इतिहास
लखनलाई सहिद घोषणाको माग गरिँदा उनीसँगै सहादत पाएका ६ जना छुट्न पुगे, जुन सरासर अन्याय हो।
निरंकुश शासन व्यवस्था उखेलेर फाल्न देशमा बेलाबेला विद्रोह र आन्दोलन भएका छन्। त्यस्ता विद्रोहमा राज्यले दमन गर्दा सहभागीमध्ये कतिपयले ज्यान गुमाउनु पनि परेको छ। प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा होमिँदा सहादत पाएकाहरू प्रातःस्मरणीय छन्।
जंगबहादुर राणाले बीजारोपण गरेको जहानियाँ निरंकुश शासनविरुद्ध आवाज उठाउने मात्रै होइन, समानान्तर सत्ता सञ्चालन गरी नागरिकहरूलाई संगठित गर्ने लखन थापा मगर त्यस्तै एक स्मरणीय सहिद हुन्। उनी रुचाल थरका थापा मगर हुन्।
कुनै बेला जंगबहादुरकै शासनकालमा सैन्य सेवा गरेका लखनले त्यस समयको निरंकुशतालाई राम्ररी नियालेका थिए। त्यसपछि अध्यात्मको आड लागेर आफूलाई राजा राम शाहकालीन सिद्ध लखन थापाको अवतार भनी घोषणा गरे। उनले ‘मनकामना माताले आफूलाई जंगबहादुरलाई मारेर देशमा सुनौलो युग ल्याउन आदेश दिएको’ भन्दै जनतालाई विद्रोहमा सामेल हुन आह्वान गरेका थिए।

लखन थापाको काल्पनिक तस्बिर।
एक पुरानो टिपोट र जंगबहादुरकै छोरा पद्मजंगको लेखनअनुसार पनि त्यसबेला लखनले सशस्त्र विद्रोहका लागि गोरखाको बुंकोटमा हातहतियारसहित १५ सय जति सहयोद्धा बटुलेका थिए। जनसंख्या नै पातलो हुने समयमा यति ठूलो संख्यामा सहयोद्धा बटुल्न सक्नु लखनको ठूलो सफलता थियो।
लखनका तीन नीति
लखन थापाले सशस्त्र विद्रोहका क्रममा तीन नीति अघि सारेका थिए। ती नीति थिए- आध्यात्मिक, राजनीतिक र सैनिक।
मनकामना देवीको आदेश वा आशीर्वाद र सिद्ध लखन थापाको अवतारको स्वघोषणा उनको आध्यात्मिक नीति थियो। यो नीतिको कार्यान्वयनका लागि उनले बुंकोटमा मनकामनाको अर्को स्थान नै बनाई पूजा चलाएका थिए। एक वंशावलीमा उल्लेख भएअनुसार यहीँबाट उनले मनकामनाको पूजा चलाउन थालेपछि मनकामनाको पुराना स्थानमा भक्तजन जानै छाडेका थिए।
लखनको राजनीतिक नीति थियो, जंगबहादुरको हत्या गरी नेपालमा सुनौलो युग ल्याउने घोषणा। रेग्मी रिसर्च सेरिजमा प्रकाशित त्यस समयको एक ऐतिहासिक पत्रअनुसार आफ्नो योजना सफल भए राजकुमार उपेन्द्रविक्रम शाहलाई राजा घोषणा गर्ने र सत्ता सञ्चालनमा आफू दोस्रो व्यक्ति बन्ने लखनको गुप्त योजना थियो। दोस्रो व्यक्ति भन्नाले प्रधानमन्त्री भन्ने बुझ्न सकिन्छ।
सैन्य परिचालन गरी सिकार खेल्न हिँडेको बखत मौका पारेर मनाङबेँसी वा तार्कुघाटमा जंगबहादुरको हत्या गर्ने रणनीति लखनको थियो। यसका लागि जंगबहादुरप्रति बफादार बनाएर त्यहीँभित्र घुसाएर विद्रोह गराउन आफू मातहत भोटे जातिका सेनालाई २६ फागुन १९३२ मा पश्चिमतर्फ पठाएका थिए। तर, ढाल र तरबारले सुसज्जित त्यो सैन्य टोलीको जंगबहादुरसँग भेट भएन।
