काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सवारी रोक्न सडकमै सुतेर विरोध जनाउँदै स्थानीय।
अ+
अ-

विराटनगर। वर्षौंदेखि जीर्ण रहेको सडक मर्मतमा सरोकारवाला निकायले उदासीनता देखाएको भन्दै विराटनगरका स्थानीयबासीले सडमा सुतेर विरोध प्रदर्शन गरेका छन्।

दैनिकजसो हुने सवारी दुर्घटना र सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराउन बिहीबार स्थानीयले कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको सवारी रोक्दै सडकमै सुतेर विरोध जनाएका हुन्।

विराटनगरको पुष्पलाल चोक-तिनपैनी सडकखण्डअन्तर्गत ल क्याम्पस अगाडि भेला भएका वडा नं. १ र ३ का बासिन्दाले सडकमा ढाट लगाएर आवागमन पूर्ण रूपमा ठप्प पारेका थिए। सोही क्रममा मन्त्रीको गाडी आएपछि आक्रोशित स्थानीयले गाडी घेराउ गर्दै सडकमै पल्टिएर अवरोध सिर्जना गरेका थिए। दैनिक यही बाटो भएर हिँड्ने मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूले सर्वसाधारणको सास्ती नदेखेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे।

आन्दोलनमा सहभागी स्थानीय डम्बर दाहालले भने, ‘हामीलाई राजनीतिक आश्वासनको चाङ होइन, ज्यान जोगाउने सुरक्षित सडक चाहिएको हो। पटक-पटक हारगुहार गर्दा पनि कसैले नसुनेपछि बाध्य भएर मन्त्रीको गाडी रोक्न सडकमै सुत्नुपर्ने अवस्था आयो।’

स्थानीयका अनुसार यो सडकखण्ड यतिबेला खाल्डाखुल्डीका कारण ‘मृत्युको पासो’ जस्तै बनेको छ, जहाँ दैनिक दुईदेखि चारवटासम्म दुर्घटना हुने गरेका छन्। सडकको यो अवस्थाले गर्दा सर्वसाधारणको दैनिक जनजीवन अत्यन्तै कष्टकर बनेको उनीहरूको गुनासो छ।

सडक बिग्रिनुको मुख्य कारण क्षमताभन्दा बढी भार बोक्ने टिपरहरू रहेको स्थानीयको ठहर छ। बालुवा, गिट्टी र अन्य निर्माण सामग्री बोकेका ओभरलोड टिपरहरू निर्वाध गुड्दा सडक क्षतविक्षत भएको भए तापनि ट्राफिक प्रहरी र सम्बन्धित निकायले यसलाई नियन्त्रण गर्न कुनै चासो नदेखाएको उनीहरूको आरोप छ।

विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने यो सडक गत आर्थिक वर्षको अन्त्यतिर मर्मत त गरिएको थियो, तर गुणस्तरहीन सामग्रीको प्रयोगका कारण केही समयमै पुरानै अवस्थामा फर्किएको स्थानीयले बताए। सडक मर्मतको माग लिएर केही दिनअघि मेयर नागेश कोइरालालाई भेट्न पुगेका स्थानीयसँग मेयरको चर्काचर्की समेत भएको थियो। सो क्रममा मेयर कोइरालाले निर्माण सामग्रीको मूल्यवृद्धिका कारण ठेकेदारले काम गर्न नमानेको भन्दै तत्काल मर्मत अघि बढाउन प्राविधिक चुनौती रहेको बताएका थिए।

स्थानीयले मन्त्रीको गाडी रोकेर चक्काजाम गरेपछि मोरङ प्रहरीको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार डिएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले स्थानीयसँग छलफल र सम्झाइबुझाइ गरेपछि मात्रै सडकको अवरोध हटेको थियो।

सडकको दिगो मर्मत र ओभरलोड सवारी नियन्त्रणका लागि तत्काल कदम नचालिए आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।