काठमाडौँ। काठमाडौँबाट मलेसिया जान लागेका दुई यात्रु स्वदेशी तथा विदेशी मुद्रासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अलि र ५० वर्षीय मोहम्मद जाकिर हुसैन रहेका छन्। बटिक एयरको जहाजमा काठमाडौँबाट क्वालालम्पुर उड्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको हो।
सुटकेशभित्र फल्स बटम बनाएर स्वदेशी तथा विदेशी मुद्रा लैजान लागेको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई प्रस्थान बिन्दुको ब्यागेज चेकिङ क्षेत्रमा रोकेको थियो।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार अलिको साथबाट १० लाख २५ हजार नेपाली बरामद भएको छ। हुसैनको साथबाट १२ लाख ३४ हजार नेपाली, अमेरिकी डलर १ हजार र मलेसियन रिंगिट २० हजार बरामद भएको छ। दुबै जना साथमा रहेको रकम जम्मा ३१ लाख ५१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैलाई राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको छ।