आसाम। भारतको आसामको गोलपारा जिल्लाका सबै सरकारी विद्यालयमा खाजाका रूपमा मांसाहार (ननभेज) खाना प्रतिबन्ध लगाएको छ।
गत शुक्रबार एक मुस्लिम विद्यार्थीले जिल्लाको कृष्णाई प्रहरी चौकी क्षेत्रको एक सरकारी विद्यालयमा आफ्नो खाजा (टिफिन बक्स) मा गाईको मासु ल्याएको आरोप लगाइएको छ। यो घटनाले विवाद निम्त्याएको छ।
कृष्णाई प्रहरी चौकीका अधिकारी आनन्द राभाले सञ्चारमाध्यमलाई जनाएअनुसार केही अभिभावकले घटनाबारे उजुरी दर्ता गरेका छन्।
आरोपहरूमा भनिएको छ कि- ५ जुनमा नौ कक्षाका पाँच विद्यार्थीले दुई हिन्दू सहपाठीलाई गाईको मासु खुवाउने प्रयास गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।
घटनापछि जिल्ला उपायुक्त प्रदीप तिमुङ र वरिष्ठ प्रहरी अधीक्षक नवनीत महन्तले विद्यालयको भ्रमण गरे। प्रहरीले घटनामा संलग्न विद्यार्थीलाई हिरासतमा लिएको छ। उनकी आमालाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार आमा र छोरालाई धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाइएको छ।
सम्बन्धित पक्ष र धेरै संस्थाका प्रतिनिधिबीचको छलफलपछि जिल्ला आयुक्तले विद्यालयमा खाजामा मासु र माछा (ननभेज) ल्याउन निषेध गर्न निर्देशन दिए।
आदेशमा भनिएको छ, “विद्यार्थीहरूले आफ्नो टिफिन बक्समा कुनै पनि मांसाहारी खाना स्कूलमा ल्याउन पाउने छैनन्। विद्यालय परिसरमा शाकाहारी खाना मात्र ल्याउन अनुमति दिइनेछ। यद्यपि विद्यार्थीहरूले आफ्नो खाजामा अन्डा ल्याउन र खान सक्छन्।”
आदेशमा खाजा वा विश्रामको समयमा कुनै पनि विद्यार्थीले विद्यालयभन्दा बाहिर जान नपाइने भनिएको छ। यदि कुनै पनि विद्यालयले यी निर्देशन उल्लंघन गरेमा कारबाही गरिने पनि निर्देशन दिइएको छ।