लखनको विद्रोह दमन गर्न देवीदत्त पल्टनसहित गोरखा बुंकोट पुगेका मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र सुबेदार बदलसिंह बस्न्यातले विसं १९३२ चैत सुदि १ मा जाहेर गरेको अर्जीमा लखन बस्ने घर एउटा किल्ला जस्तो भएको उल्लेख छ।लखनको तेस्रो नीति थियो, सशस्त्र सैन्य परिचालन। सैन्य परिचालन गरी सिकार खेल्न हिँडेको बखत मौका पारेर मनाङबेँसी वा तार्कुघाटमा जंगबहादुरको हत्या गर्ने रणनीति उनको थियो। यसका लागि जंगबहादुरप्रति बफादार बनाएर त्यहीँभित्र घुसाएर विद्रोह गराउन आफू मातहत भोटे जातिका सेनालाई २६ फागुन १९३२ मा पश्चिमतर्फ पठाएका थिए। तर, ढाल र तरबारले सुसज्जित त्यो सैन्य टोलीको जंगबहादुरसँग भेट भएन।
योजना सफल नभए आफू भोट (तिब्बत)तिर जाने र त्यहाँबाट थप सहयोग लिएर विद्रोह सफल पारेरै छाड्ने लखनको नीति थियो।
सैन्य नीतिअन्तर्गत उनले विभिन्न पद सिर्जना गरी त्यसको जिम्मेवारी पनि तोकेका थिए। आफ्ना सहयोद्धामध्ये जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जितमान गुरुङलाई कर्णेल पद दिने प्रतिज्ञा उनले गरेका थिए। विद्रोह दमन गर्ने क्रममा लखनका विश्वासिला सहयोगी अजपसिंह थापा मगरलाई पनि पक्राउ गरिएको थियो। रेग्मी रिसर्च सेरिजमा प्रकाशित पत्रमा पक्राउ परेकाहरूले दिएको बयानअनुसार लखनले सैन्य पद बाँडफाँड गर्ने प्रतिज्ञा गरेको उल्लेख छ।
यसबाट लखनको सैन्य नीति निकै व्यवस्थित देखिन्छ। भूतपूर्व सरकारी सैनिक भएकाले उनी यस्तो सैन्य नीति निर्माणमा पोख्त थिए भन्ने अनुमान गर्न सकिन्छ।

लखन थापाको विद्रोहबारे टिप्पणी परेको पुरानो कागज। स्रोत : पुरुषोत्तमशमशेर जबरा
तर, जंगबहादुरले पल्टन नै लगाएर लखनको विद्रोहलाई दमन गरेका थिए। विद्रोहीहरूलाई सिक्रीले बाँधेर राजधानी काठमाडौँ ल्याइयो। एक वर्षसम्म उनीहरूविरुद्ध मुद्दामामिला चल्यो। अन्तत: गोरखाको बुंकोट लगेर लखन थापासहित मुख्य व्यक्तिहरूलाई मृत्युदण्ड दिइयो।
ज्ञानमणि नेपाल र पुरुषोत्तमशमशेर जबराले लखनसहित उनका सहयोद्धाहरूलाई पुस १९३३ मा मृत्युदण्ड दिइएको उल्लेख गरेका छन्। तर, २०४७ सालयता कुन आधारले हो, लखनले २ फागुनमा सहादत पाएको भनेर उक्त दिन स्मृति दिवस कार्यक्रम आयोजना गरिँदै आएको छ। यसले लखनको सहादत तिथिमा अन्योल सिर्जना गरेको छ। यसबारे ऐतिहासिक तथ्यहरू केलाएर निष्कर्षमा पुग्न जरुरी छ।
सहिद सूचीमा छुटेका सहयोद्धा
जंगबहादुरका छोरा पद्मजंग र इतिहासकार बालचन्द्र शर्माले लखन थापासँगै जहरे चुमीसहित सात जनाले मृत्युदण्ड पाएको उल्लेख गरेका छन्।
लखनसँगै मृत्युदण्ड पाएका अन्य विद्रोहीहरू को थिए?
