काठमाडौँ। काठमाडौँको हाँडीगाउँस्थित नवनिर्मित यमबुद्ध स्केट पार्कमा आज नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ (एनएसएसए) को आयोजनामा भएको प्रतियोगितामा देशभरका सयौँ स्केटबोर्ड खेलाडीको सहभागिता थियो। नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहित निर्माण गरिएको यमबुद्ध स्केट पार्कमा आयोजना गरिएको यस प्रतियोगिताले नेपाली स्केटबोर्डिङ खेलको विकासमा नयाँ अध्याय थपेको आयोजकको भनाइ छ।
प्रतियोगितामा सिनियर पुरुष, जुनियर पुरुष तथा महिला (ओपन) विधाका खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताका क्रममा ‘बेस्ट रन’ र ‘बेस्ट ट्रिक’ विधामा प्रतिस्पर्धा गरिएको थियो। स्केटबोर्ड खेलप्रति युवापुस्ताको बढ्दो आकर्षण प्रतियोगितास्थलमा स्पष्ट देखिन्थ्यो। खेलाडीहरूले विभिन्न कठिन ट्रिक्स तथा आकर्षक प्रस्तुतिमार्फत दर्शकको ध्यान खिचेका थिए। पार्कका रेल, लेज, क्वार्टर पाइप तथा अन्य अवरोधहरूमा प्रस्तुत गरिएका उत्कृष्ट ट्रिक्सले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपालमा स्केटबोर्डिङ संस्कृतिको विस्तार र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
