काठमाडौँ। काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो भएको बस दुर्घटनामा अन्य १६ जना घाइते रहेका छन्।
काभ्रे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बनेपाबाट भकुन्डेबेसीतर्फ गइरहेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा दुर्घटनामा परेको हो। बस बीपी राजमार्गबाट दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको विष्टले बताए। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
“घटनास्थल मुचुल्का तयार गरी शव अस्पताल पठाउने काम भएको छ, दुर्घटनाको कारण खुलेको छैन,” विष्टले भने।