राजनीति
एमाले पुनर्गठनको बहस नेतृत्व परिवर्तनतर्फ मोडिँदा पार्टी फुटाउने खेल हुन थालेको ओलीको आरोप
पार्टी पुनर्गठनको विषयमा नेकपा (एमाले)भित्र अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलबीच रस्साकस्सी देखिएको छ। उपाध्यक्ष पौडेल र महसचिव पोखरलले नेतृत्वसहित पार्टी पुनर्गठनको विषय अघि बढाएका छन् भने अध्यक्ष ओलीले उनीहरूलाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।
लामो समयदेखि साथ दिँदै आएका पौडेल र पोखरेल नै अध्यक्ष ओलीबाट आगामी दिनको नेतृत्व हुन नसक्ने निष्कर्षमा पुगेका हुन्।
जेठको दोस्रो साता बसेको एमाले सचिवालय बैठकमा पनि पुनर्गठनको पक्षमा बहुमत सदस्यहरूले धारणा राखेका थिए। १० जेठमा सम्पन्न सचिवालय बैठकले पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो। ओली यस्तो कार्यदल बनाउने पक्षमा थिएनन्। तर, पुनर्गठनको पक्षमा बहुमत देखिएपछि उनले आफूनिकट थापालाई अघि सारेर कार्यदल बनाएका थिए।
त्यही कार्यदलले शनिबार बागमती प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। काठमाडौँको जडीबुटीमा भएको कार्यक्रममा सहभागी नेताहरूले नेतृत्व परिवर्तनको विषय उठाएका थिए। कार्यदल सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठन नचाहनु एमालेको हित नचाहनु भएको बताएका थिए। कार्यक्रममा पौडेलले भनेका थिए, “एमाले जोगाउने हो भने हामीले पुनर्गठन गर्नुपर्छ।”
ओलीले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई ‘लोभीपापी’ को संज्ञा दिएका थिए। उनले पार्टीमा देखिएको समस्या आफ्नो कारणले मात्र नभएको तर्कसमेत गरेका थिए।
कार्यक्रम सकिएलगत्तै ओलीले बागमतीका नेताहरूसँग भेटघाट गरेका थिए। उनीहरूको कुरा सुनेपछि ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलविरुद्ध आक्रोश पोखेका थिए। भेटमा ओलीले पौडेल र पोखरेलले पार्टी फुटाउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका थिए।
भेटमा सहभागी एक नेताका अनुसार ओलीले महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई ‘लोभीपापी’ को संज्ञा दिएका थिए। उनले पार्टीमा देखिएको समस्या आफ्नो कारणले मात्र नभएको तर्कसमेत गरेका थिए।
लामो समयदेखि साथ दिँदै आएका नेताहरूले साथ छाडेपछि ओलीले पछिल्ला दिनमा भेटघाट तीव्र बनाएका छन्। एमालेका एक सचिवालय सदस्य भन्छन्, “चुनावपछि अध्यक्ष ओली आफैँले बनाएको केन्द्रीय कमिटीमा अल्पमतमा हुनुहुन्छ।”
मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीले बाँडेको सूचीबाटै अधिकांश नेता चयन भएका थिए। २९९ सदस्यीय केन्द्रीय कमिटीमा ओलीको सूचीबाहिरका १२ जना मात्रै निर्वाचित भए। त्यही महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए। तर, त्यही केन्द्रीय कमिटीभित्र अहिले ओलीविरुद्ध दबाब बढेको छ।
अध्यक्ष ओली र उनीनिकट पदाधिकारीहरूले २१ फागुनमा भएको आमनिर्वाचनको जनमतलाई षड्यन्त्रको उपजका रूपमा व्याख्या गर्दै आएका छन्।
