काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

लुम्बिनी। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ।

उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो। उक्त पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो।

उक्त शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो।

मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए। यस ऐतिहासिक एवं प्रेरणादायी अवसरमा भन्तेहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरे।

भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन्। पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन्। ठाउँठाउँमा ध्यान सिकाउँथे। करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो।

मायादेवी मन्दिरको अवलोकन तथा प्रार्थनापश्चात् आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले यो संसारको जन्म र मरणको अनन्त चक्रबाट उम्कने बुद्धका सन्देशलाई अपनाएर उहाँले देखाउनुभएको निर्वाण र परम आनन्द प्राप्त गर्न भगवान् बुद्धले देखाउनु बाटोलाई आत्मसात् गर्नुपर्ने बताए।

उनले हरेक प्राणीले मुक्ति प्राप्त गर्न र निर्वाणको परम आनन्द प्राप्त गर्न कस्तो हुनुपर्ने हो भन्ने एउटा ठुलो प्रश्नको विषय बनेको बताउँदै संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको बताए। उनले त्यही बलियो सङ्कल्पका साथ अभियान थालेको बताए।

भिक्षु पन्याकरले आफूहरूको एउटा सानो यात्राको आज विश्वभर सम्मान पाएको र यसले विश्व शान्ति सन्देश दिन ठुलो सफलता मिलेको बताए। उनले आफूहरूको एक मात्र उद्देश्य विश्वमात्र रहेको बताउँदै शान्ति व्यक्तिबाट सुरु हुने भएकाले सबै शान्तिका लागि लाग्नुपर्नेमा जोड दिए।

उनले आफ्नो यात्राको सदस्यका रूपमा रहेको आलोका कुकुरको बारेमा भने, “हामी आलोकको कुरा गर्दैछौँ, यो शान्त कुकुर जुन यहाँ छ। आलोक एउटा यस्तो कुकुर हो जो हामीसँग लामो समयदेखि हिँडिरहेको छ। ऊ हिँड्यो र अहिले शान्तिको दूत (एम्बेसेडर) बन्यो। तर कसरी, ऊ किन कुकुर बन्यो त ? यो शील (नैतिकता) को कारणले हो, शील पालना नगरेको कारणले हो।”

सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो।

त्यस अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले लुम्बिनी जहाँबाट मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश संसारभर प्रवाहित भएको छ, त्यही पवित्र भूमिमा सम्पन्न यस ‘शान्ति पदयात्रा’ कार्यक्रमले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप ऊर्जावान बनाएको बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताए। उनले यसले लुम्बिनीको शान्ति पर्यटनमा पनि टेवा दिने विश्वास व्यक्त गरे।

पदयात्राको टोली सोमबार (आज) बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ।

विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्तिहरूलाई शान्तिकै उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाएका भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति/प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको बताए।

उनले धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको बताए।