सुर्खेत। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुमगमनमा निस्किएका छन्। राजमार्गको अनुगमन गर्न उनी शुक्रबार सुर्खेत आएका थिए। सुर्खेतबाट उनी शुक्रबार नै राजमार्ग अनुमगनमा निस्किएका छन्।
आज कर्णाली राजमार्गअन्तर्गत पर्ने कालीकोट सदरमुकाम मान्म बास बस्ने र कालीकोटबाट राजमार्ग हुँदै मुगु पुग्ने तालिका रहेको छ।
प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाका अनुसार मन्त्री लम्सालले सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला–कालीकोट सिमाना नाग्मसम्म कर्णाली राजमार्गको अनुमगन गर्नेछन्।
त्यसपछि नाग्मबाट मुगु जोड्ने सडकको पनि अनुगमन गर्नेछन्। उनी मुगबाट बाजुरासम्म पनि गाडीमै यात्रा गर्ने बताइएको छ। बाजुरादेखि हुम्लासम्म भने हवाई यात्रा गर्ने सापकोटाले जानकारी दिए। उनले हुम्लाका पनि सडकहरुको अनुगमन गर्नेछन्।
मन्त्री सुनिल लम्सालले अबको तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी नदेखिने दाबी गरेका थिए। ४ असारको प्रतिनिधिसभामा वैठकमा जवाफ दिनेक्रममा उनले अब खाल्डाखुल्डी मर्मत गर्ने काम पटके नभई नियमित तालिका अनुसार हुने भएकाले लक्ष्य अनुसार काम हुने दाबी गरेका थिए। मृत्युमार्गको पहिचान बनाएको साविक कर्णालीका केही जिल्ला जोड्ने कर्णाली राजमार्गको अवस्था हालसम्म दयनीय छ।
कर्णाली राजमार्ग सुर्खेतको वीरेन्द्रनगरबाट सुरु भई जुम्लामा गएर टुंगिन्छ। यसको कुल लम्बाई २३२ किलोमिटर छ। जसमा सडक डिभिजन सुर्खेतले १३२ र जुम्लाले एक सय किलोमिटर सडक हेर्ने गरेका छन्। जुम्लाको नाग्मदेखि मुगु सदुरमुकामसम्म ९३ किलोमिटर छ। मुगु सदरमुकाम गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म ९३ किलोमिटर सडक प्रस्ताव गरिएको छ। जसमा १८ किलोमिटर ट्याक खुलेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।