“चुनावी परिणाम आएलगत्तै उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अध्यक्ष ओलीबाट पार्टी नचल्ने निष्कर्षमा पुग्नुभएको हो। तर, उहाँहरूले अध्यक्षलाई साथ दिन छाड्नुहोला र भन्ने थियो,” एक सचिवालय सदस्यले भने, “अब यो अजेन्डामा उहाँहरू वारपार गर्ने अर्थात् ‘पोइन्ट अफ नो रिटर्न’ मा पुग्नुभएको छ।”
थापा नेतृत्वको कार्यदलले २ असारमा कोसी, ४ मा लुम्बिनी, ६ मा सुदूरपश्चिम, ८ मा कर्णाली, ११ मा गण्डकी र १३ मा मधेस प्रदेशमा सुझाव संकलन गर्दै छ। त्यस्तै, १६ असारमा उपत्यका प्रदेश, १७ मा सम्पर्क समन्वय कमिटी प्रदेश र १८ मा जनसंगठन तथा १९ मा विभाग प्रमुख र निकायका पदाधिकारीबाट सुझाव संकलन गर्ने कार्यतालिका कार्यदलले बनाएको छ।
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन्। प्रदेशगत रूपमा आएका सुझावहरूको निष्कर्षका आधारमा पार्टी पुनर्गठन गर्ने एमाले नेताहरूले बताउँदै आएका छन्।
यसैबीच महासचिव शंकर पोखरेलले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्।’ ओलीले बागमती प्रदेशका सदस्य तथा केन्द्रीय सदस्यहरूसँगको भेटमा पौडेल र पोखरेलविरुद्ध आक्रोश व्यक्त गरेको भोलिपल्टै पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्। अध्यक्ष ओलीबाट आगामी दिनमा पार्टीको नेतृत्व हुन नसक्ने निष्कर्षमा पुगेका पोखरेलको यो स्टेटसलाई एमालेभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।
ओलीलाई नवौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित गराउन पोखरेल र पौडेल दुवैले सक्रिय भूमिका खेलेका थिए। त्यसयता उनीहरू ओलीनिकट भएर पार्टी सञ्चालनमा निर्णायक भूमिकामा रहे। तर, अहिले दुवै नेता ओलीकै नेतृत्वलाई चुनौती दिने अवस्थामा पुगेका छन्।
अध्यक्ष ओली र उनीनिकट पदाधिकारीहरूले २१ फागुनमा भएको आमनिर्वाचनको जनमतलाई षड्यन्त्रको उपजका रूपमा व्याख्या गर्दै आएका छन्।
महासचिव पोखरेल र उपाध्यक्ष पौडेल भने यसमा अध्यक्ष ओलीको भूमिका रहेको अडानसहित उनले नेतृत्व नछाडे विशेष महाधिवेशनसहितको विधिबाट अघि बढ्ने तयारीमा रहेको एमाले स्रोतहरू बताउँछन्।
शनिबार साँझ उपाध्यक्ष पौडेलले पनि पोखरेलसँग मिल्दोजुल्दो आशयको स्टेटस फेसबुकमा लेखेका थिए। सुझाव संकलनको प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्, ‘जरुर हामी कमरेडहरूले अपेक्षा गर्नुभएअनुरूप नै आम निर्वाचन-२०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनःस्थापित हुने गरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौँ।”
ओलीलाई नवौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित गराउन पोखरेल र पौडेल दुवैले सक्रिय भूमिका खेलेका थिए। त्यसयता उनीहरू ओलीनिकट भएर पार्टी सञ्चालनमा निर्णायक भूमिकामा रहे। तर, अहिले दुवै नेता ओलीकै नेतृत्वलाई चुनौती दिने अवस्थामा पुगेका छन्।
यसैबिच, पार्टी पुनर्गठनको निरन्तर पैरवी गरिरहेका उपमहासचिव योगेश भट्टराईले पनि फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले)लाई थप एकताबद्ध बनाऔँ! पार्टी पुनर्गठनको कार्यभारलाई सफल बनाऔँ!!’
यसले एमालेभित्रको पछिल्लो बहस अब चुनावी समीक्षामा मात्र सीमित छैन भन्ने स्पष्ट भएको छ। यो बहस पार्टी कसरी पुनर्गठन गर्ने भन्नेबाट कसको नेतृत्वमा पुनर्गठन गर्ने भन्ने प्रश्नतर्फ सरेको छ।