अधिकारीहरू बताउँछन्। विमानस्थलमा सुरक्षा जाँचका क्रममा कर्मचारीले यात्रुलाई मौखिक रूपमा पनि नियमबारे जानकारी दिने गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलमा सूचना बोर्ड, डिजिटल डिस्प्ले, सार्वजनिक सूचना, सुरक्षा जाँच क्षेत्रका सूचना सामग्री र सम्बन्धित एयरलाइन्समार्फत यात्रुलाई जानकारी दिने व्यवस्था छ। तर, धेरै यात्रुले नियम पूर्ण रूपमा नबुझ्ने, सामाजिक सञ्जाल वा अरूको अनुभवका भरमा सामान बोकेर यात्रा गर्ने प्रवृत्तिका कारण चेकिङ, ट्रान्जिट विमानस्थल र गन्तव्य देशमा समस्या भोग्नुपरेको भुल बताउँछन्।
विदेश यात्राअघि सम्बन्धित एयरलाइन्स, गन्तव्य देशको दूतावास वा आधिकारिक निकाय, भन्सार विभाग र विमानस्थल सुरक्षा नियमबारे जानकारी लिनु आवश्यक छ। व्यक्तिगत प्रयोगको सामान भए पनि परिमाण, प्याकेजिङ, लेबल, बिल र गन्तव्य देशको नियम मिलेन भने यात्रु विमानस्थलमै रोकिन सक्छन्। त्यसैले विदेश यात्रा गर्दा ‘घरको सामान हो’, ‘पहिले अरूले लगेको थियो’ वा ‘नेपालमा चेकिङ पार भयो’ भन्ने आधारमा सामान राख्नु जोखिमपूर्ण हुन सक्छ।
सुरक्षित यात्रा गर्न हरेक यात्रुले आफ्नो लगेज बनाउनुअघि तीन कुरा जाँच्नुपर्छ– सामान अनुमति प्राप्त हो कि होइन, परिमाण व्यक्तिगत प्रयोगको सीमाभित्र छ कि छैन, र त्यसको बिल, लेबल वा आवश्यक प्रमाणपत्र छ कि छैन।