काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
default
अ+
अ-

म्याग्दी। रघुगंगा गाउँपालिका–८ मंगलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन्।

मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन्। श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो।

उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरूले २६ लाख ९० हजार, रघुगंगा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले पाँच लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जा कम्पनीले दुई लाख ५० हजार प्रदान गरेका हुन्।

स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उनका परिवारले दुई लाख सहयोग गरे। अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताए।

१६ मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन्।