काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

सदनमा गतिरोध

२६ जेष्ठ २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको बैठक मंगलबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको हो। मंगलबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्नका लागि समय दिएका थिए।

त्यस क्रममा कांग्रेसका सचेतक निश्कल राईले नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न प्रधानमन्त्री लागेको र प्रधानमन्त्रीका समर्थकहरूले समेत नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेको टिप्पणी गरे।

उनले सदनको अभिभावकको हैसियतमा सभामुखले अभिव्यक्ति हटाउन निर्देशन दिने आफूहरूको अपेक्षा रहे पनि त्यसो हुन नसकेको भन्दै आपत्ति जनाए। राईले रोस्ट्रममा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जवाफ दिने र आत्मालोचनाका लागि रुलिङको माग गरे।

यो पनि…

प्रतिपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक बिहीबारसम्म स्थगित

त्यस्तै एमालेका सांसद क्षितिज थेबेले आफूहरूले विरोधका निम्ति विरोध नगरेको भन्दै राष्ट्रियताको विषय नबोले इतिहासले माफ नगर्ने बताए। उनले सदनमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनको गतिरोध अन्त्य गर्न संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए। प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने उनको माग छ।

विपक्षी सांसदको विरोधका कारण सदनको काम-कारबाही प्रभावित भएपछि सभामुख अर्यालले सहज रूपमा सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। तर विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले २७ जेठ (बुधबार) ११ बजे बस्ने गरL बैठक स्थगित भएको घोषणा गरे। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।