रेग्मी रिसर्च सेरिजमा प्रकाशित लखन प्रकरणसँग सम्बन्धित विसं १९३२ चैत सुदी १ को पत्रको अध्ययनपछि यस लेखकले एक दशकअघि एक लेखमार्फत लखनले जस जसलाई ठूल्ठूला सैन्य पद बाँडेका थिए, उनीहरूले नै लखनसँगै सहादत पाएका अनुमान गरेको थियो। यस लेखकबाट अनुमान गरिएका सहिदहरू थिए; जहरे चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा।
त्यसपछि लखनका अभियन्ता र लेखकहरूले लखनसहित सहादत पाउनेहरूमा उनीहरूकै नाम उल्लेख गर्न सुरु गरे। तर, एक जनाको नाम छुटेकामा लखन थापा स्मृति प्रतिष्ठानका तत्कालीन उपाध्यक्ष उमेश राना ‘गोर्खाली’ ले गोरखा, बुंकोटमा प्रचलित अनुश्रुतिको आधारमा बालेश्वर अच्छामी मगरले लखनसँगै सहादत प्राप्त गरेको पत्ता लगाएका थिए। उनका सन्ततिहरूसँग पनि भेटेर महत्त्वपूर्ण सूचना संकलन गरेका थिए।
समयक्रममा सहिदको नाम थपिइरहँदा लखनसँगै मारिएका ६ जनालाई न सरोकारवालाले सम्झिए, न राज्यले। के उनीहरू सहिद होइनन्? ऐतिहासिक प्रमाणका आधारमा उनीहरू सहिदको सूचीमा पर्न योग्य छैनन् ?
लखनलाई नेपाल सरकारले ११ फागुन २०५६ मा सहिद घोषणा गर्यो। सरोकारवालाले उनलाई नेपालका प्रथम सहिद घोषणा गर्नुपर्ने माग गरिरहेको अवस्थामा ३ असोज २०७२ को मन्त्रिपरिषद् बैठकले उनलाई प्रथम सहिद पनि घोषणा गर्यो।
तर, अभियन्ता वा सरोकारवाला लखन थापामा मात्रै केन्द्रित भएर हो वा किन हो, उनीसँगै सहादत पाएका अन्य ६ जना भने विस्मृतिको गर्भमा विलुप्त हुँदै गएका छन्। लखनलाई सहिद घोषणा गर्न माग गरिँदा उनका ६ जना सहयोद्धा छुट्न पुगे। यो उनीहरूविरुद्ध गरिएको अन्याय हो।
हुन त हाम्रो देशमा सहिदको सूची निकै लामो छ। अघिल्ला सरकारहरूले थुप्रैलाई सहिद घोषणा गरे। समयक्रममा सहिदको नाम थपिइरहँदा लखनसँगै मारिएका ६ जनालाई न सरोकारवालाले सम्झिए, न राज्यले। के उनीहरू सहिद होइनन्? ऐतिहासिक प्रमाणका आधारमा उनीहरू सहिदको सूचीमा पर्न योग्य छैनन् ?
अहिले पनि जयसिंह चुमी वा जहरे चुमीका सन्तानलाई गोरखा बुंकोटमा भेट्न सकिन्छ, जसले लखनसँगै सहादत प्राप्त गर्ने आफ्ना पूर्वजको सम्झनामा हरेक वर्ष पुसको पहिलो पञ्चमीमा भँयारी पूजा चलाउँदै आएका छन्। ती सन्ततिलाई सहिद परिवार भनेर सम्मान गरेको पनि त्यति देख्न पाइएको छैन।